लता मंगेशकर अस्वस्थ

कान्तिपुर संवाददाता

काठमाडौँ — कोकिल स्वरकी गायिका लता मंगेशकर श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार मध्याह्न अचानक अस्पताल भर्ना भएकी छन् । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको भेन्टिलेटरमा राखेर गायिका मंगेशकरको उपचार भइरहेको छ । अस्पताल स्रोतले गायिकामा निमोनिया र फोक्सोमा इन्फेक्सन देखिएकोले अवस्था गम्भीर रहेको तर पछिल्लो समय अवस्थामा केही सुधार देखिएको बताएको छ ।

डेढ महिनाअघि मात्रै ९० औं जन्मदिन मनाएकी लताले १३ वर्षको उमेरदेखि निरन्तर गाउँदै आएकी छन् । हजारौं गीत रेकर्ड गराइसकेकी लताले सुरुवातमा अभिनय पनि गरेकी थिइन् । बुबा पण्डित दीनानाथबाटै संगीतको पहिलो शिक्षा लिएकी लताले पाँच वर्षकै उमेरमा बुबाको एक मराठी सांगीतिक नाटकमा नायिकाको भूमिका निर्वाह गरेकी थिइन् । लताले पहिलो पटक मराठी फिल्म ‘किती हसल’ मा गाएकी थिइन्, तर पछि फिल्मको अन्तिम सम्पादनमा उक्त गीत नै हटाइएको थियो ।

सन् १९४५ मा मुम्बई आएपछि लताले उस्ताद अमनअली खानसँग हिन्दुस्तानी क्लासिकल म्युजिकको शिक्षा लिइन् । संगीतकार वसन्त देसाईकै संगीत संयोजनमा लताले पहिलो पटक फिल्म ‘आप की सेवा मैं’ मा गाउन पाएकी थिइन् । सांगीतिक क्षेत्रमा भने उनका मेन्टर गुलाम हैदर हुन् । हैदरले नै बलिउडका फिल्म निर्मातासँग चिनाउनुका साथै गवाउने काम पनि गरेका थिए ।

हैदरले नै एकपटक निर्माता सशाधर मुखर्जी कहाँ फिल्म ‘सहीद’ मा गवाउन लगेका थिए । तर मुखर्जीले १९ वर्षीया लताको स्वर निकै पातलो भनेर फर्काएका थिए । हैदरले भने लताको गायन क्षमतामा विश्वास गुमाएनन् । हैदरले नै लतालाई ‘मजबुर’ फिल्मका लागि ‘दिल मेरा तोडा...’ मा महत्त्वपूर्ण ब्रेक दिलाए । त्यसताक उक्त फिल्म त हिट भयो नै, लताको करिअरका लागि पनि ब्रेकथ्रु बनिदियो । आफ्नो ८४ औं जन्मदिनमा दिएको एक अन्तरवार्तामा समेत लताले गुलाम हैदरलाई आफ्नो गडफादर भनेकी थिइन् । सुरुवाती दिनमा लतालाई त्यसताककी चर्चित गायिका नूर जहाँको नक्कल गर्ने आरोप लागेको थियो । तर पछि लताले गायनमा आफ्नै शैली विकास गरिन् । सन् १९७४ मा द गिनिज बुक अफ रेकर्डस्ले लतालाई सन् १९४८ देखि १९७४ भित्र २० भारतीय भाषाहरूमा इतिहासमै सर्वाधिक २५ हजारभन्दा बढी गीत रेकर्ड गराएको उल्लेख गरेको थियो । पछि उक्त रेकर्डमा अर्का गायक मोहम्मद रफीले आफूले २८ हजारभन्दा बढी गीत गाएको दाबीसहित विरोध जनाए ।

सन् १९९१ को संस्करणमा गिनिज बुकबाट उक्त रेकर्डमा धेरै विवाद आएपछि लताको नाम बिनासूचना हट्यो । सन् २०११ मा आएर गिनिजले सर्वाधिक गीत रेकर्डमा सूचीमा लताकै बहिनी आशा भोसलेलाई ११ हजारभन्दा बढी गीत रेकर्ड गराएको भन्दै राख्यो ।

