कल्पना र उर्मिलाहरुका दुःख

कान्तिपुर संवाददाता

काँकडभिट्टा — कर्णाली प्रदेशको सुर्खेतबाट सुरु भएको शिल्पीको नाट्य यात्रा असोज २८ मा आइतबार मेचीनगरमा मैझारो गरिएको छ । महिना दिन लामो नाट्य यात्रामा शिल्पीले झापासहित ९ जिल्लामा ‘कल्पना र उर्मिला दुःखमा छन्’ नाटक प्रदर्शन गर्‍यो । नाटकमा ग्रामीण महिलाको कष्ट देखाइएको थियो । 

वैदेशिक रोजगारी र बालविवाहबाट उत्पन्न मनोदशाको चित्रण छ । बिहेलगत्तै श्रीमान् बिदेसिएपछि उत्पन्न सकसलाई सूक्ष्म रूपमा केलाइएको छ । हर्कबहादुर नामक पात्रले बिदेसिने युवाको प्रतिनिधित्व गरेका छन् । उनकी श्रीमती कल्पनाले परदेशीका श्रीमान्की पत्नीले भोग्ने दुःखलाई उजागर गरेकी छन् ।

गाउँमा छाडेर विदेशमा वर्षौं बस्दाका पुरुष अनुभूति र महिलाका कुण्ठा र पीडा नाटकमा देखाइएको छ । विदेशी श्रीमान् र गाउँले महिलाबीचको शंका–उपशंका र त्यसपछि उब्जाउने पारिवारिक द्वन्द्वको दृश्यले स्थानीय दर्शकका आँखा रसाएका थिए ।

नेपालमा उमेर नपुग्दै बिहे गर्ने र बच्चा जन्माउन नसकेर अकालमा मृत्युवरण गर्ने किशोरीको दर डरलाग्दो ढंगले वृद्धि भइरहेको छ । त्यही समस्या नाटकमा पनि देखाइएको छ । पढ्दापढ्दै माया बस्ने र अपरिपक्व उमेरमै बिहे गर्ने र बच्चा जन्माउँदा महिलाको स्वास्थ्यमाथि डरलाग्दो चुनौती खडा भएको छ ।
१६ वर्षकी उर्मिला र १७ वर्षका गोपुबीचको प्रेम पछि गएर बिहेमा मात्रै टुंगिँदैन । उर्मिला लगत्तै गर्भवती हुन्छिन् ।

विडम्बना बच्चा जन्माउन नसक्दा उर्मिलाले अकालमा ज्यान गुमाउनुपर्छ । बच्चा जन्माउन नसकेर उर्मिलाको मृत्यु भएको दृश्यसँगै नाटक सकिन्छ । नाटकको परिकल्पना, लेखन र निर्देशन रंगकर्मी घिमिरे युवराजले गरेका हुन् । शिल्पीले लामो समयदेखि फोरम थिएटरमार्फत यस किसिमका मुद्दाको वकालत गर्दै आएको छ ।

प्रकाशित : कार्तिक २५, २०७६ १०:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गंगासागरमा पूर्वीय दर्शन

कान्तिपुर संवाददाता

(जनकपुर) — सधैंभरि राजनीतिक र सामाजिक विषयमा बहस, छलफल हुने मिथिला नगरी जनकपुरधाममा आइतबार भने पूर्वीय दर्शनलगायत गम्भीर विषयमा विमर्श भयो । नेपाल साहित्य उत्सव अर्न्तगत गंगासागर किनारमा आयोजित स्थानीय संस्करणको अन्तिम दिन जनकपुर केन्द्रित रहेर पूर्वीय दर्शनमाथि बहस गरिएको हो । पूर्वीय षड्दर्शन (६ दर्शन) मध्ये चार मिथिलाभूमि जनकपुरमै लेखिएको मानिन्छ । 

महर्षि जैमिनी लिखित ‘पूर्व मीमांसा’, महर्षि बादरायण लिखित ‘उत्तर मीमांसा (वेदान्त)’, महर्षि कपिल लिखित ‘सांख्य’, महर्षि कणाद लिखित ‘वैशेषिक’, महर्षि गौतम लिखित ‘न्याय’ तथा महर्षि पतञ्जली लिखित ‘योग दर्शन’ लाई पूर्वीय दर्शनमा षड्दर्शनका रूपमा उल्लेख गरिएको छ । यसका साथै बौद्ध र जैन दर्शनलाई पनि पूर्वीय दर्शनकै रूपमा मानिएको छ ।

यस विषयमा विजयकुमार सिंह र साहित्यकार रामभरोस कापडि ‘भ्रमर’ सँग प्रा. सुरेन्द्र लाभले छलफल चलाएका थिए । ‘षड्दर्शनमध्ये जैमिनी लिखित पूर्वमीमांसा, कपिल लिखित सांख्य, कणाद लिखित वैशेषिक तथा गौतम लिखित न्याय दर्शन मिथिलाकै भूमिमा लेखिएको हो । यसका अतिरिक्त बौद्ध तथा जैन दर्शनका अनेकौं महिर्षि पनि मिथिला भूमिले सिर्जना गरेको प्रमाण प्राप्त छ,’ रामभरोस कापडिको कथन थियो । कपिलद्वारा प्रतिपादित ‘सांख्य दर्शन’ लाई समस्त भारतीय दर्शनको आधार मानिएको विजयकुमार सिंहले दाबी गरे । यस दर्शनले ईश्वरको अस्तित्वलाई अस्वीकार गर्छ । ‘उनले समस्त तत्त्व (सृष्टि) का स्रष्टा प्रकृतिलाई मानेको छ,’ सिंहले भने ।

आठौं शताब्दीतिरै षड्दर्शनका अतिरिक्त मिथिलाका मण्डन मिश्र, वाचस्पति, उदयनारायण, गंगेश, पक्षधर तथा शंकर मिश्रलगायतले न्याय, कर्मकाण्ड तथा ज्ञानकाण्डलगायत विषयमा गम्भीर विश्लेषण गरेका थिए । सिंहले भने पूर्वीय र पाश्चात्य दर्शनको तुलनात्मक विश्लेषण गर्दै भौतिकवाद, नास्तिकवादजस्ता आधुनिक दर्शनबारे पनि चर्चा गरेका थिए ।

गंगासागर किनारको पानीमा बनाइएको आकर्षक मञ्चमा पूर्वीय दर्शनसँगै ‘पर्ख राक्षस तथा केटा र ह्वेल’ विषयक विमर्शमा लिन्डे फास र मार्क यायेशनसँग राजीवधर जोशीले छलफल चलाए भने दर्शकले औधी मन पराएको ‘साहित्यमा मधेसी पात्र’ शीर्षकको विमर्शमा सीमा आभास र नयनराज पाण्डेसँग चतुर्भुज केवरत र अरुणकुमार राउतले बहस गरेका थिए ।

‘साहित्य सम्झना’ शीर्षकमा गोपाल अश्क, रोशन जनकपुरी र अरुण राउतसँग श्याम शशिले विमर्श गरेका थिए । बुक वर्म फाउन्डेसनले गरेको उत्सवको अन्तिम दिन सन्ध्या बहुभाषिक कवि गोष्ठीले पनि माहोल तताएको थियो ।

प्रकाशित : कार्तिक २५, २०७६ १०:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×