१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जम्दै आयुष्मान

एजेन्सी

कुनै बेला ‘स्टार’ चम्किने बलिउडमा अचेल ‘कन्टेन्ट’ बिक्न थालेको छ । र, कन्टेन्टका सफल व्यापारी बनिरहेका छन्, अभिनेता आयुष्मान खुराना । सन् २००४ मा एमटीभी रोडिजको उपाधि जितेपछि खुरानाले एङ्करका रूपमा करिअर सुरु गरेका थिए । 

जम्दै आयुष्मान

जब सन् २०१२ मा ‘विक्की डोनर’ खेल्दै अभिनेताका रूपमा देखिए, उनलाई खासै वास्ता गरिँदैनथ्यो । उक्त फिल्मबाट नवअभिनेताको फिल्मफेयर अवार्ड जिते पनि फिल्म खासै पाइरहेका थिएनन् । बरु मिडिया क्षेत्रमा नै आफूलाई व्यस्त राख्दै आए । तर यति बेला भने खुरानाका दिन बलेका छन् ।


यस वर्ष मात्र उनका तीन फिल्म रिलिज भए । रिलिज मात्रै भएनन्, तीनवटै फिल्मले बक्सअफिसमा तहल्का मच्चाए । ‘बाला’ सम्म आइपुग्दा उनले बक्सअफिसमा सफलताको डबल ह्याट्रिक गरेका छन् । सन् २०१७ मा रिलिज भएको ‘शुभमंगल सावधान’ पछि लगातार ‘अन्धाधुन’, ‘बधाई हो’, ‘आर्टिकल १५’, ‘ड्रिमगर्ल’ र ‘बाला’ शतप्रतिशत नाफा कमाउने फिल्ममा दरिएका छन् । उनी यति बेलाका सर्वाधिक मुनाफा दिने अभिनेता बन्दै शाहरुख खान, सलमान खान, आमिर खान वा अक्षय कुमारलाई समेत पछि पारिदिएका छन् । जब कि आयुष्मानका फिल्मको बजेट कम तर आम्दानी ज्यादा हुन थालेपछि उनी नाफादायक र कम जोखिमपूर्ण अभिनेतामा परेका हुन् ।


उनको ‘शुभमंगल सावधान’ मात्र १७ करोड भारु बजेटको फिल्म थियो भने यसले ४२ करोड भारु खुद नाफा कमाएको थियो । जुन लगानीका हिसाबले झन्डै डेढ सय प्रतिशतले बढी हो । ‘अन्धाधुन’ त अझ मात्र २० करोड भारुको फिल्म थियो । तर कमाइदियो साढे ७२ करोड भारु । यसको नाफा प्रतिशत मात्रै २६२ रह्यो । एकपछि अर्को सफलता हात पार्ने क्रममा आयुष्मानको ‘बधाई हो’ ले नाफाको दायरालाई झनै फराकिलो पारिदियो । जसमा आयुष्मानबाहेक अरू खासै चिनिएका कलाकार पनि थिएनन् । २२ करोड भारु बजेटको यो फिल्मले एक सय ३७ करोड भारु कमायो । अनुपातमा हेर्दा यसले आयुष्मानको फिल्मी करिअरमै सर्वाधिक बढी पाँच सय २२ प्रतिशतको मुनाफा दिलायो ।


आयुष्मान दर्शकका लागि पनि भरपर्दा अभिनेता बन्दै गइरहेका छन् । कुनै बेला आमिर खानमाथि दर्शकको भरोसा अडिएको थियो । आमिरका फिल्म गतिला हुन्छन् भन्ने दर्शकको विश्वास ‘ठग्स अफ हिन्दोस्तान’ ले तोडिदिएको थियो । आयुष्मान भने छैटौं फिल्मसम्मको परीक्षामा खरो उत्रिरहेका छन् । उनको ‘आर्टिकल १५’ को बजेट पनि मात्र २५ करोड भारु रहेको थियो । तर त्यही फिल्मले ६३ करोड भारु नेट कमाइ गर्दै निर्मातालाई लगानीको डेढ सय प्रतिशतभन्दा बढी मुनाफा दिलाएको थियो ।


अझ ३० करोड भारु बजेटको उनको ‘ड्रिमगर्ल’ ले त एक सय ४० करोड नै कमायो । जुन फिल्म आयुष्मानको सय करोड क्लब प्रवेश गर्ने दोस्रो फिल्म पनि हो । यतिबेला ‘बाला’ पनि सय करोड क्लब उन्मुख छ । जसको बजेट ३५ करोड भारु हो । रमाइलो त के छ भने, आयुष्मान अभिनीत फिल्मका बजेट प्रायः बलिउड फिल्मको प्रचार खर्चभन्दा पनि कम हुन्छ । तर तिनै फिल्म यति बेला मनग्गे पैसा कमाउने मात्र बनेका छैनन्, चर्चासमेत बटुलिरहेका छन् ।

प्रकाशित : मंसिर ५, २०७६ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?