२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

हाटबजारमा देउडा

रूपा गहतराज

(नेपालगन्ज) — बाँकेको बैजनाथ गाउँपालिका–४, बानियाँभारको पशु कृषि हाटबजार यसरी नै महिनाका दुई शनिबार देउडामय हुने गर्छ । मानिस लस्करै लाइन लाग्छन् । गोलो घेरामा मूलीले भट्याउँछन् । महिला र पुरुषले साथ दिएपछि सुरु हुन्छ देउडा नाच । 

हाटबजारमा देउडा

भोक लाग्या गुण खानु चना खानु, ममफली नखानु

बरु पैसा थोरै ल्याउनु रात बोजा नजानु

ओछ्याउने फुलेली थरो, ओढ्ने बरकिए

दुःख नमाने, शौक नलिए मेरा घरकिया ।


यसपटक उनीहरूले देउडामार्फत् कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत नेपाली भूभाग अतिक्रमणविरुद्ध देउडा गीतमार्फत् नै खबरदारी पनि गरे । देउडा मन पराउनेका लागि बानियाँभारमा शनिबार विशेष हुने गरेको छ । रारा, मुगु, जुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेतबाट तराई झरेकाहरू हरेक १५/१५ दिनमा शनिबार यसरी नै भेला हुन्छन् । कहिले मायाप्रेमका त कहिले राजनीति र संस्कृतिमाथि उनीहरू गीतमार्फत् वादविवाद गर्छन् । एक लाइनमा महिलाको समूह र अर्को समूहमा पुरुषको लाइन । स्थानीय देउडा कलाकारले त्यसको अगुवाइ गर्छन् । अनि, बानियाँभार गुन्जयमान हुन्छ ।


जुम्लाका विष्णुकान्त आचार्य देउडाका स्थानीय कलाकार हुन् । उनी गाउँछन् र ताल परे नाच्छन् पनि । उनी आफूलाई देउडा कलाकारभन्दा देउडाको पारखी भन्न रुचाउँछन् । ‘बाँकेमा हामीले नै देउडा सुरु गरेका हौं,’ उनले भने, ‘पहाही भेगको संस्कृति जोगाउन यसो गरेका हौं ।’ उनीहरूलाई यो हाटमेला देउडा सुन्ने सुनाउने थलो मात्रै होइन, आफन्त अनि इष्टमित्रसँग भेट गर्ने थलो पनि बनेको छ । ‘सबै आफ्नै काम र व्यवसायमा व्यस्त छन्,’ जुम्ला घर भई कोहलपुरमा बस्दै गरेका लंगेश सार्कीले भने, ‘शनिबार बिदाको दिन भएकाले सबैलाई अनुकूल हुने गरी जुराएका हौं ।’


‘देउडा हाम्रो संस्कृति, हाम्रो गौरव हो,’ देउडा हेर्न आइपुगेका जुम्लाका लक्ष्मीकान्त आचार्यले भने, ‘साथीभाइ भेटघाट गर्ने थलो भएको छ ।’ देउडा कलाकारलाई मात्र होइन, देउडा मन पराउनेको पनि आकर्षण हुने गरेको छ । देउडा भनेपछि हुरुक्कै हुने रभेना–३ की नन्दकली मल्ल हरेक शनिबार देउडा हेर्न छुटाउँदिनन् । मुगुमा एक गैरसरकारी संस्थामा कार्यरत उनी नेपालगन्ज आएको बेला देउडा स्थलमा पुग्छिन् । ‘देउडा सुन्दै सुनाउँदै हुर्क्यौं,’ उनले भनिन्, ‘अहिले देउडा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले खेल्छौं ।’ आफ्नो भेगको संस्कार बचाइराख्न पेसाकर्मी व्यवसायीले पनि साथ दिएका छन् । मेलामा व्यापारिक प्रयोजनले आउनेभन्दा पनि देउडा हेर्न आउने दर्शकको भीड लाग्ने गर्छ । जिल्लाका विभिन्न स्थानबाट सयौं मानिस देउडा हेर्न झुम्मिन्छन् । चप्परगौडी–१२ का प्रकाश शाहीले युवा पुस्तामा देउडाप्रतिको आकर्षण बढाउन तथा देउडा संस्कृतिलाई सुदूरपश्चिमको पहिचानका रूपमा स्थापित गर्न देउडाको आयोजना गरिएको बताए ।


उनको अनुभवमा देउडाले सुदूरपश्चिममा प्रचलित आफ्नो परम्परा, भेषभूषा र भाषा संस्कृतिको महत्त्व पनि बुझाएको छ । शनिबार पसल बन्द हुने भएकाले बैजनाथ–१ का गणेश विश्वकर्मा सुदूरपश्चिम संस्कृति सुन्न र हेर्न नियमित पुग्छन् । उनले बाँकेमा पहिलोपटक देउडा सुने । ‘कोहलपुर–नेपालगन्ज जाँदा बाटोमा नै बानियाँभार पर्छ,’ उनले भने, ‘यता देउडा भाका सुनेपछि नौलो लागेर हेर्न आएँ ।’ साविकको मध्य तथा सुदूरपश्चिममा मात्र देउडा नाचिन्छ । देउडा नाचलाई मनोरञ्जनका लागि भन्दा पनि शुभसाइतका रूपमा लिइने साहित्यकार तथा प्राज्ञ सभा सदस्य हरिप्रसाद तिमिल्सिना बताए । ‘यो सुदूरको पहिचानसँग मात्र जोडिएको छैन,’ उनले भने, ‘देशको राष्ट्रिय सम्पदा पनि हो ।’





प्रकाशित : मंसिर ३, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?