ताइवानी भ्वाइलिन, नेपाली कविता

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘कति मीठो धुन ?’ बौद्ध महाचैत्यको अघिल्तिर मानिसको भीडलाई छिचोलेर एकजना अधबैसेंले कवि विप्लव प्रतीकलाई सोधे, ‘खासमा यहाँ के भइरहेको छ ?’ यसपछि मुस्ताङका ग्यात्चो गुरुङले यताउति नियाल्न थाले । कतै सुन्दर चित्र कोरिँदै थियो, कतै कविहरू कविता सुनाउँदै । ‘यो केका लागि ?’, उनले फेरि सोधे, ‘मलाई त एकदमै नौलो लाग्यो ।’ 

साँच्चिकै बौद्ध महाचैत्य परिसरमा नौलो नै कार्य भइरहेको थियो । भीडकै माझ कवि विप्लव मधुर स्वरमा कविताका लयमा मायाको भाव मिसाइरहेका थिए भने ताइवानका भ्वाइलिन वादक दि चेन चाङ (कर्मा यान्जिन ड्रोल्मा) मीठो धुन निकालिरहेकी थिइन् । त्यस्तै अग्रज चित्रकार किरण मानन्धर क्यानभासमा रंग भर्दै थिए । विप्लवले भीडलाई नै सम्बोधन गर्दै समय र गतिअनुसार परिवर्तनशील भइरहेको मानव स्वभावका विषयमा ‘चराको अवस्था’ शीर्षकमा कविता सुनाए ।

उनले वाचन गरेको ‘माया’ कविता भने सर्तहीन प्रेममा केन्द्रित थियो । उनले माया र मानवताको भाव शब्दमा पोखिरहँदा दी चेनले दया, करुणालाई नै दर्साउने धुन रेटिरहेकी थिइन् । बौद्ध धर्म र संगीतमा नै निरन्तर लागेकी चेनले आँखा बन्द गरेर ‘ओ माने पेमे हु’ लय निकाल्दा सबैको नजर उनीतिरै थियो । उनकै लय सुन्दै चित्रकार मानन्धरले एक्रेलिक माध्यममा अमूर्त चित्र कोरिरहेका थिए । रातो, कालो, नीलो, पहेँलो रंगहरूमा पहाड, हिमाल, स्तूपजस्ता दृश्यमा महिलाको केही रूपसमेत झल्किएको थियो । उनको सिर्जनालाई हेर्दै गुरुङले हिमालको अनुमान गरे भने त्यतै कार्यक्रम हेर्दै गरेका बौद्धका तेन्जिङ बोटियाले स्तूपको रूपमा बुझे ।

संगीत, रंग र शब्द परिपूरकका रूपमा लिँदै कवि विप्लवले कलाका तीनवटै माध्यमबाट एकले भन्न नसकेको भाव अर्कोले भनिरहेको महसुस गरे । ‘मैले कविता भन्दा, त्यही सुरमा संगीत थियो,’ उनले भने, ‘शब्द र धुन चित्रमा प्रतिविम्बित थिए ।’ मानन्धरले तीन वटै विधालाई अमूर्त कलाका रूपमा लिए । तिनै पक्षलाई समायोजन गर्दै एउटा सिंगो चित्र तयार पारेको उनले उल्लेख गरे । रंग, शब्द र धुनलाई मिसाउने यस्तो कार्य भने स्पेस अ आर्ट ट्रस्टले गरेको हो । ‘काठमाडौं इन्टरनेसलन आर्टिस इन रेजिडेन्सी २०१९’ को सहकार्य रहेको थियो । मुलुकभित्र र बाहिरका कलाकारलाई एकै ठाउँमा प्रस्तुत गर्न उद्देश्यले कार्यक्रम गरिएको स्पेसका सदस्य नेदा हफारीले बताइन् । बुद्धको धार्मिक स्थलमा मानव प्रेम र सद्भाव झल्काउन संयुक्त कला प्रस्तुति निकै अर्थपूर्ण रहेको उनले दाबी गरिन् ।


प्रकाशित : मंसिर १७, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्

नन्दरामको म्यान्मार कथा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालीमूलका म्यान्मार नागरिक नन्दराम न्यौपानेको संस्मरणात्मक कृति ‘हाम्रो बर्मा : हाम्रो कर्म’ सोमबार राजधानीमा सार्वजनिक भएको छ । नेपालका प्रथम गभर्नर हिमालय शमशेर, गीतकार, लेखक तथा फिल्म निर्देशक यादव खरेल, नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिलका अध्यक्ष शंकर घिमिरेलगायतले कृति लोकार्पण गरेका हुन् ।

बर्मा (म्यान्मार) मा नेपालीहरूले बिताएको लामो समय, त्यहाँको नेपाली जनजीवन र भाषा संस्कृतिको विकासलगायतका विषयमा कृति केन्द्रित रहेको छ ।

कृतिमाथि बोल्दै प्रथम गभर्नर शमशेरले आफूले चार दशकअघि बर्मामा काम गर्दा नै नन्दरामको सामाजिक कार्य देख्न पाएको सुनाए । गीतकार तथा चलचित्रकर्मी यादव खरेलले धेरैजसो आत्मकथा झूटको पुलिन्दा भएको दाबी गर्दै नन्दरामको कृति भने यथार्थपरक रहेको बताए । गैरआवसीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले नन्दरामले बर्माको नेपाली समुदायमा पुर्‍याएको योगदानबाट संसारभरका नेपालीले सिक्नुपर्ने बताए । लेखक नन्दरामले बर्मामा नेपाली भाषा, साहित्य र पठनपाठनको अनुभव सुनाउँदै आफ्नो कृति पितृभूमि नेपालमा सार्वजनिक गर्न पाउँदा खुसी लागेको सुनाए ।

नन्दारामकी पत्नी कलावतीले पनि बर्मेली नेपालीहरूले आफ्नोपन प्रवर्द्धन गर्न गरेका कार्यहरूबारे प्रकाश पारे । नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिलका अध्यक्ष घिमिरेले नेपाल र म्यान्मारबीच भाषा–संस्कृतिमार्फत् बनेको सम्बन्धलाई नन्दारामको पुस्तकले नयाँ उचाइ दिने दाबी गरे । डा. पदम न्यौपाने र पुस्तकका सम्पादक रमेश खड्काले दुई लाखभन्दा अधिक जनसंख्या भएको बर्माका अनुभवलाई पुस्तकले बाहिर ल्याएको दाबी गरे । म्यान्मार सरकारद्वारा नागरिकलाई दिइने सर्वोच्च सम्मान अग्रमहा श्रीसुधम्ममणि ज्योतिधर उपाधि प्राप्त नन्दराम न्यौपानेको अघिल्लो पुस्ता गुल्मीबाट बर्मा पुगेका थिए ।

प्रकाशित : मंसिर १७, २०७६ १२:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×