अस्ट्रेलिया दोस्रो घर

‘नेपथ्यले अस्ट्रेलियामा जुन अलग माया, प्रेम र सम्मान पाइरहेको छ, त्यो अतुलनीय छ’
नारायण खड्का

(अस्ट्रेलिया) — नेपथ्यले २८ वर्षको सांगीतिक करिअरमा दर्जनौं देशमा सयौं कन्सर्ट गर्‍यो । अहिलेसम्म लाखौं स्वदेशी तथा विदेशी दर्शकसामु संगीत प्रस्तुत गरिसकेको नेपथ्यलाई माया गर्नेको कमी छैन तर पनि सन् २०१२ मा अस्ट्रेलियाको सिड्नीस्थित टाउनहलमा आयोजित कन्सर्टले उनीहरूको सांगीतिक करिअरमा जुन पखेटा थपिदियो, त्यसले संसारभरि संगीतमा उडान भर्ने बाटो खोलिदियो । त्यसैले पनि हुन सक्छ, नेपथ्यले अस्ट्रेलियालाई आफ्नो दोस्रो घर ठान्छ र अहिले पाँचौं सांगीतिक शृंखलाका क्रममा अस्ट्रेलियामा छ ।

अस्ट्रेलिया दोस्रो घर

‘वास्तवमा भन्ने हो भने ७ वर्षअघिको त्यो सिड्नीको कन्सर्ट नेपथ्यको सांगीतिक करिअरका लागि टर्निङ पोइन्ट नै भयो,’ आफ्नो पाँचौं अस्ट्रेलिया टुर र संगीतबारे कान्तिपुरसँग कुराकानी गर्दै नेपथ्यका लिड गायक अमृत गुरुङले खुलाए । ‘बेलायतको वेम्बलीमा भएको कन्सर्ट पनि त्यही सांगीतिक कार्यक्रमको देन हो भन्ने लाग्छ ।’ अस्ट्रेलियामा जुन अलग माया, प्रेम र सम्मान नेपथ्यले पाइरहेको छ, उनलाई त्यो अतुलनीय भएको लाग्छ । ‘नेपाल हाम्रो पहिलो घर हो भने अस्ट्रेलिया हाम्रा लागि दोस्रो घर हो किनकि यहाँ जुन माया र स्नेह पाउँछौं, त्यो पृथक् छ ।’ उनी त्यसैले पनि अस्ट्रेलियामा नेपथ्यको सांगीतिक यात्रा पाँचौं पटकसम्म पुगिसकेको ठान्छन् ।


‘लोकरक’ लाई नेपाली सांगीतिक विधामा स्थापित गराएको नेपथ्यले यसपटक यहाँका ६ राज्यका विभिन्न अन्तर्रास्ट्रियस्तरका कार्यक्रमस्थलमा संगीत प्रस्तुत गर्दै छ । १२ जनाको सांगीतिक समूहसहित डेढमहिने यात्राका लागि यहाँ आइपुगेको नेपथ्यले ब्रिसबन र डार्बिनमा कार्यक्रम गरिसकेको छ भने एडिलेड, तास्मानिया, सिड्नी र मेलबर्नमा हुने कार्यक्रमको तयारीमा जुटिसकेको छ । यस वर्ष पनि नेपथ्यले आफ्नै परम्परागत लोकरक शैलीमै दर्शकलाई मनोरञ्जन दिइरहेको छ भने दुईवटा नयाँ गीत पनि रिलिज गर्दै छ । ‘हामीले जे गर्ने सबै दर्शकश्रोताको चाहना र मनअनुसारै गर्ने हो किनभने दर्शकश्रोताको चाहना बुझ्न सकिएन भने कुनै पनि संगीत सर्जकले आफूलाई सफल भन्न सक्तैन,’ गुरुङ सुनाउँछन् । नेपथ्यको संगीत र प्रस्तुत गर्ने शैली नेपाली माटो सुहाउँदो, शब्द संगीतमा ठेट नेपालीपना भएको र संस्कृति उजागर गर्ने भएकाले समेत दर्शकहरूले मन पराइदिएको उनी ठान्छन् । विदेशमा रहेका नेपालीले खोजेको नेपालीपनसहितको सांगीतिक भाव नेपथ्यमा पाउने भएकाले विदेशमा धेरै माया पाइएको गुरुङ सुनाउँछन् । उनी आफूहरूले सिर्जना गर्ने संगीत भूगोल सुहाउँदो, भ्रमण, संगत र अध्ययनपछि निकालिएको धुन हुने भएकाले समेत आफूहरू नेपाली जनमानसमा भिज्न सकेको हुन सक्ने अड्कल गर्छन् ।


नेपथ्यको आफ्नोपनलाई जीवित राख्नकै लागि गुरुङले नेपालको बझाङबाहेकका सबै जिल्ला घुमिसकेका छन् । उनी अहिले बसिरहेको दक्षिण अस्ट्रेलियाको अल्डिङ्गा विचबाट समेत दैनिक २० किलोमिटरसम्म पैदल यात्रामा निस्कछन् । ‘म जहाँ जान्छु हाम्रो नेपाली संगीतका केही न केही नयाँपन दिने मौलिकताको खोजीमा हुन्छु । उनी आफ्नो यात्राबारे प्रस्ट पार्छन् । उनी नेपथ्यले संगीत मात्र प्रस्तुत गर्नेभन्दा पनि दर्शकहरूको आत्मसन्तुष्टिलाई समेत ध्यान दिने गरेको दाबी गर्छन् ।


‘नेपाली संगीत क्षेत्रमा झन्डै ३० वर्ष बिताएका छौं र सम्पूर्ण नेपालीले राखेको अलगपनको संगीतको तृष्णा पूरा गर्ने प्रयास गरिरहेका छौं,’ गुरुङ भन्छन्, ‘त्यसैले पनि हुन सक्छ, अस्ट्रेलियामा नेपथ्यले अहिलेसम्म जुन किसिमका ठूला र नाम चलेका कार्यक्रमस्थल र दर्शक संख्या पाएको छ त्यो अन्य नेपाली सांगीतिक समूह र गायकहरूले विरलै पाउने गरेका छन् ।’

प्रकाशित : मंसिर १८, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?