कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

हुर्रामा मस्त सेलेब्रिटी

विप्लव भट्टराई

(इलाम) — मंसिरे चिसो बढ्दै गएको बेला इलाममा हुस्सु कुहिरोले आक्कलझुक्कल घुम्टो ओडाउँछ । बादलुको घुम्टो र पारिलो घामको लुकामारीबीच पाइने इलामको सौन्दर्य बिछट्टको हुन्छ । यही प्राकृतिक छटामा पुल्किँदै प्रदेश १ का पर्यटकीय स्थलहरूको प्रवर्द्धनमा आएको सेलेब्रिटी टोलीले इलामको रमणीयतासँगै यहाँको संस्कृतिसँग पनि खेलेरै रमाइलो साटे ।

हुर्रामा मस्त सेलेब्रिटी

माइखोला तीनपटक तर्दै सन्दकपुर–५ को ढापपोखरी पुग्नासाथ ठूलो संख्यामा उपस्थित स्थानीयको न्यानो स्वागतले चिसो बिर्सिएका उनीहरूले डुंगामा फन्को मार्नुसँगै लिम्बू जातिको परम्परागत ढोल नाचको स्वाद चाखे । टिममा सहभागी रकस्टार अभया सुब्बाका लागि ढोलनाच नौलो थिएन । तर मिस युनिभर्स नगमा श्रेष्ठ, मिस नेपाल युनिभर्स शुभेक्षा खड्का, मिस एसिया युनिभर्स पिंकी राजगढियालगायतलाई नौलो थियो त्यो दृश्य ।


निर्धारित सेडुलभन्दा झन्डै ३ घण्टा ढिलो मात्र ढापपोखरी प्रवेश गरेका उनीहरू समयको परवाह नगरी ढोलनाचमा मस्त रहे । आफैं ढोल भिरेर स्थानीयसँगै तालमा ताल मिलाउन पाएकोमा दंग देखिएका सेलेब्रिटीको प्रस्तुतिले उपस्थितलाई झन् हौस्यायो । अझ शुभेक्षाले मादलको तालमा ढोल बजाउँदै दिउँसो भट्याएको दृश्यले सबैलाई रोमाञ्चित बनाएको थियो ।


इम्याजिन नेपालको समन्वयमा ‘पहिले देश घुमौं अनि मात्र विदेश’ नाराका साथ पूर्व दौडाहामा रहेको टोलीलाई सन्दकपुरको डाँडा चुम्न निक्कै हतारो थियो । तर त्यस तल स्थानीयले लामो प्रयासमा थालेको पर्यटन अभ्यास, रहनसहन, कलासंस्कृति र मौलिकतासँगै देखाएको न्यानो आतिथ्यले लक्ष्य पुग्न ढिलाइ गरिरहेको थियो ।


स्करपियोलाई छोप्ने गरी बनाएको छालको आनन्दमा एउटै माईखोला तीन पटक पार गर्दाको रोमाञ्चकतासँगै सन्दकपुरतर्फ तन्कादा अर्को गन्तव्य थियो मावुको तीनकुने । करिब ४ बजेसम्म ब्रेकफास्टको भरमा थकित उनीहरू गुन्द्रुकको अचार, दही, किवी फल र स्थानीय अर्गानिक उत्पादनसँगैको सामीप्यतामा पुग्दा भने सबै चिन्ता हटेको महसुस गर्दै थिए ।


धुम्म परेको दिनले साँझतर्फको यात्रा छोट्याउँदै गर्दा सिंगो टोली तीनकुने छिटो छाड्न चाहन्थ्यो । तर लामो प्रतीक्षामा रहेर गाउँको उत्पादन चखाएर मात्र चित्त नबुझाएका स्थानीय अर्ग्यानिक संस्कृति पनि पस्कन चाहन्थे । यही मेसोमा सुरु हुर्रा नाचको रौनक । मगर जातिको परम्परागत पहिरनसहित हुर्रा नाचको रौनकताले फेरि उनीहरूलाई गाडीबाट उतार्‍यो ।


स्थानीय कलाकारसँगै उपस्थित सबै सेलिब्रेटीले तालमा ताल मिलाउँदा थप आधा घन्टा बितेको पत्तै भएन । ‘गोजीमा दाम छैन ...’ गीतमा कम्मर मर्काएकी प्रमिता राना पनि हुर्रा नाचसँगै प्रशंसकसँग सेल्फी खिच्न नै व्यस्त देखिन्थिन् । आगन्तुकले जति रमाइलो गरे उति आनन्दित बन्दै थिए स्थानीय । ‘यहाँको प्राकृतिक छटा र सांस्कृतिक विविधतालाई आगन्तुकले निको मानिदिए भने यहाँको पर्यटनले गति लिनेछ,’ पर्यटक र कलाकारलाई हौस्याउँदै रहेका गाउँपालिका अध्यक्ष उदय राईले भने ।


साँझ अबेर सन्दकपुर पुगेको टोलीले बिहान झुल्के घामसँगै सगरमाथादेखि कञ्चनजंघा, कुम्भकर्ण अनि नेपाल, भारत र भुटानका ६० वटा जति हिमालको लस्कर देखेपछि फुरुङ्ग बन्यो भ्रमण टोली । अर्को दिन माइमझुवाको बाटो भएर माइपोखरी हुँदै अन्तु पुग्ने क्रममा देउराली बजारमा फेरि सुरु भयो शेर्पा जातिको परम्परागत नाच । उसैगरी थकान बिर्सेर सहभागीले स्थानीय कलाकारलाई साथ दिए ।


‘यात्रामा रहेका सबैले आ–आफ्नो क्षेत्रबाट देशविदेशमा यो क्षेत्रको प्रचार गर्ने छन्,’ टोलीका संयोजक स्वरूप केसीले भने, ‘इम्याजिन नेपालले यसअघि पनि नेपालका थुप्रै पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सघाएको छ ।’ पूर्वी पहाडको एड्भेन्चरमा निस्किएको करिब ५ दर्जनको टिममा बैंकर्स, ब्लगरलगायत विभिन्न क्षेत्रमा ख्याति कमाएकोहरूको सहभागिता थियो ।

प्रकाशित : मंसिर १३, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?