अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सव : १३ देश, १५ फिल्म

काठमाडौँ — लोक संस्कृति र सम्पदालाई फिल्ममार्फत् कसरी सुरिक्षत बनाउन सकिन्छ ? प्रविधिको जमानामा मूर्त–अमूर्त संस्कृतिलाई नयाँ ढंगले कसरी प्रवर्द्धन गर्ने ? घनीभूत बहससहित बिहीबार राजधानीमा अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सव सुरु भएको छ । जमलस्थित दिवंगत संगीतकर्मीहरूको नाममा बत्ती बाल्दै राजधानीमा अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सव सुरु भएको छ ।

अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सव : १३ देश, १५ फिल्म

जमलस्थित राष्ट्रिय नाचघरमा महोत्सवको नवौं संस्करणको पहिलो दिन लोकसंगीत र संस्कृतिका ११ वटा कार्यपत्र पेस गरिएका थिए । शंकर विष्ट, मधुसूदन गिरी, कुमार रञ्जित, चाँदनी मल्ल, खड्ग बूढाले मगर, कृष्ण गुरुङ विनोद गन्धर्व, इन्द्रमान महर्जनलगायतले विभिन्न नेपाली लोकबाजामाथि चर्चा गरेका हुन् । फिल्मको सेसन भने शुक्रबारदेखि सुरु हुनेछ ।


लोक संगीत, संस्कृति, परम्परा, मिथक र मान्यतामाथि बनेका फिल्म समेटेर हुँदै आएको महोत्सवमा यसपटक १३ मुलुकका फिल्महरू छानिएका छन् । नेपाली लोकबाजा संग्रहालयले गर्दै आएको महोत्सवमा यसपटक अमेरिका, भारत, नेपाल, चीन, स्लोभेनिया, जापान, नेदरल्यान्ड, बेलायत, क्यानडा, कम्बोडिया र चिलीको फिल्म छानिएका हुन् । फिल्मका माध्यमबाट अमूर्त सम्पदा प्रवर्द्धनको उद्देश्यसाथ हुँदै आएको महोत्सवले पछिल्लोपटक नेपालीभित्रै पनि ‘सम्पदा सचेतना’ फैलाउने सघाउँदै आएको आयोजक लोकबाजा संग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलले जनाए । ‘आधुनिक विकास र ज्ञानका आज संसारभर सम्पदा संरक्षण ठूलो मुद्दा बन्दै गइरहेको छ,’ उनले भने, ‘लोकको मौलिक पहिचानका रूपमा पुर्खाहरूको संस्कृतिलाई नयाँ ढंगले प्रचारप्रसार गरेर मूल्य स्थापना गर्न सकिएन भने भोलि यो नमिठो इतिहास बन्नेछ । त्यही भएर हामीले एक दशकअघि नै महोत्सव सुरु गरेका थियौं ।’


महोत्सव सुरुवातको समय अमूर्त संस्कृतिमाथि पनि फिल्म बन्छ र ? भन्ने प्रश्नको जवाफ दिनुपरेको बताउँदै पछिल्ला वर्षहरूमा हुँदै आएको अन्तर्राष्ट्रिय सहभागिताले आफूहरूलाई हौस्याएको पनि उनले जनाए । ‘अहिले यो महोत्सव मनोरञ्जनसँगै संसारभरका लोक संस्कृति, लोक नाच, लोकबाजादेखि लोक संगीतसम्मको अध्ययन–अनुसन्धान गर्ने थलो बन्दै गइरहेको छ,’ उनले भने । यसपटकको महोत्सव नारा भने ‘जीवनका लागि संगीत र बाँच्नका लागि संगीत’ तय गरिएको संग्रहालयका सचिव होमनाथ भण्डारीले जनाए ।


प्रतियोगी र अप्रतियोगी गरी १५ वटा डकुमेन्ट्री फिल्महरू देखाइने महोत्सवअन्तर्गत बिहीबार नाचघरमा लोक संगीत संरक्षणसम्बन्धी कार्यशालासमेत हुनेछ । शुक्रबार एड्रिय हेकम्यानको ‘बोन इन डोल्पो’, बिजु टोप्पो र मेघनाथको ‘गडी लोहादागा मेल’, कोरल तिङ्गेको ‘हार्ट बिट अफ नेपाल’, तेरादा यासिटाकाको ‘मारानाओ कल्चर एट होम एन्ड डायस्पोरा’ लगायतका फिल्म देखाइने भण्डारीले जनाए । फिल्महरू वरिष्ठ फिल्मकर्मी प्रदीपकुमार उपाध्याय, प्रकाशजंग कार्की र शंकरसिंह विष्टको निर्णायकमण्डलले छनोट गरेको हो ।

प्रकाशित : मंसिर १३, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?