सात एल्बम, नौ उपन्यास

कान्तिपुर संवाददाता

काठमाडौँ — स्रष्टा डीआर उपाध्यायले सोमबार एकसाथ ७ वटा गीति एल्बम र नौ वटा उपन्यास सार्वजनिक गरेका छन् । राजधानीको कमलपोखरीस्थित रूसी सांस्कृतिक केन्द्रमा संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, अग्रज गायिका ज्ञानु राणा, अभिनेत्री बसुन्धरा भुसाललगायतले गीति एल्बम र उनका कृतिहरू सार्वजनिक गरेका हुन् । 

सात एल्बम, नौ उपन्यास

गीति लेखनमा थुप्रै कीर्तिमानी अवार्डसमेत पाइसकेका उनले यसपटक ‘नजरको तीर’, ‘अनुभूतिको मझेरीमा’, ‘सौभाग्यको सिन्दुर’, ‘स्वर्गघर’, ‘सुधारस’, ‘अन्जान तिर्खा’ र ‘सेभेन्थ कड्स’ नामक एल्बम ल्याएका हुन् । यसअघि नै उनले ११ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । उपन्यासमा भने ‘सपनाकी रानी’, ‘भाग्यचक्र’, ‘अतिरिक्त’ ‘वज्रघात’, ‘त्यागी’, ‘बिटुली’, ‘अधुरो प्रेम’ लगायत छन् । उपन्यासहरू एडीबी पब्लिकेसनले छापेको हो ।

सातै एल्बममा उपाध्यायले गीत लेखेका छन् । नरहरि प्रेमी, सन्तोष श्रेष्ठ, राज सागरलगायतले संगीत दिएका छन् भने ज्ञानु राणा, दिलीप लामा, प्राशना पाण्डे, प्राप्ति सुवेदी, मनोजराज, रीता केसीलगायतका दुई दर्जनभन्दा बढी गायकगायिकाले स्वर दिएका छन् । एल्बम ‘स्वर्गघर’ मा समावेश चार गीतमा भने उपाध्यायले नै स्वर दिएका छन् । कृतिहरू लोकार्पणका क्रममा उपाध्यायले संगीत र साहित्यको घनिष्ठ सम्बन्ध रहेको बताए । उनले आफूले १६ महिनामा १८ वटा गीति एल्बम ल्याएको पनि सुनाए ।


वाङ्मय शताब्दी पुरुष जोशीले गीति लेखन र साहित्यप्रति उपाध्यायको उत्साह निकै प्रेरणादायी रहेको बताए । सञ्चारकर्मी एवं लेखक अच्युत घिमिरेले उपाध्यायका उपन्यासमा सरल शब्द र मिठासपनसँगै सामाजिक र वैयक्तिक भावना पाइने दाबी गरे । कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष जोशीलाई अभिनन्दनसमेत गरिएको थियो । दुवैलाई जनही ५१ हजार रुपैयाँ र ताम्रपत्रसहित दोसल्ला ओढाइएको हो । स्वास्थ्य अवस्थाका कारण राष्ट्रकवि घिमिरलाई लैनचौरस्थित उनकै निवासमै अभिनन्दन गरिएको भिडियोको कार्यक्रममा देखाइएको थियो । अभिनेत्री भुसाल र गायिका राणालाई पनि अभिनन्दन गरिएको थियो । त्यस्तै युथ क्रिएसन म्युजिकबाट उपाध्यायलाई अध्यक्ष रमेश थापा र सल्लाहकार कृष्ण भुसालले सम्मान गरे ।


प्रदर्शनीमा विश्व रेकर्ड

गीत सिर्जनाकै लागि उपाध्यायले प्राप्त गरेका विश्व रेकर्डहरू रूसी सांस्कृतिक केन्द्रको ग्यालरीमा प्रदर्शनी गरिएको छ । यसअघि आठ वटा विश्व रेकर्ड कायम गरिसकेका उपाध्यायले पछिल्लो सात एल्बमका लागि आठ वटा रेकर्ड कायम गरेका छन् ।


कार्यक्रममा एभरेस्ट वर्ल्ड रेकर्डका संस्थापक निर्देशक मधुरा श्रेष्ठले उपाध्यायलाई नयाँ आठ वटा वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे । २४ फरक गीत १२ मेजर १२ माइनर स्केलमा एउटै एल्बममा समेटेबापत, अधिकांश हिन्दु देवीदेवताको नाम राखेर बनाइएको गीतबापत, एउटै एल्बमका सबै गीत सेभेन्थ कड्समा सिर्जना गरेबापत, योग र महिला प्रताडनासम्बन्धी गीतबापत उनले पछिल्ला रेकर्ड जितेका हुन् ।


प्रताडना गीतमा ७१ वर्षीय गायिका ज्ञानु राणा र ५ वर्षकी गायिका प्राप्ति सुवेदीको स्वर रहेको छ । यसअघि उपाध्यायले ‘वर्ल्ड बुक्स अफ अमेरिका’, ‘वर्ल्ड बुक्स अफ अस्ट्रेलिया’, ‘वर्ल्ड बुक्स अफ लन्डन’, मिराकल वर्ल्ड रेकर्ड, इन्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रकेर्ड, जिनस वर्ल्ड रेकर्डलगायत पाइसकेका छन् ।



प्रकाशित : कार्तिक २६, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?