चित्रकारको फरक उडान

सुशीला तामा‌ङ

काठमाडौँ — कुनै समय काठ, माटो या तामाको माना–पाथी चल्तीमा थिए । समयले फड्को मार्‍यो । गाउँघरतिर पनि अब डिजिटल तुलोको देख्न सकिन्छ । चित्रकार सुशीला सिंह भने माना, कुरुवा र पाथीकै पक्षमा छन् । बरु उनी यी परम्परत वस्तुलाई परिमार्जन गर्न चाहिन्छन् । उनको यस्तै कला देख्न सकिन्छ यतिबेला राजधानीको लाजिम्पाटस्थित काठमाडौं आर्ट ग्यालरीमा । उनले माना र कुरुवालाई मात्र हैन, चिया पिउने कपसमेत माटोबाटै बनाएर त्यसमा कला भरेका छन्, जसलाई सेरामिक आर्ट भनिन्छ । 

यसरी माटोमा कोरिएका चित्रकलामा भने धार्मिक तथा सांस्कृतिक पक्षको प्रधानता पाइन्छ । ‘चाइना क्ले’, ‘ग्रक’ र ‘बल क्ले’ बाट बनाइएका माटोका कप, माना र कुरुवामा प्राय: हिन्दु मन्दिरका चित्रहरू छन् । रोचक भने उनले यी चित्रकला प्रदर्शनीको नाम दिएकी छन्– उडान । ‘मन्दिरहरू परापूर्वकालदेखि नै एकै ठाउँमा छन्’ उनी कल्पना गर्दै भन्छिन्, ‘यी सम्पदा पनि सजीव मानवजस्तै भए कति उड्न मन लाग्थ्यो होला, कता–कता चहार्दै हिँड्थे होलान् । यही सोचेर उडान शीर्षक जुराएकी हुँ ।’ नाम मात्रै हैन, कलाकर्म पनि उस्तै गरेकी छन् उनले । सबै चित्र पखेटा हालेझैं देखिन्छन् । कुनै कुनै त नागबेली आकारमा आकाशतिर उठान भर्न लागेझैं देखिन्छ । चित्रहरूमा भने कालो र सुन्तला रंगका रेखाहरू छन् । उनले नेवार समुदायमा सानैदेखि लगाउँदै आएको रंगलाई सांस्कृतिक विम्बका रूपमा यी रेखा उतारेकी हुन् ।

परम्परागत रूपमा नेपाली भान्सामा प्रयोग हुँदै आएका वस्तुहरू लोप हुने अवस्थामा पुगेकाले उनले कप र मानालाई आधार बनाएको खुलाइन् । १० वटा चित्रकलालाई भने कागजमा पनि उतारेकी छन् । कागज र क्यानभासबाटै उनले चित्रकलाको सुरुवात गरेको भए पनि माटोको महिमालाई बुΣदै तीन वर्षअघिदेखि उनी सेरामिक आर्टतिर लागेकी हुन् । ‘हामीले भौतिक रूपमा जेजति वस्तु उपयोग गरे पनि यी सबैको प्राकृतिक स्रोत माटो नै हो,’ उनी भन्छिन्, ‘माटोसित जोडिएको हाम्रो सम्बन्ध कहिल्यै भुल्नु हुन्न ।’ यो उनको तेस्रो एकल कला प्रदर्शनी हो ।

यसरी बन्छ सेरामिक आर्ट
क्यानभासमा जस्तै माटोबाट चित्रकला बनाउन त्यति सहज नभएको सिंहको अनुभव छ । यो अलिकति ढिला प्रोसेस पनि हो । उनका अनुसार यसका लागि करिब १०/१५ दिन माटोलाई घाममा सुकाउनुपर्छ । सुकेका माटोलाई मुसेर ८ सय डिग्री तापक्रमसहित आगोमा १२ घन्टा पोलेपछि बल्ल चित्र कोर्न लायक हुन्छ । तयारी अवस्थामा रहेको माटोलाई सेरामिक रंगले चित्र स्केच गरिसकेपछि त्यसलाई सिसाको झोलमा डुबाउँदै सफा गर्नुपर्छ । ‘यसपछि चित्रलाई फेरि १ हजार डिग्रीभन्दा बढी तापक्रममा तीन/चार घन्टासम्म पोलेपछि सिसा पग्लेर चित्र तयार हुन्छ,’ उनी भन्छिन्, ‘यस्तो प्रक्रियामा कुनै चित्र फुटेर पनि खेर जान पनि सक्छन् । चित्र तयार भएपछि रंगमा समेत परिवर्तन हुने भएकाले नबनेसम्म मनमा एक प्रकारको खुल्दुली र उत्साह दुवै हुन्छ ।’

