शनिबारदेखि पाँचकन्या जात्रा

कान्तिपुर संवाददाता

नुवाकोट (घलेभञ्ज्याङ) — पञ्चकन्या गाउँपालिका-३, घलेगाउँमा शनिबारदेखि पाँचकन्या जात्रा सुरु हुँदै छ । घलेभञ्ज्याङदेखि करिब २ सय मिटर पूर्वोत्तर रहेको पञ्चकन्या मन्दिरमा हरेक वर्ष मार्ग कृष्ण चतुर्थी र पञ्चमीमा लाग्ने मेला शनिबार सुरु हुन लागेको हो ।

शनिबारदेखि पाँचकन्या जात्रा

मन्दिर क्षेत्रमा सरसफाई, सजावट, प्रचारप्रसार लगायत मेलाका सम्पूर्ण तयारी लगभग सकिएको पञ्चकन्या मेला व्यवस्थापन समितिले जनाएको छ ।

आइतबार सकिने मेलाको पहिलो दिन झाँक्री नाचका साथै राष्ट्रिय र स्थानीय कलाकारहरुको जमघटमा सांस्कृतिक साँझ आयोजना गरिएको छ । कार्यक्रममा रामजी खाँड, स्मृति गौतम लगायत गायक/गायिकाहरु सहभागी हुनेछन् ।

जात्रा आरम्भको दिन झाँक्रीद्वारा मन्दिरमा पूजाआजा, व्रतालुहरुले दियो र मादी (बत्ति) बाल्ने चलन छ । साँझ जगाएको मादी बिहान घलेभञ्ज्याङको पँधेरामा ल्याई सेलाइन्छ ।


पञ्चमीका दिन बिहान पाँचकन्या मन्दिर परिसरमै रहेको सातकन्या थानमा बलि चढाउने र अघिल्लो दिन मन्दिरमा पुगेका झाँक्रीहरु अपराह्न घर फर्किन्छन् ।


जात्रा हेर्न स्थानीयका साथै पञ्चकन्या गाउँपालिकाको कात्तिके, राउटार, कविलास, बैयागाउँ, जैसीगाउँ, फूर्केसल्ला, नेवारपानी, कुवापानी, छापथोक, थप्रेक, आरुखर्क, घ्याङस्वाँरा लगायत स्थानबाट मानिसहरु भेला हुन्छन् । त्यस्तै शिवपुरी गाउँपालिकाका सिलामे, जेब्राङ, घ्याङ, गारे, सुनखानी र काठमाडौंबाट समेत मेला भर्न पुग्छन् ।


पञ्चकन्या मन्दिरमा मूल पूजारी लालबहादुर तामाङ छन् । तामाङले पाँचकन्या थानलाई मानेमा स्वस्थ रहन र मनले चिताएको पूरा हुने जनविश्वास रहँदै आएको बताए । उक्त मन्दिरको मूल पुजारी तामाङ समुदायका मूल झाँक्री हुने गर्छन् ।

वर्षौंदेखि जात्रा लाग्ने पञ्चकन्या मन्दिरको उत्पतिबारे कुनै आधिकारिक तथ्य फेला नपरेको स्थानीयको भनाइ छ ।

प्रकाशित : कार्तिक २९, २०७६ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?