सिस्नुपानीको करमैत्री झटारो

चाँदनी कठायत

(वीरेन्द्रनगर) — ‘समृद्धिको पहिलो पाइला कर तिरेर थालौं

सिस्नुपानीको करमैत्री झटारो

सिंगो मुलुक आफ्नो ठानी ढुकुटीमा हालौं

ढुकुटीमा मुसो पसे तातो पानी हालौँ

पेट्रोल छर्कौं पुच्छरमा अनि पुल्ठो बालौँ...’


सोमबार वीरेन्द्रनगरमा आन्तरिक राजस्व विभागद्वारा आयोजित करमैत्री यात्रामा सिस्नुपानी नेपालका महासचिव टंक आचार्यले व्यंग्यात्मक कवितामार्फत् सबैलाई कर तिर्न सुझाए । कवि अर्जुन पराजुलीले मुक्तक सुनाउँदै कर नतिर्नेहरूलाइ व्यंग्य गर्न भ्याए । उनले जे गर्दा पनि प्रश्न उठाउने नागरिक मनोविज्ञानमाथि यसरी प्रहार गरे–


सरकारले भन्छ : आम्दानी गरेपछि नागरिक आफैंले जानेर कर तिर्नुपर्ने

मैले तिर–तिर भन्दा पनि अँझै किन आनाकानी गर्ने


नागरिकले भन्छ : कर तिर्ने काम त जुन देशको नागरिकले पनि गर्छ

अरूले गरेको काम हामीले किन गर्ने ?’


कवि पराजुलीले यो मुक्तक सुनाइरहँदा नजिकै बसेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, उद्योग, वन पर्यटन तथा वातवरणमन्त्री नन्दसिंह बूढालगायत अन्य प्रदेश सांसद हाँसिरहेका थिए । एकैछिनपछि भने सरकार र शक्तिमा रहनेहरूको भ्रष्टतामा माथि नै व्यंग्यवाण सोझियो । मञ्चमा उभिएका थिए, सिस्नुपानी नेपालका उपाध्यक्ष धीरेन्द्र प्रेमर्षि । उनले प्यारोडी शैलीमा ‘कुटुमा कुटु ढुकुटी खाना कुटुमा कुटु...’ भन्दै जनताले तिरेको करको सदुपयोग नगर्ने सरकारतर्फ झटारो फ्याँके । राजनराज शिवाकोटीको संगीत रहेको फिल्म ‘छक्का पन्जा’ सिरिजको गीतको प्यारोडीमा उनले गाए– ‘हेर्दामा जीउज्यान खाइलाग्दो भुँडीमै जीउ लुकेको, केके न गर्छु भनेर सुरिलो भाकामा फुकेको ।’ सत्ताबाहिर बस्दा भ्रष्टाचारको विरोध गर्ने, सत्तामा पुगेपछि आफै भ्रष्ट आचारण बदलिने नेताप्रतिको यो व्यंग्यले निकै ताली पायो ।


सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले कवितामार्फत् कर पुराण नै सुनाए । ‘कर कर पुराण’ सुनाउँदै उनले कर नतिर्नेलाई मात्र नभई तिरेको करलाई सदुपयोग नगर्ने सरकारी निकायका उच्च ओहोदाका व्यक्तिलाई समेत घोचपेच गरे । व्यंग्यात्मक पुराणमार्फत् उनले करमाराहरूलाई मस्तिष्कबाट साढे सातले थिच्ने र आन्द्रामा अडैयाले अँठ्याइरहने हुँदा झोलामा अढाइ केजीभन्दा बढी ओखतीका ट्याबलेट र क्याप्सुल बोकेर आजीवन र्‍यालसिँगान हुँदै हिँड्नुपर्ने भन्दै हँसाए । ‘करमाराहरूको मृत्यु पनि असहज प्रकारले हुनेछ,’ पुराणमार्फत् व्यंग्य गर्दै उनले भने, ‘केराको बोक्रामा चिप्लिएर, थुक सर्किएर, कुखुराको हड्डी अड्किएर, परस्त्रीका झ्यालबाट खसेर इत्यादि ।’


करमैत्री माहोल सिर्जना गर्ने उद्देश्यले गरिएको कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलले जोगी बनेरै मन्त्र जपे । गाउँघरमा फेरी लाउँदै हिँड्ने जोगीले ‘आकाशै बाँधौं, पातालै बाँधौं...’ भने जस्तै उनले ‘भ्याट नतिर्नेका खाता बाँधौं, प्यान नलिनेका पाता बाँधौं, नक्कली बिल बनाउनेका हात बाँधौं, आयकर नतिर्नेका सम्पत्ति बाँधौं, कर नतिर्ने करदातालाई मानले बाँधौं,’ भन्दै हँसाए । उनी थप अघि बढे, ‘इमानदार कर्मचारीलाई सम्मानले बाधौँ, भ्रष्ट बाँधौं, ठग बाँधौ, लुटेर बाँधौं, करमारा व्यापारीलाई सिस्नुपानीले बाँधौं, देश विकासका बाधकलाई, कानुनले बाँधौं ।’


कार्यक्रममा गायक जीवन शर्मा र शिशिर योगीले राष्ट्रिय गीत सुनाए । करमैत्री यात्रामा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर उठाउन र उठेको कर सदुपयोगमा समस्या देखिएको स्वीकार गरे । उनले नकारात्मक प्रचारका कारण कर तिर्न जनता इच्छुक नहुने जनाए । सिस्नुपानी नेपालले देशका विभिन्न सहरमा हास्यव्यंग्यसहित करमैत्री यात्रा सुरु गरेको हो । मंसिर ७ गते काठमाडौंमा यात्राको समापन गरिने बताइएको छ ।


प्रकाशित : मंसिर ४, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?