‘असफलताले धेरै सिकाउँछ’

काठमाडौँ — बलिउड अभिनेता आमिर खानले आफ्ना सबैजसो फिल्मबाट सफलता नै हात पारेका छन् । समीक्षकदेखि दर्शक सबैको मन छुने फिल्ममा उनको सहकार्य रहँदै आएको थियो । तर पछिल्लो पटक उनी चिप्लिए । बहुप्रतीक्षित मानिएको बिग बजेट फिल्म ‘ठग्स अफ हिन्दोस्ताँ’ असफल भएपछि त्यसको प्रत्यक्ष असर आमिरलाई नै पर्‍यो । अभिनेताले पनि फिल्मको असफलताको सबै जिम्मेवारी आफैंले लिँदै दर्शक, फ्यानसमक्ष माफ मागेका थिए । 

‘असफलताले धेरै सिकाउँछ’

यतिबेला आमिर फेरि ‘लालसिंह चड्ढा’ सहित दर्शकसमक्ष आउने तरखरमा छन् । उक्त फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक हो । हालैको एक पत्रकार सम्मेलनमा आमिरले पछिल्लो असफलतालाई पुन: सम्झिए ।


तपाईंले ‘ठग्स अफ हिन्दोस्ताँ’ को असफलताको जिम्मा लिएर के फाइदा भयो त भन्ने पत्रकारको प्रश्नमा आमिरले भने, ‘त्यो फिल्मप्रति दर्शकको आशा ठूलो थियो । तर हामी आफ्नो भूमिकामा खरो उत्रन नसकेपछि फिल्म सोचेजस्तो बन्न सकेन । जसले गर्दा ठूलो आशा राखेका दर्शकमा निराशा बढ्यो । निराशालाई बढ्न नदिन र अझै आशा कायम राखिरहन पनि मैले उक्त जिम्मेवारी लिएको हुँ ।’ अभिनेता खानले आफू जोडिएका हरेक फिल्ममा जिम्मेवारीबोध गर्ने भएको जिकिर गर्दै थपे, ‘लामो समयदेखि मैले असफलता व्यहोर्नुपरेको थिएन र यस्तो खालको जिम्मेवारी लिनुपरेको थिएन । तर म यसमा पहिल्यैदेखि सचेत छु । मेरा लागि यो नौलो र पहिलो लाग्दैन ।’


सुटिङका क्रममा रहेको ‘लालसिंह चड्ढा’ को सोमबार मात्रै आमिरले फस्टलुक सार्वजनिक गरेका थिए । सफलताको चाङ लगाएका आमिरले पत्रकार सम्मेलनमा भने नयाँ कुरा गरे । भने, ‘हुन त ‘ठग्स अफ हिन्दोस्ताँ’ को असफलताले मलाई निकै निराश बनायो । दर्शकको नजरमा खरो उत्रन नसकेकामा पछुतो पनि रह्यो । तर असफलताले धेरै सिकाउने रहेछ । मैले पनि त्यसको असफलताले आफ्ना कमजोरी थाहा पाउने र त्यसबाट सिक्ने मौका पाएँ । त्यत्ति हो, के सिकें भन्ने कुरा सार्वजनिक गरिरहनु आवश्यक लाग्दैन । त्यसलाई टिम सदस्यसँग बसेरै विचार–विमर्श गरेका थियौं ।’


प्रकाशित : मंसिर ४, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?