१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

“हामी कलाकारलाई सुन्छौं”

मधु शाही

(बाँके) — साथीले खुसुक्क उनको कानमा भनिन्, ‘राजेश हमाल आए ।’ सुन्नेबित्तिकै नारायणी कुमालका कान ठाडा भए । मनमा अनेक कौतूहल जागे– कस्ता देखिन्छन्, के लुगा लगाएका छन्, गोरा छन् कि काला ! एकै मिनेटमा नारायणीले साथीसँग थुप्रै जिज्ञासा राखिन् । उनीभन्दा अलि राम्ररी आँखा ठम्याउन सक्ने भएकीले साथी सुनपरी विकलाई राजेशको स्वरूप वर्णन गर्न सजिलो भयो । नारायणीले सुनाइन्, सुनपरीले महसुस गरिन् ।

“हामी कलाकारलाई सुन्छौं”

यी दुई भन्दा ठ्याम्मै आँखा नदेख्ने सावित्री खड्काले भने राजेशलाई सुनेरै आनन्द लिइन् । ‘हामी त कलाकारलाई सुन्छौं,’ उनले भनिन्, ‘आवाजबाटै मान्छेको हुलिया महसुस हुन्छ ।’


नेपालगन्जमा मंगलबार ‘सप्तरंग साहित्यिक यात्रा’ मा राजेशसँगै आएका अन्य कलाकारहरूलाई हेर्ने ठूलो भीड थियो । भीडमध्ये दृष्टिविहीन दर्शकअरू अरूभन्दा विशेष थिए । उनीहरूको रोजाइ, रमाइलो गर्ने तरिका र कार्यक्रमको महत्त्व फरक थियो । नेपालगन्जको मंगलप्रसाद स्कुलमा कक्षा ८ मा पढ्ने उनीहरू स्कुलको पोसाकसँगै किताबका झोला बोकेर कन्सर्टमा आएका थिए । दर्शकको अघिल्लो पंक्तिमा उभिँदै उनीहरूले ठेलमठेलमा सांगीतिक कार्यक्रम सुने । कुन कलाकार स्टेजमा आयो भन्ने उद्घोषकबाट मात्रै थाहा पाउँथे ।


अरू दर्शक मञ्चमा कलाकार देखेपछि चिच्याउँथे भने उनीहरू उद्घोषकले भनेपछि मात्रै उफ्रिन्थे ।


फ्यानसँग हमाल । तस्बिर : मधु/कान्तिपुर


कलाकारको आवाज सुनेरै फ्यान भएका यी दृष्टिविहीन दर्शकलाई प्राय: कन्सर्ट छुटाउन मन लाग्दैन । १५ वर्षीया नारायणीले राजेश हमालले चलाउने ‘को बन्छ करोडपति’ कार्यक्रम सुनेर फ्यान भएकी हुन् । सुनेकै आधारमा उनलाई हमाल निकै पाका र कुशल कलाकार हुनुपर्छ भन्ने लाग्यो रे । अभिनय भने अहिलेसम्म सुन्न पाएकी छैनन् । ‘निकै बोल्ड आवाज छ उहाँको,’ उनी अनुमान लगाउँदै भन्छिन्, ‘त्यसैले अग्लो हुनुहन्छ होला ।’ गायिका मेलिना राई, गायक सुगम पोखरेल, प्रकाश सपुत, हिमाल सागर, रवि ओड र हास्य अभिनेता जितु नेपालको आवाजै सुनेर उनीहरूले कन्सर्टको भरपुर मज्जा लिए । दृश्य हुनु र नहुनुले उनीहरूलाई खासै फरक पारेको थिएन । एउटा हातमा मोबाइल तेर्साएर कन्सर्टको आवाजसमेत रेकर्ड गरेकी सावित्रीले राजेशलाई भेटेको प्रमाण जुटाउँदै थिइन् । ‘साथीले पत्याउँदैनन्,’ उनले भनिन्, ‘यही रेकर्ड सुनाउँछु ।’ धेरैथरीका फ्यान प्रत्यक्ष भेट्न पाउँदा कन्सर्ट विशेष लाग्ने राजेशले बताए । उनी नेपालगन्जमा पटक–पटक आएका छन् । पछिल्लो समय जेनेरेसन ग्यापले गर्दा युवा पुस्तालाई चिनाउन आफू एक्टिभ हुनुपर्ने उनले सुनाए । ‘म कलाकार हुँ, त्यसैले हरेक जेनेरेसनसँग घुलमिल हुनुपर्छ,’ उनले भने, ‘कन्सर्टमा कल्पना नै नगरेका फ्यान भेट्दा अझै ऊर्जा थपिन्छ ।’ कन्सर्टमा उनी गायक, गायिकाको गीतमा खुलेर नाचे । नेपालगन्जमा पत्नी मधुकै लागि सपिङ गर्ने उनको योजना सुनाए । ‘किनमेलमा खासै चासो छैन,’ उनले भने, ‘तर, मधु (पत्नी) सँग जोगिन पनि केही न केही किन्नै पर्छ ।’


गायक प्रकाश सपुतको ‘गलबन्दी च्यातियो...’, गीतमा राजेश नाचेको देखेर दर्शक उत्साहित भएका थिए । ग्रिस्म ब्रोडकास्टिङ र समुदाय प्रहरीले गरेको गरेको कन्सर्टको मुख्य उद्देश्य समाजमा शान्ति, सद्भाव र पर्यटन प्रवर्द्धन गर्नु थियो । सातवटै प्रदेशमा सात कलाकारले सद्भावका रंग छर्न सांगीतिक कार्यक्रम गरिएको हो । यद्यपि प्रस्तुतिमा भने उद्देश्यअनुरूप सप्तरंगी भाव कमै झल्किएको थियो । सातवटै प्रदेशको सांगीतिक र सांस्कृतिक रंग कन्सर्टमा देखिँदैन थियो । बरू, सात कलाकारले आ–आफ्नै शैलीका कामको प्रचार गर्न भने भ्याए ।


प्रदेश ३ देखि सुरु भएको सांगीतिक कार्यक्रम प्रदेश १ र प्रदेश २ हुँदै प्रदेश ५ को नेपालगन्जमा आइपुगेको हो । सुगमले ‘भन्छु, आज मनका कुरा...,’ ‘तिमी रोएको पल...’ सुनाए । प्रकाशले राष्ट्रियता झल्काउने गीत, ‘टल टल टल्किने ऐना हाम्रो नेपालजस्तो त कहीं छैन...,’ बाट सुरु गरेर लोक दोहोरी ब्याटलसम्म गाउन भ्याए । मेलिनाले ‘रातो टीका निधारमा...,’ ‘गोजीमा दाम छैन...,’ ‘कुटुमा कुटु...,’ लगायत फिल्मी गीत गाइन् । हिमाल सागर गीतमा भन्दा प्रस्तुतिमा स्टाइलिस देखिन्थे ।




प्रकाशित : कार्तिक २८, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?