लन्डनमा नेपाल चिनाउँदै

नवीन पोखरेल

(लन्डन) — आगामी साता हुने ‘मिस वर्ल्ड प्रतियोगिता’ मा प्रतिस्पर्धा गर्न १ सय २५ मुलुकका सुन्दरी यतिखेर लन्डनमा छन् । बन्द प्रशिक्षण (कोरियोग्राफी), विभिन्न विधाका प्रतियोगिता र नयाँनयाँ ‘आइकोनिक’ ठाउँ घुमघाम । विगत १२ दिनदेखि यसरी नै बितेको छ उनीहरूको दैनिकी । त्यही भीडमा मिस नेपाल अनुष्का श्रेष्ठ भने नेपाल चिनाउने प्रयत्नमा छिन् । विश्वभरका साथी बनाइरहेकी छन् र तिनलाई नेपालको विशेषता घोकाउँदै छिन् । ‘ताज जित्ने आत्मविश्वास नलिई त को आउँछ र ?’ उनले कान्तिपुरसँग भनिन्, ‘त्यसबाहेक म फर्कंदा नेपाल नचिन्ने कोही नहोस् भन्ने मेरो उद्देश्य छ ।’

लन्डनमा नेपाल चिनाउँदै

अधिकांश प्रतियोगीसँग उठबस हुँदा कतिपयलाई ‘सबैभन्दा अग्लो हिमाल ‘सगरमाथा’ नेपालमा छ । जीवित देवी ‘कुमारी’ नेपालमै छिन् । भूकम्पपछि पुनर्निर्माण कार्य पनि जारी छ, देश १८ घन्टा अन्धकारमा रुमल्लिएको छैन’ जस्ता कुरा हेक्का रहेनछ । मिस नेपाल त्यो भ्रम चिर्न प्रयत्नशील छन् । ‘प्राकृतिक सौन्दर्य नै नेपालको पहिचान हो । हामीसँग संस्कृति, भेषभूषा, धर्म, जातजाति र मौसमको विविधता छ भनिरहेकी छु,’ उनले सुनाइन् ।


६९ औं मिस वर्ल्ड प्रतियोगिता भइरहँदा नेपाललाई उत्कृष्ट ताज अहिलेसम्म मिलेको छैन । यद्यपि अनुष्कालाई नेपालले हारिरहेको कत्ति अनुभव हुन्न र पालो आउँछ भन्ने लाग्छ । ‘विश्वका सबै देशबाट सर्वोत्कृष्ट प्रतियोगी नै आएका हुन्छन् । उनीहरूलाई मेरै देशले जिते हुन्थ्यो भन्ने हुन्छ । तर, मलाई सके ताज जिऔं नत्र फर्कंदा कम्तीमा नेपाल नचिन्ने कोही नहोस् भन्ने लाग्छ,’ उनी भन्छिन् । प्रतियोगिताका लागि मिहिनेत भने गरिरहेको उनले बताइन् । आफ्नो विवेक र क्षमताले भ्याएसम्म मिस वर्ल्डमा बलियो उपस्थिति जनाउने उनको प्रण छ । विशेष गरी मल्टिमिडिया र ‘हेड टु हेड च्यालेन्ज’ विधामा अनलाइन मत दिएर सहयोग गर्न देशविदेशस्थित नेपालीलाई उनको आग्रह छ । ‘ब्युटी विथ प्रपोज’ अन्तर्गत आफ्नो परियोजनालाई समर्थन गरिदिए आफू कृतज्ञ हुने बताइन् । ‘विशेष गरी सकारात्मक प्रभाव फैलाउने मेरो ध्येय छ । आफ्नो क्षमताले एकजना मान्छेको जीवनमा मात्र सुधार गर्न सकियोस् अनि विस्तारै परिवार, समाज, देश र विश्वलाई नै परिवर्तन गर्ने सोच हामीमा हुनुपर्छ,’ ‘मिस इन्टेलेक्चुअल’ उपाधिकी विजेतासमेत रहेकी अनुष्काले भनिन् ।


लन्डनको क्रिसमस शृंगार र उज्यालोले उनको मन तानेको छ । यहाँका पौराणिक अनि अत्याधुनिक भवनहरूको सम्मिश्रण र विकास देखेर दंग छिन् उनी । फुर्सदको समय बेलायतका नेपालीसँग भेटघाट पनि जारी छ । एनआरएनए पदाधिकारीपछि अनुष्काले सप्ताहन्त लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसँग भेटघाट गरिन् । आउनुअघि प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका नेपाली राजदूतसँग पनि उनको भेटघाट माहोल बनेको थियो । ‘नेपाल सरकारको सकारात्मक धारणा छ । उहाँहरूले तपाईं नेपालको राष्ट्रिय दूत नै हो भनेर ममा भूमिका निभाउन सक्ने क्षमता देख्नुभएकाले मिस नेपाल परिवर्तन र प्रभाव पार्न सक्ने पद रहेछ भन्ने लाग्छ,’ उनी आफ्नो जितलाई उपलब्धि ठान्छिन् । अहिले नेपालमा पनि मिस नेपाल प्रतियोगितालाई प्रभावकारी र सामाजिक योगदान पुर्‍याउन सक्ने पदका रूपमा बुझ्न थालिएको अनुष्काको धारणा छ । ‘मिस वर्ल्ड प्रतियोगिता’ यही डिसेम्बर १४ तारिख लन्डन एक्सेलमा हुने तयारी छ ।

प्रकाशित : मंसिर १८, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?