कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

किम्फ : नेपाल पानारोमामा १४ फिल्म

काठमाडौँ — काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्म छानिएका छन् । आउँदो मंसिर २५ देखि राजधानीमा सुरु हुने पाँचदिने महोत्सवमा सरला थापाको ‘ब्रिटेन्स् लोन्ली गोर्खास्, गणेश पाण्डेको ‘सहायक श्रीमान्’, निपिल शर्माको ‘अटिसार्गा’, धोंडप छिरिङको ‘आमा खुन्डो’, सुमन सापकोटाको ‘अठारौं’ र धनराज बर्कोटेको ‘एउटा रूखको पीडा’ छानिएका हुन् ।

किम्फ : नेपाल पानारोमामा १४ फिल्म

त्यस्तै केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रशिश वज्राचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रंगहीन पुतली’, ‘द कलरलेस’ र ‘तिर्खा’ पनि प्रदर्शन हुनेछन् । प्रदर्शन गरिने फिल्महरूमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ फिल्म गैरप्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएको विज्ञप्तिमा जनाइएको छ । किम्फको यो १७ औं संस्करणका लागि ६९ देशका ४ सय २७ वटा फिल्महरूको प्राप्त भएकोमा २९ देशका ६६ वटा फिल्म मात्रै महोत्सवमा प्रदर्शन गरिने बताइएको छ । महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: २ लाख, १ लाख ५० हजार र एक लाख रुपैयाँ जित्नेछन् । त्यस्तै ‘नेपाल पानोरामा’ अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैरकथानक (नन–फिक्सन) फिल्मलाई क्रमश: एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ । कथानक विधातर्फको पुरस्कार मिला प्रोडक्सनले र गैर–कथानक विधातर्फको नगद पुरस्कार चलचित्र विकास बोर्डले प्रायोजन गर्नेछ ।


यसपटक किम्फले नै गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० फिल्म पनि प्रदर्शन गरिनेछन् । त्यसबाहेक महोत्सवमा तीनवटा स्विस फिल्महरूको विशेष प्रदर्शनी गरिने बताइएको छ । स्विस कथानक फिल्म ‘हाइडी’ महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ । माफिल कोट्स’ (बेलायत), जे क्यु ली (कोरिया) र ग्याब्रियला कुहृन (पोल्यान्ड) सहितको निर्णायक टोलीले महोत्सवको उत्कृष्ट फिल्म छनोट गर्नेछन् । ‘पछाडि पारिएकाहरूको आवाज’ नारासहित आयोजना हुन लागेको महोत्सवको उद्घाटनमा ‘द एसेन्ट अफ एभरेस्ट’ फिल्म प्रदर्शनी गरिने बताइएको छ ।


महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरको पनि प्रदर्शनी हुनेछ । यसपटक महोत्सवमा फिल्म प्रदर्शनीसँगै विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को हिउँचितुवा संरक्षणसम्बन्धी स्टोरी टेलिङ कार्यक्रम पनि हुने आयोजक हिमाल एसोसिएसनले जनाएको छ । ‘एसियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास सञ्चालन गर्नेछन्,’ एसोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाले भने, ‘नेपाली फिल्महरूलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन पाँचदिने महोत्सवले सघाउनेछ ।’

प्रकाशित : मंसिर १५, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?