१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

चरिकोटमा थाङ्का र पौभा

(दोलखा) — कुनै समय थाङ्का चित्र गुम्बाका भित्तामा सजिन्थे । बुद्ध मात्रै हैन, भृकुटीदेखि पद्मसम्भवसम्मका चित्र सजाएर नियमित पाठपूजा गरिन्थ्यो । अचेल थाङ्का चित्रको आयाम गुम्बाबाहिर पनि फराकिलो बनेको छ । अब यो घर सजाउने कला पारखीको रोजाइमा मात्रै परेको छैन, धार्मिक पर्यटन प्रवर्द्धन गर्ने गजबको माध्यम पनि बनेको छ । भारत, भुटान, चीनदेखि जापानसम्म यसको बजार फैलिएको छ भने मुलुकभित्र थुप्रै थाङ्का चित्रकलाका प्रतिभा जन्मिरहेका छन् । यस्तै प्रतिभाको खोजी गर्दै यतिबेला दोलखामा ‘थाङ्का–पौभा चित्र कार्यशाला’ चलिरहेको छ ।

चरिकोटमा थाङ्का र पौभा

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परम्परागत शिल्पकला विभागले कार्यशालाको मेसो मिलाएको हो । प्रतिनिधिसभाका सांसद पार्वत गुरुङ र प्रदेश सांसद हिमाली गोलेले कार्याशाला उद्घाटन गरे । दुई दर्जन चित्रकार सहभागी कार्यशालामा थाङ्कासँगै पौभा शैलीका चित्रलाई पनि प्राथमिकता दिइएको छ । पौभा पनि थाङ्का जत्तिकै धार्मिक र व्यावसायिक महत्त्व बोकेको नेपाली परम्परागत कला हो । शिल्पकला विभागका प्रमुख एवं प्राज्ञ बुद्धि गुरुङका अनुसार पछिल्लो समय थाङ्का र पौभा दुवै चित्रकलाले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउँदै आइरहेको छ । स्थानीय प्रतिभाको खोजी र प्रोत्साहनको ध्येयले कार्यशाला गरिएको उनले बताए ।


प्रतिष्ठानकै पूर्व प्राज्ञ निमा ग्याम्जो वल लामाले परम्परागत कलाका क्षेत्रमा पूर्वी एसियाका देश एकदमै अग्रपंक्तिमा रहेको र त्यसमा नेपालको इतिहासदेखि नै महत्त्वपूर्ण भूमिका रहँदै आएको बताए । ‘यो चित्रकला नेपाल, चीन, भारत र भुटानमा मात्र बन्छ,’ उनले भने, ‘तर यसको व्यापार भने अरू देशमा पनि हुन्छ ।’ ६ दिने कार्यशाला अवधिभर प्रत्येक दिन बेलुकी सहभागी कलाकारको ‘अनुभव र अनुभूति’ नामक गोष्ठी पनि भइरहेको छ । कार्यशालामा लोक चित्रकार उदयचरण श्रेष्ठ, पूर्णप्रसाद ह्योजु, मुक्तिसिंह थापा, शंकरकुमार जोशी, सुन्दर सिंख्वाल, मुक्तिसिंह थापा, न्हुच्छेकाजी बज्राचार्य, रत्नगोपाल सिंख्वाल, देवेन्द्र सिंख्वाल, रामप्रकाश श्रेष्ठ, भूमिराज चौलागाईं, पाल्साङमो लामालगायत कलाकारको सहभागिता रहेको छ ।


प्रकाशित : मंसिर ३, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?