कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

“बम्बो स्टोरिज” उत्कृष्ट

काठमाडौँ — बंगलादेशको फिल्म ‘बम्बो स्टोरिज’ ले फिल्म साउथ एसियामा उत्कृष्ट फिल्म हुँदै रामबहादुर ट्रफी जितेको छ । पाटनस्थित यलमाया केन्द्रमा चार दिनदेखि जारी महोत्सवको अन्तिम दिन आइतबार सम्पन्न अवार्ड घोषणा समारोहमा सहिन डिल्ली रियाजको उक्त फिल्मले ट्रफीसहित दुई हजार डलर पाएको हो ।

“बम्बो स्टोरिज” उत्कृष्ट

घना जंगलमा बर्सेनि बाँस काटेर जीविकोपार्जन गर्नेको कथामा आधारित ‘बम्बो स्टोरिज’ ले कामको सिलसिलामा परिवारसँग पर्याप्त समय गुजार्न नपाएको पीडा पनि समानान्तर रूपमा पेस गरिएको छ । बाँस काट्न जंगल पसेका एक वृद्धले फिल्ममा भनेका छन्, ‘कुनै बेला त मैले महिला भनेको नै बिर्सिएको थिएँ ।’ लामो समय जंगलकै बास हुने भएकाले उनीहरूको समाज र परिवारसँग लामो समय विच्छेद हुने फिल्ममा देखाइएको छ । बाँस काट्ने र ओसार्ने पाँच सदस्यीय टोलीले झन्डै २५ हजार बाँस काटेर नदीमा बगाउँदै रातोदिन गरी तीन सय किलोमिटर टाढाको कठिन यात्रालाई फिल्मले पछ्याएको छ ।


‘ह्वेयर द माइन्ड इज फ्री...’ को थिममा जारी १२ औं फिल्म साउथ एसियामा भारतको ‘स्क्र्याचेज अन स्टोन’ रनर अप (दोस्रो) हुँदै एक हजार डलरसहितको पुरस्कार जित्यो । उक्त फिल्मलाई अमित महन्तीले निर्देशन गरेका हुन् । महोत्सवमा उत्कृष्ट डेब्यु फिल्मको ‘द तारेक मसुद’ अवार्ड ‘आफ्टर प्रेयर्स’ ले पायो । सिमोनी मेस्ट्रोनी निर्देशित भारत र इटालीको संयुक्त निर्माणमा बनेको एक घण्टा लामो उक्त फिल्मले काश्मिरको आशा–निराशा, प्रेम–पीडा, कविता र अमानवीयता पेस गरेको छ । यस फिल्मले पनि एक हजार डलर नै जित्यो ।


बालबालिकाका मुद्दामा निर्माण भएका मध्ये उत्कृष्टलाई प्रदान गरिने एक हजार डलरकै युनिसेफ अवार्ड ‘काबुल, सिटी इन द विन्ड’ ले पायो । अबुजार अमिनी निर्देशित उक्त फिल्ममा १२ वर्षीय अस्फिन र उसको भाइ बेन्जामिनले युद्ध क्षेत्रमा परिणत अफगानिस्तानको काबुलमा पढाइका लागि कसरी संघर्ष गरिरहेका छन् भन्ने देखाउन खोजेको छ । नेपालका आशिष लिम्बू र देवेन राईले बनाएको ‘द विन्टर ट्याप’ र भारतका ऐश्वर्या ग्रोवरले बनाएको ‘मेमोरिज अफ साइरा एन्ड सलिम’ ले पाँच सय डलरको उत्कृष्ट विद्यार्थी फिल्म संयुक्त रूपमा जिते । ‘द विन्टर ट्याप’ ले हिमाली भेगमा खानेपानीका लागि गरिएको संघर्ष पेस गरेको छ भने अर्को फिल्मले साम्प्रदायिक समूहले ध्वस्त पारिदिएको आफ्नो घरको स्मृति लिएर पुनः भेट्न जाँदाको यात्रा समेटेको छ ।


भारतीय कलाकार तथा फिल्ममेकर आयषा अब्राहम, श्रीलंकाली फिल्ममेकर, कलाकार शिवमोहन सुमथी र नेपाली पत्रकार तथा लेखक कुन्द दीक्षित सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलले उत्कृष्ट फिल्महरूको छनोट गरेको हो । ६३ गैरआख्यान फिल्महरूको प्रदर्शन रहेको महोत्सवमा तीन भारतीय फिल्मलाई जुरीले स्पेसल मेन्सन गरेका छन्, जसमा हेमन्तकुमार गुप्ताको ‘एन इन्जिनियर्ड ड्रिम’, जेसी अल्कको ‘पराया डग’ र सुप्रियो सेनको ‘स्विमिङ थ्रु द डार्कनेस’ छन् ।

प्रकाशित : मंसिर २, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?