पर्यटक तान्न यती

सुशीला तामा‌ङ

काठमाडौँ — रहस्यमयी हिममानव मानिन्छ यतीलाई । अहिलेसम्म किम्बदन्तीकै रूपमा रहेको यतीसित ठमेलस्थित सातघुम्ती चोकैमा तपाईंको पनि भेट हुन सक्छ । साँच्चिकै हैन, मूर्तिकलासित । ठमेलस्थित सातघुम्ती चोकैमा चित्रकार मुक्तिसिंह थापाले तयार पारेका यतीको कलाकृति निकै रोचक लाग्छ । कलाकृति हेर्न स्वदेशीदेखि पर्यटकसम्म झुम्मिरहेका छन् । 

पर्यटक तान्न यती

नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने उद्देश्यले चित्रकार थापाले कलाकृतिमा यतीको अस्तित्व प्रस्तुत गरेका हुन् । उनीसँगै किरण मानन्धर, लोक चित्रकार, एससी सुमन, समुद्रमानसिंह श्रेष्ठ, विधाता केसी, आङछिरिङ शेर्पालगायतका चित्रकारले पनि यतीलाई नै उतारेका छन् । उनीहरूले आङछिरिङ शेर्पाको डिजाइनमा मूर्तिकार विजय महर्जनले तयार पारेको डमीमा चित्र भरेका छन् ।


एमक्युब ग्यालरीका क्युरेटर तथा कलाकार मनीषलाल श्रेष्ठ र ठमेलस्थित दलाई ल आर्ट बुटिकको निर्देशक प्रेमप्रभात गुरुङको पहलमा यतिबेला १ सय ६ चित्रकारले यतीलाई नै मुख्य विषय बनाएर काम गरिरहेका छन् । यीमध्ये सातवटा तयार भइसकेका छन् । मूर्तिमा चित्र कोरिसकेपछि पर्यटक आवातजावत गर्ने स्थानहरूमा राखिने मनीषले बताए ।


हाल तयार भइसकेका मूर्ति ठमेलस्थित दलाई ल आर्ट बुटिक, सुन्धारास्थित सिभिल मल, लैनचौरस्थित केशर महल परिसरमा राखिएका छन् । चित्रकार सुमनले यतीमा मिथिला शैलीमा रुखलाई विम्ब बनाउँदै पशुपति र रामजानकीजस्ता मन्दिरलाई उतारेका छन् । नीलो पृष्ठभूमिमा देखाइएको उनको यती कलामा माथितिर चरा, रुख र तलतिर मन्दिर निकै सुन्दर देखिन्छन् । महर्जनकै मूर्तिमा कोरिएको उनको चित्रले यतीको चिनारीसँगै नेपाललाई धार्मिक तथा सांस्कृतिक पक्षलाई खुलाउँछ ।


त्यस्तै चित्रकार समुद्रमानले नीलो पृष्ठमूमिमै हिमाल र यतीको सम्बन्धलाई खोतल्ने प्रयास गरेका छन् । उनले यतीको अग्रभागमा हिमाल देखाएका छन् र पछाडितिर हिमालकै काखमा गुफामा बसिरहेको यती उतारेका छन् ।


परम्परागत चित्रको प्रभाव झल्काउन उनले यतीलाई दाह्रीसमेत हालिदिएका छन् । ‘यती भन्नेबित्तिकै हिमाली भेगमा रहेको जनावरको झल्को आउँछ,’ उनी भन्छन्, ‘चित्रले यती र हिमालको सम्बन्ध चित्रण गर्छ ।’ लोक चित्रकारले पनि परम्परागत विधामै चित्र उतारेका छन् । उनका चित्रमा पनि सांस्कृतिक र धार्मिक पक्ष झल्किन्छ । निधारमा रातो र सुन्तला रङको टीका लगाएको र गलामा रातै माला लगाएको चित्र अंकित उनको कलाले साँच्चिकै पर्यटक लोभ्याउँछ । उनको चित्रमा यतीको शरीरभरि नाग, लक्ष्मीजस्ता देवदेवी, नेपालको झन्डालगायत नेपाल दर्साउने चित्र पनि छन् । ‘नेपाल चिनाउने यिनै हाम्रा मौलिक सांस्कृतिक पक्ष नै त हुन्,’ उनले दाबी गरे ।


किरण मानन्धरले भने पाटनढोकास्थित एम क्युबमा धमाधम यतीको मूर्तिमाथि चित्र कोर्दै छन् । उनले मूर्तिमा तोरण टाँस्दै अर्ध अमूर्त शैलीमा नारी मुहारलाई उतारेका छन् । ‘यतीलाई हिमाली बौद्ध धर्म र संस्कृतिसँग जोड्ने प्रयास गरेको हुँ,’ उनले भने । मनीषका अनुसार एउटा चित्रसहित यती मूर्तिको मूल्य पाँच लाख रुपैयाँसम्म हुनेछ ।

प्रकाशित : कार्तिक २७, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?