लतालाई सन् १९६२ मा अज्ञात व्यक्तिले मार्ने उद्देश्यले स्लो–पोइजन दिएको थियो । तीन दिनसम्म उनी जीवन–मृत्युको दोसाँधमा थिइन् । १० औं दिनमा बल्ल राम्रोसँग होस् आएको थियो । यस घटनामा उनकै भान्से संलग्न भएको हुन सक्ने आशंका तब भयो जब लता अस्पतालबाट आइन्, ऊ बिनासूचना एकाएक गायब भयो । लताले थुप्रै संगीतकारका गीत गाइसकेकी छन् भने अनेकौं गायकसँग युगल गायन पनि दिएकी छन् ।

मुकेश, मन्ना डे, महेन्द्र कपुर, मोहम्मद रफी, किशोरकुमारसँग उनको गायन जोडी खुब जमेको मानिन्थ्यो भने पछिल्ला समय उदितनारायण झा, सोनु निगमसँग पनि फिल्मी गीत गाएकी छन् । मोहम्मद रफीसँग रोयल्टीका सवालमा विवाद आएपछि केही वर्ष एकअर्काले युगल गायनका लागि अस्वीकार गरेका थिए ।

लताले भारतमा दिइने सर्वाधिक गरिमाको जनसम्मान भारत रत्नसहित पद्मभूषण, पद्मविभूषण, दादासाहेब फाल्के अवार्ड पाउनुका साथै तीन राष्ट्रिय नेसनल अवार्ड पाएकी छन् भने उत्कृष्ट गायिकाका लागि चार वटा फिल्मफेयर अवार्डसमेत जितिसकेकी छन् । लताको अस्वस्थताप्रति यतिबेला भारतका प्रतिष्ठित व्यक्तिहरूले स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरिरहेका छन् ।
– एजेन्सी

प्रकाशित : कार्तिक २७, २०७६ ०९:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गंगा–जमुनामा कन्सर्ट

कान्तिपुर संवाददाता

(धादिङ) — उत्तरी धादिङको गंगा–जमुना–५ फुलखर्कस्थित धार्मिक मेलामा सधैं आर्कषण बन्ने गर्छ इन्द्रेणी । गंगा र जमुना दुइटा झरना पाखो भित्तो हुँदै तल आइपुग्दा इन्द्रेणी बन्छ र भक्तजनहरू रमाउँछन् । यसपटक यो जुम्ल्याहा झरनाको इन्द्रेणीमा तीर्थालुहरू गीतसंगीतको तालमा झुमे, सेल्फी खिचे ।

कुनै समय भजनकीर्तनमा रमाउने तीर्थालुमाझ केही वर्षयता राष्ट्रिय स्तरका कलाकारले कन्सर्ट दिँदै आएका छन् । यसपटक लोक दोहोरी गायिका मनमाया वाइबा, म्हेन्दोमाया गायक रोशन फ्युबा, जोङबा कान्छा, गायिका सीता लामा, रितु लामा, चिज तामाङ, सीता थापा, सुनीता परियार, गीता सेन्चुरी, चयन गुरुङ, टीकामाया चोथेन, गायक राजकुमार बानियाँ, सागर बिसीलगायतले मेलामा प्रस्तुति दिए । स्थानीय लोकभाकादेखि आधुनिक गीतसम्म प्रत्यक्ष सुन्न पाएपछि मेलामा भेला भएका हजारौं तीर्थालु रातभर रमाए । ‘यहाँ आइपुगेपछि रातभर सुत्न नहुने मान्यता छ,’ धादिङकै गायक तथा फिल्मकर्मी रोशन फ्युबाले भने, ‘त्यही भएर गीत–संगीतले भक्तजनलाई जाग्राम बस्न पनि सघाउँदै आएको छ ।’

