कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

होमस्टे कथामा ‘मनकाशी’

आश गुरुङ

(लमजुङ) — गुरुङ भाषाको ‘काशी’ को अर्थ कान्छी छोरी हो । ‘मन’ जोडेर फिल्म ‘मनकाशी’ बनाउनुअघि प्रितम गुरुङले ‘पातें’ (माइली), ‘काशी’ (कान्छी) निर्माण गरिसकेका थिए । ४३ वर्षका प्रितमले ४५ फिल्म निर्माण, निर्देशन गरिसकेका छन् । होमस्टे कथामाथि उनको पछिल्लो गुरुङ फिल्म ‘मनकाशी’ जिल्लाको मर्स्याङदी गाउँपालिका–३ ढगैं गाउँमा छायांकन गरिएको हो । २०५९ मा घलेगाउँमा ‘काशी’ फिल्म सुटिङ गरेका उनले लमजुङमा करिब २ दशकपछि ‘मनकाशी’ को पुरै छायांकन गरेका हुन् ।

होमस्टे कथामा ‘मनकाशी’

आफैंले कथा लेखेर निर्देशन गरेका प्रितमले ‘मनकाशी’ लाई होमस्टे र पर्यटनसँग जोडेको बताए । ‘मनकाशीमा होमस्टेको प्रचारप्रसार र पर्यटन वर्ष सन् २०२० लाई प्रवर्द्धन गर्ने कथा छ,’ उनले भने । पूरा फिल्म ढगैं गाउँमा छायांकन गरिएको ‘मनकाशी’ लाई रोधी डिजिटल र बेस क्रियसनको ब्यानरमा निर्माण गरिएको हो । उक्त फिल्मको शनिबार बेंसीसहरमा विशेष शो गरिएको थियो । यसअघि असोज ३ गते गोरखामा प्रदर्शन गरिएको थियो । बेंसीसहरमा कात्तिक ३० गते सार्वजनिक प्रदर्शनी हुँदै छ । फिल्ममा गुरुङ भाषा र नेपाली भाषा आधाआधी जस्तै छ । गुरुङ भाषा बोलिएका ठाउँमा सबटाइटल नेपाली भाषामा लेखिएको छ । ‘अहिले हरेक गुरुङ गाउँ होमस्टे गाउँ बन्दै छन् । फिल्मका माध्यमबाट होमस्टेको प्रचारप्रसार र पर्यटन वर्षलाई सफल बनाउने हाम्रो प्रयास हो,’ उनले भने ।


करिब २ घण्टाको फिल्ममा मर्स्याङदी–३ को हर्सिङडाँडादेखि देखिने हिमाल, बेंसीसहरका रमणीय दृश्य हेर्न सकिन्छ । फिल्ममा लमजुङे कलाकार विष्णु गुरुङ र पोखराकी अनिता गुरुङको मुख्य अभिनय छ । टीकाराम घले, आइतराम गुरुङ, डीबी गुरुङ, वीरमाया घलेलगायतको पनि अभिनय छ । ‘नेपालीसहित १४ वटा फिल्ममा अभिनय गरिसक्दा मनकाशीमा साँच्चिकै मौलिकता समेटिएको छ,’ प्रितमले भने ।


प्रकाशित : कार्तिक २६, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?