१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बेइजिङमा गुन्जियो सुरसुधा

लक्ष्मी लम्साल

(बेइजिङ) — चर्चित नेपाली लोक सांगीतिक ब्यान्ड सुरसुधा बुधबार चीनको राजधानी बेइजिङस्थित एउटा युनिभर्सिटीमा गुन्जिएको छ । 

बेइजिङमा गुन्जियो सुरसुधा

चीनको सबैभन्दा पुरानो पेकिङ युनिभर्सिटीअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र अन्य विभिन्न सांस्कृतिक संघसंस्थाले गरेको ‘हिमालपारि : चीन–नेपाल संस्कृति तथा कला आदानप्रदान साँझ’ मा सुर सुधाले मौलिक प्रस्तुति दिएको हो । बाँसुरीमा प्रेम राना औतारी, तबलामा सुरेन्द्र श्रेष्ठ, सितारमा राजीव श्रेष्ठ र गितारमा विकास सुनारले गरेको प्रस्तुतिमा चिनियाँहरू लठ्ठ परेका थिए ।


प्रस्तुतिमा नेपाली मंगलधुनका साथै विभिन्न मौलिक नेपाली लोकगीतका धुनहरू समावेश थिए । चिनियाँ दर्शकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपाली धुन, नेपाली नृत्य र नेपाली लोकगीतले उल्लासमय वातावरण निर्माण गरेको थियो । सन् १९९१ मा खुलेको सुर सुधाले गत असोजको अन्तिम साता चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा पनि सांगीतिक धुन पस्किएको थियो । नेपाल चीन सांस्कृतिक आदानप्रदानको ध्येयले आयोजित कार्यक्रममा चिनियाँ कलाकारले पनि प्रस्तुति दिए । साथै परम्परागत चिनियाँ चिया तयार पार्ने विधि र चिनियाँ वाद्यवादनको कला पनि प्रस्तुत गरिएको थियो ।


चिनियाँ तथा विदेशी परम्परागत संस्कृति प्रचारप्रसारमा कार्यरत बेइजिङ भ्यु इनसाइट कन्सल्टिङले यस्ता कार्यक्रमले दुई देशलाई भावनात्मक रूपमा बलियो बनाउने बतायो । सो संस्थाले विश्वका अन्य देशहरूसँग पनि मिलेर यस्ता सांस्कृतिक आदानप्रदानका कार्यक्रम गर्दै आएको छ । यसपटक नेपाललाई छनोट गर्नुको कारण ‘बेल्ट एन्ड रोड (बीआरआई)’ को दक्षिण एसिया हबका लागि नेपाल नै प्रस्थान बिन्दु भएकाले हो ।


यसअघि मंगलबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत कार्यक्रममा सुरसुधाका तबला वादक सुरेन्द्र श्रेष्ठले चिनियाँ सहरहरूमा यसअघि पनि प्रस्तुति दिएको बताए । उनले ‘विशाल चीनमा कहिले कहाँ कहिले कहाँ पुगेर नेपाली संस्कृति प्रवर्द्धन गरिरहेको’ सुनाए । चीनको क्वाङ्चौमा भएको एउटा कार्यक्रममा भाग लिन आएका सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशमान सिंह रावत पनि दूतावासको कार्यक्रममा सहभागी भएका थिए । पेकिङ युनिभर्सिटीको कार्यक्रमपछि सुरसुधाको टोलीले चीनका अन्य सहरमा गएर नेपाली संगीतको प्रचारप्रसार गर्ने योजना छ । सांगीतिक प्रस्तुतिकै क्रममा नेपालको पर्यटन प्रवर्द्धन गर्ने ध्येयले भिडियो पनि देखाइएको थियो ।




प्रकाशित : कार्तिक २८, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?