जिल्लाकै प्रसिद्ध तीर्थस्थल गंगा–जमुना झरना २ हजार ८ सय मिटर उचाइमा रहेको पहाडबाट सिधै १ हजार मिटर तल झर्छन् । यसरी झरेको थलोमै तीर्थालु जम्मा हुन्छन् । तीन दिन चल्ने यो धार्मिक मेलामा धादिङबाट मात्र नभई गोरखा, लमजुङ, कास्की, चितवन, नवलपरासी, मकवानपुर, काठमाडौं, नुवाकोट, रसुवालगायत जिल्लाबाट समेत भक्तजन आउँछन् । हरेक वर्ष कात्तिक शुक्ल दशमीको दिन लाग्ने मेलामा भक्तजन रातभर नाचगानगर्छन् र बिहानै नुहाएर फर्कने गर्छन् ।

यहाँ अनौठो धारा पनि छ । गंगा–जमुना नामको जुम्ल्याहा झरनासँगै रहेको यो धाराको नामै हो कुकुर धारा । कुकुरको सालिक बनाएर कुकुरकै मुखबाट पानी आउने धारामा भक्तजनले स्नान गर्छन् । ‘गणेशको आँसुबाट बगेको मानिन्छ यो धारा,’ मेला आयोजक समितिका अध्यक्ष भक्तबहादुर लामिछानेले भने, ‘यसमा कीटनाशक गुणसमेत भएको विश्वास गरिन्छ ।’ उनका अनुसार उक्त कुकुर धारामा स्नान गरे कुकुर वा अन्य जीवजन्तुले टोकेको विष र दोष पनि हटेर जाने मान्यता छ । कुकुर धारासँगै रहेको मनोरम जुम्ल्याहा झरना नै बूढीगण्डकी, त्रिशूली नारायणी हुँदै भारतमा पुगेर प्रसिद्ध गंगा नदी बनेको र यहाँको गंगा–जमुनाले जस्तै त्यहाँ ‘गंगा र यमुना’ ले प्रसिद्धि कमाएकोविश्वास गरिन्छ ।

लामिछानेका अनुसार गंगा–जमुनालाई परेवा र फूलमालाको डोली चढाएपछि मनोकांक्षा पूरा हुने जनविश्वास छ । यहाँ धादिङ, गोरखा, नुवाकोट र रसुवाबाट झाँक्री र लामाहरू पनि शक्ति हासिल गर्न आउँछन् । गायक तथा चलचित्रकर्मी फ्युबाका अनुसार तामाङ समुदायमा ‘सिमे भुमे, पानीको मुहान र कुण्ड’ पुज्ने परम्परा सदियौंदेखि रहँदै आएको छ । ढ्यांग्रो बजाउँदै र मन्त्र गाउँदै बोन्बोहरू यहाँ आउँछन् ।

पछिल्लो पटक भने यस्ता मेला कन्सर्टको थलो पनि बन्दै गइरहेको छ । ‘लोक संस्कृति प्रवर्द्धन गर्ने यो नयाँ तरिका बन्न सक्छ,’ धादिङकै गणेश हिमाल आसपासको संस्कृति समेटेर फिल्म ‘ल्हाप्साङकर्पो’ समेत बनाएका फ्युबाले भने । माओवादी सशस्त्र द्वन्द्वको समय यो मेला बन्द भएको थियो ।

स्थानीय समाजसेवी एवं पूर्व सभासद धनबहादुर घलेको पहलमा २०६७ देखि औपचारिक रूपमा व्यवस्थापन समिति नै बनाई मेला हुँदै आएको छ । कार्यक्रमका मुख्य व्यवस्थापक समेत रहेका उनले स्थानिय पर्यटन प्रबर्द्धनमामेलाले सघाउने बताए । कन्सर्टकै कारण पछिल्ला बर्ष भक्तजन बढ्दै गइरहेका गंगा–जमुना गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीले दाबी गरे । मेलामा ५० हजारभन्दा बढी भक्तजन आएको उनले बताए ।

गाउँभरिका स्थानीय उत्पादन र परिकारसमेत मेला स्थलमा प्रदर्शनी गरिएको थियो । भ्रमण वर्ष–२०२० लाई सघाउने उद्देश्यले समेत महोत्सव गरिएको र गंगा जमुनालाई राजधानी नजिकको पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने स्थानीय युवा दीपक अधिकारीले बताए ।

प्रकाशित : कार्तिक २७, २०७६ ०८:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×