१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नाटकमय तीन दिन 

काठमाडौँ — पाँच वटा प्रदेशका ६ नाटक मञ्चन गर्दै तीनदिने नेसनल स्कुल थिएटर फेस्टिभल शुक्रबार सकिएको छ । राजधानीको बानेश्वरस्थित कुञ्ज थिएटरमा जारी फेस्टिभलको अन्तिम दिन आहाल भञ्ज्याङ मावि गोर्खाको प्रस्तुतिमा रंगकर्मी सुरज तमुले निर्देशन रहेको नाटक ‘चालिसे भीर’ र आरङ्ग नेपाल, सुर्खेतका कलाकार समूहको प्रस्तुतिमा ‘तुसारोभित्रका मुनाहरू’ मञ्चन गरिएको थियो ।

नाटकमय तीन दिन 

नाटक ‘चालिसे भीर’ मा मरेको मान्छेको आत्मालाई जिउँदो मान्छेको आङमा बोलाउने परम्परा देखाइएको थियो । गणेश गौतमको लेखन एवं यामनारायण आचार्यको निर्देशन रहेको ‘तुसारोभित्रका मुनाहरू’ भने बाल यौनशोषणमा केन्द्रित थियो ।


महोत्सवको पहिलो दिन एभरेस्ट बोर्डिङ स्कुल कैलालीका तर्फबाट पुष्प अवस्थीको निर्देशन रहेको नाटक ‘कठै तीन मास्टर’ मञ्चन गरिएको थियो । नाटकले शिक्षित भए पनि रजश्वलाप्रति पुरातन दृष्टिकोण राख्ने एक ग्रामीण परिवारको कथा प्रस्तुत गरिएको थियो । त्यस्तै लिम्बू संस्कारमा मृतकबाट छुटकारा पाउन झाँक्री राखेर आत्मा बोलाउने परम्परालाई नाटक ‘थान’ ले प्रस्तुत गरेको थियो । यो नाटक वरबोटे इंग्लिस बोर्डिङ स्कुल इलामका तर्फबाट सुरेश पोर्तेलले निर्देशन गरेका थिए । दोस्रो दिन क्रिएटिभ एकेडेमी कीर्तिपुरबाट जीवन बरालले निर्देशन गरेको नाटक ‘आनमयाँ’ प्रस्तुत गरिएको थियो । नाटकमा सशस्त्र द्वन्द्वकालमा नि:हत्था नागरिकले बेहोर्नुपरेको सास्तीलाई उतारिएको थियो । त्यही दिन मञ्चन भएको गोपाल कृतिको निर्देशन र युवराज दाहालको लेखन रहेको नाटक ‘म सपना’ पनि देखाइएको थियो । घरको कामले गर्दा शिक्षाबाट वञ्चित एक बालिकाको कथाव्यथा प्रस्तुत गरिएको यो नाटक सगरमाथा मोडेल स्कुल गाईघाटले प्रस्तुत गरेको हो ।


स्कुल थिएटर नेपाल र एसियन एकेडेमी फर पिस र रिसर्च एन्ड डेभलपमेन्टले गरेको महोत्सवको समापनमा सहभागी सबैलाई प्रमाणपत्र, मायाको चिनो प्रदान गर्दै साहित्यकार तथा वरिष्ठ रंगकर्मी अभि सुवेदीले अचेल नाटकमा समाजका कुरा बढी आउन थालेको भन्दै प्रशंसा गरे । महोत्सव निर्देशक टंक चौलागाईंले दिगो शान्ति, सामाजिक मेलमिलापजस्ता विषयमा बालबालिकालाई सामेल गराउन महोत्सव केन्द्रित रहेको बताए ।


प्रकाशित : मंसिर १५, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?