१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गंगा–जमुनामा कन्सर्ट

कान्तिपुर संवाददाता

(धादिङ) — उत्तरी धादिङको गंगा–जमुना–५ फुलखर्कस्थित धार्मिक मेलामा सधैं आर्कषण बन्ने गर्छ इन्द्रेणी । गंगा र जमुना दुइटा झरना पाखो भित्तो हुँदै तल आइपुग्दा इन्द्रेणी बन्छ र भक्तजनहरू रमाउँछन् । यसपटक यो जुम्ल्याहा झरनाको इन्द्रेणीमा तीर्थालुहरू गीतसंगीतको तालमा झुमे, सेल्फी खिचे ।

गंगा–जमुनामा कन्सर्ट

कुनै समय भजनकीर्तनमा रमाउने तीर्थालुमाझ केही वर्षयता राष्ट्रिय स्तरका कलाकारले कन्सर्ट दिँदै आएका छन् । यसपटक लोक दोहोरी गायिका मनमाया वाइबा, म्हेन्दोमाया गायक रोशन फ्युबा, जोङबा कान्छा, गायिका सीता लामा, रितु लामा, चिज तामाङ, सीता थापा, सुनीता परियार, गीता सेन्चुरी, चयन गुरुङ, टीकामाया चोथेन, गायक राजकुमार बानियाँ, सागर बिसीलगायतले मेलामा प्रस्तुति दिए । स्थानीय लोकभाकादेखि आधुनिक गीतसम्म प्रत्यक्ष सुन्न पाएपछि मेलामा भेला भएका हजारौं तीर्थालु रातभर रमाए । ‘यहाँ आइपुगेपछि रातभर सुत्न नहुने मान्यता छ,’ धादिङकै गायक तथा फिल्मकर्मी रोशन फ्युबाले भने, ‘त्यही भएर गीत–संगीतले भक्तजनलाई जाग्राम बस्न पनि सघाउँदै आएको छ ।’


जिल्लाकै प्रसिद्ध तीर्थस्थल गंगा–जमुना झरना २ हजार ८ सय मिटर उचाइमा रहेको पहाडबाट सिधै १ हजार मिटर तल झर्छन् । यसरी झरेको थलोमै तीर्थालु जम्मा हुन्छन् । तीन दिन चल्ने यो धार्मिक मेलामा धादिङबाट मात्र नभई गोरखा, लमजुङ, कास्की, चितवन, नवलपरासी, मकवानपुर, काठमाडौं, नुवाकोट, रसुवालगायत जिल्लाबाट समेत भक्तजन आउँछन् । हरेक वर्ष कात्तिक शुक्ल दशमीको दिन लाग्ने मेलामा भक्तजन रातभर नाचगान गर्छन् र बिहानै नुहाएर फर्कने गर्छन् ।


यहाँ अनौठो धारा पनि छ । गंगा–जमुना नामको जुम्ल्याहा झरनासँगै रहेको यो धाराको नामै हो कुकुर धारा । कुकुरको सालिक बनाएर कुकुरकै मुखबाट पानी आउने धारामा भक्तजनले स्नान गर्छन् । ‘गणेशको आँसुबाट बगेको मानिन्छ यो धारा,’ मेला आयोजक समितिका अध्यक्ष भक्तबहादुर लामिछानेले भने, ‘यसमा कीटनाशक गुणसमेत भएको विश्वास गरिन्छ ।’ उनका अनुसार उक्त कुकुर धारामा स्नान गरे कुकुर वा अन्य जीवजन्तुले टोकेको विष र दोष पनि हटेर जाने मान्यता छ । कुकुर धारासँगै रहेको मनोरम जुम्ल्याहा झरना नै बूढीगण्डकी, त्रिशूली नारायणी हुँदै भारतमा पुगेर प्रसिद्ध गंगा नदी बनेको र यहाँको गंगा–जमुनाले जस्तै त्यहाँ ‘गंगा र यमुना’ ले प्रसिद्धि कमाएको विश्वास गरिन्छ ।


लामिछानेका अनुसार गंगा–जमुनालाई परेवा र फूलमालाको डोली चढाएपछि मनोकांक्षा पूरा हुने जनविश्वास छ । यहाँ धादिङ, गोरखा, नुवाकोट र रसुवाबाट झाँक्री र लामाहरू पनि शक्ति हासिल गर्न आउँछन् । गायक तथा चलचित्रकर्मी फ्युबाका अनुसार तामाङ समुदायमा ‘सिमे भुमे, पानीको मुहान र कुण्ड’ पुज्ने परम्परा सदियौंदेखि रहँदै आएको छ । ढ्यांग्रो बजाउँदै र मन्त्र गाउँदै बोन्बोहरू यहाँ आउँछन् ।


पछिल्लो पटक भने यस्ता मेला कन्सर्टको थलो पनि बन्दै गइरहेको छ । ‘लोक संस्कृति प्रवर्द्धन गर्ने यो नयाँ तरिका बन्न सक्छ,’ धादिङकै गणेश हिमाल आसपासको संस्कृति समेटेर फिल्म ‘ल्हाप्साङकर्पो’ समेत बनाएका फ्युबाले भने । माओवादी सशस्त्र द्वन्द्वको समय यो मेला बन्द भएको थियो ।


स्थानीय समाजसेवी एवं पूर्व सभासद धनबहादुर घलेको पहलमा २०६७ देखि औपचारिक रूपमा व्यवस्थापन समिति नै बनाई मेला हुँदै आएको छ । कार्यक्रमका मुख्य व्यवस्थापक समेत रहेका उनले स्थानिय पर्यटन प्रबर्द्धनमा मेलाले सघाउने बताए । कन्सर्टकै कारण पछिल्ला बर्ष भक्तजन बढ्दै गइरहेका गंगा–जमुना गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीले दाबी गरे । मेलामा ५० हजारभन्दा बढी भक्तजन आएको उनले बताए ।


गाउँभरिका स्थानीय उत्पादन र परिकारसमेत मेला स्थलमा प्रदर्शनी गरिएको थियो । भ्रमण वर्ष–२०२० लाई सघाउने उद्देश्यले समेत महोत्सव गरिएको र गंगा जमुनालाई राजधानी नजिकको पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने स्थानीय युवा दीपक अधिकारीले बताए ।


प्रकाशित : कार्तिक २७, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?