फिल्म साउथ एसिया : प्राथमिकतामा पाकिस्तान

कान्तिपुर संवाददाता

काठमाडौँ — २२ वर्षअघि सुरु फिल्म साउथ एसियाको १२ औं संस्करण बिहीबारदेखि चार दिनसम्म पाटनढोकास्थित यलमाया केन्द्रमा हुने भएको छ । रवीन्द्रनाथ टैगोरको कविता ‘ह्वेयर द माइन्ड इज फ्री’ बाट प्रभावित हुँदै सोही थिममा सुरु हुने यस पटकको फेस्टिभलमा ६४ फिल्म प्रदर्शनीमा राखिने छन् । 

फिल्म साउथ एसिया : प्राथमिकतामा पाकिस्तान

‘फेस्टिभलको यस थिमले पत्रकारिता, साहित्य र फिल्म निर्माणको माध्यमबाट अभिव्यक्ति स्वतन्त्रताको वकालतका लागि जोड दिन्छ,’ फिल्म साउथ एसियाका अध्यक्ष कनकमणि दीक्षितले महोत्सवबारे जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा भने, ‘आजको दिनमा दक्षिण एसियाभर सोच सायद स्वतन्त्र होला तर हामी सबैले उकुसमुकुसको अनुभव बढी गरिरहेका छौं । हामी अरूका लागि उदाहरणीय बन्न पनि नेपाली समाजलाई खुल्ला बनाउनु हामी सबैको कर्तव्य हो ।’ महोत्सव निर्देशक मितु वर्माले यसपटकको महोत्सव दक्षिण एसियाका अरू फिल्मकर्मीका लागि नेपाल स्वतन्त्र भूमि बन्न सक्ने जिकिर गर्दै थपिन्, ‘जहाँ दक्षिण एसियाभरका फिल्ममेकर बिना रोकतोक आएर स्वतन्त्रपूर्वक आपसमा भेटघाट र बातचित मार्न सकून् ।’ यस्तो मौका पछिल्ला समय अन्य दक्षिण एसियाली मुलुकमा घट्दै गइरहेको पनि उनले बताइन् । ‘यसपटकको महोत्सवले मानव अधिकार, महिला अधिकार र जनावर अधिकारका बारेमा केन्द्रित रहँदै खास गरी वाक् स्वतन्त्रताको वकालत गर्नेछ,’ फिल्म साउथ एसियाका सहायक निर्देशक आलोक अधिकारीले कान्तिपुरसँग भने, ‘पछिल्लो समय भारतमै पनि वाक् स्वतन्त्रता घट्दै गइरहेको छ ।


नेपालमा पनि खुम्चिँदै गएको महसुस गरिएको छ । यस्तो अवस्थामा १२ औं फिल्म साउथ एसिया स्वतन्त्रता अभिव्यक्तिको साझा थलो बन्ने अपेक्षा गरेका छौं ।’ अधिकारीले राजनैनिक कारण पाकिस्तानी र भारतीय फिल्मकर्मीबीच दूरी बढ्दै गइरहेको अवस्थामा दक्षिण एसियाली फिल्मकर्मी सबैलाई एकै ठाउँमा भेटाउने र सम्बन्ध विस्तारका लागि महोत्सव सहायक बन्ने बताए ।


पाकिस्तानी फिल्मको कम सहभागिता रहँदै आएको फिल्म साउथ एसियामा यसपटक भने महोत्सवको उद्घाटन नै जवाद सरिफको फिल्म ‘इनडुस ब्लुज’ बाट सरिफकै उपस्थितिमा हुने भएको छ । पाकिस्तानमा हराउँदै गएको लोक संगीत र यसलाई बजाउने कलाकारका बारेमा उक्त फिल्म केन्द्रित छ । ‘दक्षिण एसियाका अरू देशमा जति पनि स्वतन्त्रता पाकिस्तानमा छैन । त्यसैले पनि यसपालि पाकिस्तानलाई महोत्सवले विशेष महत्त्वमा राखेको छ,’ अधिकारीले खुलाए ।


महोत्सवमा मुख्य खण्डअन्तर्गत ५२ फिल्म र विद्यार्थीले बनाएका १२ फिल्म रहेका छन् । जसमा पाकिस्तानी फिल्मकर्मीका पाँच फिल्म प्रतिस्पर्धामा रहेका छन् । नेपालबाट केसाङ छेतेनको ‘द रियलिस्ट्स’, गोपाल शिवाकोटी र गोविन्द शिवाकोटीको ‘वी आर विथ डाक्टर केसी’ र जर्मनी र नेपालको संयुक्त निर्माण रहेको बेन्जामिन बेस्टको ‘ट्रयाप्ड इन कतार’ का डकुमेन्ट्री फिल्म रहेका छन् । त्यसबाहेक भारतका ३८ फिल्म, अफगानिस्तानका २, बंगलादेशको २, भुटानको १ र म्यान्मारको १ फिल्म प्रतिस्पर्धामा रहेका छन् । महोत्सवमा उत्कृष्ट फिल्मलाई रामबहादुर ट्रफीसहित दुई हजार डलर, द्वितीय हुनेलाई एक हजार डलर पाउने छन् भने डेब्यु फिल्म अवार्ड जित्नेले पनि एक हजार डलर, बालबालिकाको विषयमा बनेको उत्कृष्ट फिल्मलाई एक हजार डलरकै युनिसेफ अवार्ड र उत्कृष्ट विद्यार्थी फिल्मले पाँच सय डलर जित्ने छ ।


पछिल्लो समय नेपालमा भने डकुमेन्ट्री निर्माणको गति घट्दै गएकोमा महोत्सव सहायक निर्देशक अधिकारीले निराशा जनाए । भने, ‘डकुमेन्ट्री निर्माणको गुणस्तरमा त केही प्रगति भएको छ । तर एनजीओ/आईएनजीओका लागि बनाइएका डकुमेन्ट्री बढी हुन थाले । सायद डकुमेन्ट्री निर्माणका लागि पर्याप्त लगानी नभएर पनि राम्रा नबनेका हुन सक्छन् ।’ दक्षिण एसियाका मुद्दा र विषय समेटिएका वा यहाँका फिल्मकर्मीले बनाएका फिल्म समेटिने फिल्म साउथ एसियामा यसपटक २६ सय फिल्मले अनलाइन दर्ता गराएका थिए । जसबाट आयोजक टिमले एक सय ४० फिल्म छनोट गर्दै महोत्सवका लागि ६४ फिल्मको अन्तिम छनोट गरेको थियो । महोत्सवलाई हिमाल साउथ एसिया म्यागाजिनका पत्रकारहरूको समूहले आयोजना गर्दै आएको छ ।

प्रकाशित : कार्तिक २७, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?