नेपाली प्रचलन
कोरिया, जापानदेखि चीनसम्म सेरामिक आर्टको गौरवशाली इतिहास छ । उनीहरूले आधुनिक कला बजारमा सेरामिकलाई उत्तिकै प्रवर्द्धन गरिरहेका छन् । नेपालमा भने माटोलाई प्रयोग गर्दै विभिन्न कलाकृति तयार पार्ने जस कुमाल समुदायलाई जान्छ । माटोलाई विभिन्न आकृति दिने कला कुमाल समुदायको परम्परागत पेसा नै हो । ‘नेपाली कलाको इतिहास खोतल्ने हो भने सम्भवत: कुमाल मसुदाय नै माटोको कला विकास गर्ने पहिलो कलाकार हुन्,’ सेरामिक आर्टका अनुभवी चित्रकार गोपाल कलाप्रेमी भन्छन् । उनका अनुसार पछि चित्रकारले यसलाई सेरामिक आर्टका रूपमा अगाडि ल्याएका छन् । माटोको कला विकास भए पनि यसैमा चित्र कोर्न कार्य भनेपछि मात्रै सुरु भएको हो । झन्डै साढे तीन दशकको उनको अनुभवमा नेपालमा हातको औंलामा गन्न सकिने मात्रै सेरामिक चित्रकार मात्र छन् ।

कलाप्रेमीले यो विधालाई अगाडि बढाउन चित्र पोल्ने ओभनसमेत घरैमा राखेका छन् । चित्रकार सिंहले पनि कलाप्रेमीसँग सिक्दै उनकै ओभनमा चित्र तयार पारेकी थिइन् । आधुनिक र परम्परागत दुवैमा नेपाली चित्रकलाको राम्रै प्रवर्द्धन भइरहेको भए पनि सेरामिक आर्टमा खासै काम हुन नसकेको यी दुवैको दु:खेसो छ । ‘यो थ्री डी चित्रकला हो,’ कलाप्रेमी भन्छन्, ‘चित्रका लागि सामान पाउन नै कठिन छ ।’ उनका अनुसार यसमा प्रयोग गरिने रंग, माटो र अन्य सामग्री भारतबाट ल्याउनुपर्ने बाध्यता छ । देशभित्रै चित्रका लागि माटो भए पनि उत्खनन् हुन सकेको छैन ।

चित्रकार सिंहले पनि प्रदर्शनीमा राखिएका कलाकृतिका लागि भारतबाट नै माटो ल्याएको बताइन् । बढी शुल्क पर्ने भएकोले चित्र तयार पार्न पनि उत्तिकै सकस रहेको उनको अनुभव छ । सेरामिक महत्त्वबारे चेनताको पनि अभाव देख्छन् चित्रकार कलाप्रेमी । ‘सेरामिक कलाबारे मान्छेमा शिक्षा जागृत हुने हो भने यसको विकास सम्भव छ,’ उनी भन्छन्, ‘अन्य चित्रको तुलनामा यसको आयु कैयौं गुणा लामो हुने भएकाले गुणात्मक, मौलिक र परम्परागत माटो कलाको बचाउका लागि पनि यसलाई अगाडि लैजानुपर्छ ।’

चित्रहरू तयार पारेकी छन् । सम्भवत: माटो कलालाई नै निरन्तरता दिई एकल प्रदर्शनी गरिरहेकी उनी पहिलो चित्रकार रहेको उनले बताइन् । माटोबाट बन्ने सेरामिक चित्रकलामा उनी परम्परा, मौलिकता र संस्कृतिलाई खोतलिरहेकी छन् । यो उनको तेस्रो एकल प्रदर्शनी हो ।


प्रकाशित : कार्तिक २८, २०७६ ०९:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पर्यटक तान्न यती

सुशीला तामा‌ङ

काठमाडौँ — रहस्यमयी हिममानव मानिन्छ यतीलाई । अहिलेसम्म किम्बदन्तीकै रूपमा रहेको यतीसित ठमेलस्थित सातघुम्ती चोकैमा तपाईंको पनि भेट हुन सक्छ । साँच्चिकै हैन, मूर्तिकलासित । ठमेलस्थित सातघुम्ती चोकैमा चित्रकार मुक्तिसिंह थापाले तयार पारेका यतीको कलाकृति निकै रोचक लाग्छ । कलाकृति हेर्न स्वदेशीदेखि पर्यटकसम्म झुम्मिरहेका छन् । 

नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने उद्देश्यले चित्रकार थापाले कलाकृतिमा यतीको अस्तित्व प्रस्तुत गरेका हुन् । उनीसँगै किरण मानन्धर, लोक चित्रकार, एससी सुमन, समुद्रमानसिंह श्रेष्ठ, विधाता केसी, आङछिरिङ शेर्पालगायतका चित्रकारले पनि यतीलाई नै उतारेका छन् । उनीहरूले आङछिरिङ शेर्पाको डिजाइनमा मूर्तिकार विजय महर्जनले तयार पारेको डमीमा चित्र भरेका छन् ।

एमक्युब ग्यालरीका क्युरेटर तथा कलाकार मनीषलाल श्रेष्ठ र ठमेलस्थित दलाई ल आर्ट बुटिकको निर्देशक प्रेमप्रभात गुरुङको पहलमा यतिबेला १ सय ६ चित्रकारले यतीलाई नै मुख्य विषय बनाएर काम गरिरहेका छन् । यीमध्ये सातवटा तयार भइसकेका छन् । मूर्तिमा चित्र कोरिसकेपछि पर्यटक आवातजावत गर्ने स्थानहरूमा राखिने मनीषले बताए ।

हाल तयार भइसकेका मूर्ति ठमेलस्थित दलाई ल आर्ट बुटिक, सुन्धारास्थित सिभिल मल, लैनचौरस्थित केशर महल परिसरमा राखिएका छन् । चित्रकार सुमनले यतीमा मिथिला शैलीमा रुखलाई विम्ब बनाउँदै पशुपति र रामजानकीजस्ता मन्दिरलाई उतारेका छन् । नीलो पृष्ठभूमिमा देखाइएको उनको यती कलामा माथितिर चरा, रुख र तलतिर मन्दिर निकै सुन्दर देखिन्छन् । महर्जनकै मूर्तिमा कोरिएको उनको चित्रले यतीको चिनारीसँगै नेपाललाई धार्मिक तथा सांस्कृतिक पक्षलाई खुलाउँछ ।

त्यस्तै चित्रकार समुद्रमानले नीलो पृष्ठमूमिमै हिमाल र यतीको सम्बन्धलाई खोतल्ने प्रयास गरेका छन् । उनले यतीको अग्रभागमा हिमाल देखाएका छन् र पछाडितिर हिमालकै काखमा गुफामा बसिरहेको यती उतारेका छन् ।

परम्परागत चित्रको प्रभाव झल्काउन उनले यतीलाई दाह्रीसमेत हालिदिएका छन् । ‘यती भन्नेबित्तिकै हिमाली भेगमा रहेको जनावरको झल्को आउँछ,’ उनी भन्छन्, ‘चित्रले यती र हिमालको सम्बन्ध चित्रण गर्छ ।’ लोक चित्रकारले पनि परम्परागत विधामै चित्र उतारेका छन् । उनका चित्रमा पनि सांस्कृतिक र धार्मिक पक्ष झल्किन्छ । निधारमा रातो र सुन्तला रङको टीका लगाएको र गलामा रातै माला लगाएको चित्र अंकित उनको कलाले साँच्चिकै पर्यटक लोभ्याउँछ । उनको चित्रमा यतीको शरीरभरि नाग, लक्ष्मीजस्ता देवदेवी, नेपालको झन्डालगायत नेपाल दर्साउने चित्र पनि छन् । ‘नेपाल चिनाउने यिनै हाम्रा मौलिक सांस्कृतिक पक्ष नै त हुन्,’ उनले दाबी गरे ।

किरण मानन्धरले भने पाटनढोकास्थित एम क्युबमा धमाधम यतीको मूर्तिमाथि चित्र कोर्दै छन् । उनले मूर्तिमा तोरण टाँस्दै अर्ध अमूर्त शैलीमा नारी मुहारलाई उतारेका छन् । ‘यतीलाई हिमाली बौद्ध धर्म र संस्कृतिसँग जोड्ने प्रयास गरेको हुँ,’ उनले भने । मनीषका अनुसार एउटा चित्रसहित यती मूर्तिको मूल्य पाँच लाख रुपैयाँसम्म हुनेछ ।

प्रकाशित : कार्तिक २७, २०७६ ०८:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×