इन्दुस ब्लुजसँगै फिल्म साउथ एसिया

कान्तिपुर संवाददाता

(ललितपुर) — पाकिस्तानी लोकसंगीत र लोकसर्जकका बारेमा तयार पारिएको डकुमेन्ट्री फिल्म ‘इन्दुस ब्लुज’ को स्क्रिनिङसँगै बिहीबारदेखि पाटनस्थित यलमाया केन्द्रमा फिल्म साउथ एसिया सुरु भएको छ । गायक अमृत गुरुङले पौवा आर्टमा कोरिएको महोत्सवको पोस्टर सार्वजनिक गर्दै फेस्टिभलको औपचारिक उद्घाटन गरेका थिए । ‘ह्वेर द माइन्ड इज फ्री...’ स्लोगनसहित आइतबारसम्म चल्ने महोत्सवमा दक्षिण एसियाली ६३ फिल्म प्रदर्शन गरिनेछ । 

फिल्म साउथ एसियाका अध्यक्ष कनकमणि दीक्षितले स्वतन्त्रताका नाममा खुम्चिँदै गइरहेको दक्षिण एसिया र यस क्षेत्रका सर्जक सबैका लागि नेपाल र महोत्सव स्थल खुला थलो बन्न सक्ने अपेक्षा राखे । ‘हामीकहाँ पनि थोरैथोरै हस्तक्षेप नदेखिएको त हैन, तर हामी अझै पनि स्वतन्त्र छौं र दक्षिण एसियाकै लागि हामी स्वतन्त्र थलो बन्न सक्नेछौं । यस महोत्सवमा निर्धक्क छलफल गर्नेछौं, भेटघाट गर्नेछौं,’ दीक्षितले पछिल्लो समय नेपालमा डकुमेन्ट्री बन्ने क्रम घटेकोमा चिन्ता व्यक्त गर्दै थपे, ‘बरु द्वन्द्वको समयमा कलात्मक डकुमेन्ट्री थुप्रै बनेका थिए । तर अहिले बन्ने क्रम निकै घटेको छ । कारण के हो भन्ने मैले पनि थाहा पाउन सकेको छैन । सायद यो महोत्सव अवधीमा त्यो थाहा पाइनेछ ।’ उद्घाटन सत्रमा ‘इन्दुस ब्लुज’ का निर्देशक जावद सरिफ उपस्थित हुँदै फिल्म साउथ एसियाले आफूलाई ‘कनेक्ट’ गरेको धारणा राखे । ‘पाकिस्तानमा डकुमेन्ट्री बनाउने वातावरण छैन । बनाइहाले पनि सेन्सर गर्नुपर्ने अवस्था छ । मेरो यही फिल्मलाई पनि सेन्सर गर्न भनिएको छ, जुन मलाई स्वीकार्य छैन । हामीकहाँ वाक् स्वतन्त्रता छैन । तर आजै म यहाँ (काठमाडौं) आइपुगेको छु । डकुमेन्ट्री हेर्न पनि यति धेरै दर्शक देख्दा अचम्म लाग्यो,’ निर्देशक सरिफले भने ।

उद्घाटन मन्तव्यका क्रममा गायक अमृत गुरुङले अबका केही दिन महोत्सवले दक्षिण एसियाको साझापनमा भुलाउने धारणा राख्दै भने, ‘दक्षिण एसियाका रमाइला कथासँग रमाउने छौं । यहाँका दु:खसँग दु:खी हुनेछौं र एकअर्काका दु:खसँग आत्मसात् हुनेछौं ।’ उनले कला, धर्म र कर्मका अनुयायीहरूलाई बन्देज लगाउने अभ्यासको प्रयास संसारमा हुँदै आइरहेको जिकिर गर्दै थपे, ‘भू–राजनीति र परिवेशले हामीबीच सीमा कोरे पनि, सांस्कृतिक हिसाबले हाम्रो भाइचारमा विविधता ल्याए पनि मजबुत छ, यसलाई अझै मजबुत बनाउँदै लानुछ । हाम्रा लोकगीत र कथाहरूमा पाकिस्तानको लाहोर अटाएको छ, बर्माको मुग्लान, इस्टइन्डिया कम्पनीको सम्झना भएर कम्पनी माला झल्केको छ, ल्हासाको सुन झल्केको छ ।’

‘धर्मको नाममा, कर्मको नाममा र कलाको नाममा धेरै ठाउँमा धेरै चिजलाई बाँधेर राख्ने इतिहास साक्षी छ,’ गुरुङले भने, ‘चाहे त्यो कुनै वादबाट सृजित राजनैतिक सत्ता होस्, धार्मिक सत्ता होस्, चाहे विरासतबाट हस्तान्तरित सत्ता होस्, जब यी सत्तामा कला, जात, धर्म मर्मको सीमितता, बन्देजको गन्ध आउन थाल्छ, त्यो अधिनायकवादतर्फ दिशा उन्मुख हुन्छजस्तो मलाई लाग्छ । दुर्भाग्यवश आजको हाम्रो संसारमा त्यो दुर्गन्ध आइरहेको छ र विस्तारै फैलिरहेको छ । कला, संस्कृति र साहित्यमा कहिल्यै पनि यो गन्ध आउनु हुँदैन । यसमा हामी सजग रहनुपर्छ ।’

महोत्सवमा पाकिस्तानी फिल्मकर्मीका पाँच फिल्म प्रतिस्पर्धामा रहेका छन् । नेपालबाट केसाङ छेतेनको ‘द रियलिस्ट्स’, गोपाल शिवाकोटी र गोविन्द शिवाकोटीको ‘वी आर विथ डाक्टर केसी’ र जर्मनी र नेपालको संयुक्त निर्माण रहेको बेन्जामिन बेस्टको ‘ट्र्याप्ड इन कतार’ का डकुमेन्ट्री फिल्म रहेका छन् । त्यसबाहेक भारतका ३८ फिल्म, अफगानिस्तानका २, बंगलादेशको २, भुटानको १ र म्यान्मारको १ फिल्म प्रतिस्पर्धामा रहेका छन् । महोत्सवमा उत्कृष्ट फिल्मलाई रामबहादुर ट्रफीसहित दुई हजार डलर, द्वितीय हुनेलाई एक हजार डलर पाउने छन् भने डेब्यु फिल्म अवार्ड जित्नेले पनि एक हजार डलर, बालबालिकाको विषयमा बनेको उत्कृष्ट फिल्मलाई एक हजार डलरकै युनिसेफ अवार्ड र उत्कृष्ट विद्यार्थी फिल्मले पाँच सय डलर जित्नेछ ।




प्रकाशित : कार्तिक २९, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘लोकगीत लोकको’

कान्तिपुर संवाददाता

काठमाडौँ — लोकगीतमा म मौलिक विम्ब र सरलपन भेट्छु । दर्शन भेट्छु । लोकगीत र लोक लय सृजना गर्ने व्यक्ति प्राय: अज्ञात हुने रहेछन् । ती अज्ञात सर्जकले छोडेको नासोलाई हामी श्रुतिपरम्परामार्फत् सुन्दै आइरहेका छौं । लोकगीत कसले बनायो ? कहिले बनायो ? कसरी बनायो ? भन्ने कुरा लामो अध्ययनको विषय हुन सक्ला ।

तर हिजोआज कसैकसैले यो लोकगीत त मैले बनाएको, मेरो गीत, रेडियोमा मैले यति सालमा गाएको भन्ने कुरा गर्नुहुन्छ । म यसो सोच्छु, लोकगीत त संकलन हुँदैन र ? लोकगीत मेरै हो भनेर दाबी गर्नु कत्तिको जायज हो ? लोक संगीतमा काम गर्ने सर्जकहरूमा यो बहस हुनुपर्ने कुरा जस्तो लाग्छ । लोकको कुरा लोककै हो । आफ्नो बनाएर हुन्छ ?

मैले आफूले गाएका लोकगीत, भाकाहरू पनि कहिल्यै आफ्नो दाबी गरेको पनि छैन र गर्ने पनि छैन । लोकगीत भनेको लोकबाटै निस्केको हो, लोककै हुन्छ र लोकमै रहन्छ । प्राय: सबै देशमा लोक परम्परा कायमै छ । तर हामीकहाँ पछिल्लो समय लोकगीतहरू रेडियो, टीभी र युट्युबबाट बज्ने गीतहरूबाट प्रभावित हुन थालेको मैले पाएको छु ।

दुई पटक जुम्ला घुम्न जाँदा सबै रेडियोको (रेकर्डेड) गीत सुनाए । आफ्नो गीत गाउनुस् न भन्दा छैन । बजारबाट गएकाले मोबाइलमा डाउनलोड गरेर गीत लैजाने रहेछ, त्यही गीत अरूले पनि गाउन थालेछन् । त्यहाँका भाइबहिनीले अब मौलिक लोकगीत सुन्न देउडा नै कुर्नुपर्ने भएछ । दु:ख लाग्यो । अझै पनि नेपालका त्यस्ता दूरदराजका गाउँहरू छन्, जहाँ गीतहरू छन् र शुद्ध मन अनि कानहरू छन् । ती गीतहरूलाई अभिलेख गर्नुपर्ने हाम्रो काँधमा आएको छ ।


प्रकाशित : कार्तिक २९, २०७६ ०८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×