कलामा दुई देश

बेइजिङमा हुने सेरामिक आर्ट प्रदर्शनीमा नेपाल र चीनका चित्रकारले एउटै माटोको प्लेटमा बनाएको चित्र राखिने
सुशीला तामा‌ङ

काठमाडौँ — नेपाल–चीनबीच कला सम्बन्ध पुरानै हो । झन्डै आठ सय वर्ष पुरानो । अरनिकोले तिनताक चीनमा बनाएको स्तूप र प्यागोडाहरू अचेल पर्यटन केन्द्र बनेका छन् । यतिबेला भने नेपाल र चीनका दुई कलाकारले कलामार्फत् जोडिएको दुई देशको सम्बन्धमा इँटा थप्ने काम गर्दै छन् ।

नोभेम्बर महिनाको अन्त्यमा बेइजिङमा हुने सेरामिक आर्टको प्रदर्शनीका लागि नेपालका चित्रकार रवीन्द्र श्रेष्ठ र चिनियाँ चित्रकार ली छ्यानले एउटै माटोको प्लेटमा संयुक्त चित्रकला बनाउँदै छन् । शनिबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा चित्रकार छ्यानले यसरी सम्भवत: पहिलोपटक सहकार्य हुन लागेको दाबी गरे ।

चाइना फाउन्डेसन फर पिस एन्ड डेभेलपमेन्ट नामक संस्थाले गरेको कोलाब्रेसन आर्टका लागि चीनबाट छनोट भएका छ्यान र नेपालबाट श्रेष्ठले ‘हामी एउटै आमाका सन्तान हौं’ र ‘हामी एउटै उद्देश्यका लागि एकै ठाउँमा उभिएका छौं’ भन्ने भावलाई समातेको फाउन्डेसन सम्बद्ध रहेकी लिउ रु सीले बताइन् । उनका अनुसार दुवैले संयुक्त रूपमै माटोमा तीन वटा चित्र बनाउने छन् । फाउन्डेसनले हालसम्ममा थुप्रै मुलुकसँग सहकार्य गरेको र यो वर्ष नेपाल रोजिएको उनले खुलाइन् । माटोको पहिलो प्लेटको चित्रमा दुवैले आ–आफ्नो हिमालय रेखामा बुद्धको आँखा झल्काउने दृश्यहरू, दोस्रोमा दुवैले आ–आफ्नो देशबाट देखिने हिमाल र तेस्रोमा नेपालका तर्फबाट श्रेष्ठले मन्दिरका टुँडाल र चीनका तर्फबाट छ्यानले टुँडालको बीचमा नमस्ते वा याकको चित्र कोर्नेछन् । चित्रको माथितिर भने दुई देशकै हुलाक टिकटहरू अंकित रहनेछन् ।

नेपालको परम्परागत चित्रसँगै आधुनिक कलालाई समेत अगाडि बढाइरहेका चित्रकार श्रेष्ठसँग हुने सहकार्यका लागि छ्यान निकै उत्साहित छन् । दुई देशको सम्बन्ध पनि निकट र लामो छ भन्ने दर्साउन नै श्रेष्ठलाई फाउन्डेसनले आमन्त्रण गरेको उनले सुनाए । ‘पृथ्वी रहेसम्म नेपाल र चीनको सम्बन्ध रहन्छ,’ उनले भने, ‘हाम्रो मित्रता दिगो र बलियो छ ।’ त्यसो त चीनको चिङतचनमा उनले नेपाली भाषामा नै ‘विचार’ नाम राखेर आर्ट ग्यालरी पनि खोलेका छन् । ग्यालरी घुमेर आइसकेका चिनियाँ भाषा शिक्षक कुमार खड्काले छ्यानले चीनमा नेपालको प्रबर्द्धन गरिरहेको दाबी गरे । छ्यानले बौद्धधर्म र बुद्धप्रतिको आस्थाका कारण चिनियाँहरू नेपाललाई तीर्थस्थलको रूपमा ठान्ने बताए । दुवैले बनाएका चत्र चिनियाँ र नेपाली दूतावासमा समेत राखिने उनले बताए ।

चिनियाँ सेरामिक आर्ट
चीनको च्याङ्सी प्रान्तको चिङतचन सहरमा माटोबाट बन्ने चित्रकलाको लामो इतिहास छ । छ्यानका अनुसार करिब १ हजार ५ सय वर्षदेखि त्यस सहरमा अहिलेसम्म पनि माटोमा चित्रकला बनाउने कार्य जारी छ । चीनको यस प्रान्तको प्रमुख जीविकोपार्जन गर्ने आधार यही चित्र रहेको चित्रकार उनले बताए । उनका अनुसार यस चित्रलाई पहिले युरोपियन देशहरूमा सुनसँग साटिन्थ्यो ।

यस्ता खाले एउटा चित्र तयार पार्न तीन हप्ता समय लाग्छ । माटोको प्लेट बनाउन एक हप्ता, त्यसमा अर्को एक हप्तासम्म चित्र बनाएपछि चार दिनसम्म आगोमा पोलेर तीन दिन त्यतिकै सेलाउन दिनुपर्छ । यति भए पनि चित्र बनाउने क्रममा प्रयोग गरिएका रंग पछि नखुइलिने छ्यानले बताए । ‘१ हजार ३ सय साठी डिग्री तापक्रम आगोमा माटोमा बनाइएको चित्रलाई राखेरपछि मात्र चित्रको वास्तविक रंग आउँछ ।’ आगो र माटोको सम्मिश्रणबाट तयार हुने भएकोले सबै चित्र सग्लो रूपमा नआउने उनले जनाए । भने, ‘बनाउने क्रममा कतिपय चित्र फुटेर जान्छन् ।’ यसरी तयार हुने चित्रको आयु पृथ्वीको आयुजस्तै लामो हुने भएकोले यसलाई घाम, पानीले पनि असर पार्न नसक्ने छ्यानले दाबी गरे ।

यस्ता खाले चिनियाँ चित्रमा पहिलेपहिले परम्परागत र सांस्कृतिक पक्षका चित्र बने पनि अहिले भने वरपरको घटना, समसामयिक सन्दर्भलगायत चित्रण हुँदै आएको छ्यानको सुनाए । यस्ता चित्रकला बनाउन धेरै समय खर्चिने र फुट्ने सम्भावना भए पनि चिङतचन सहरबासीले यसलाई पेसाभन्दा पनि आफ्नो पराम्परागत कला र धर्म पालनाको रूपमा लिएको उनले खुलाए ।


प्रकाशित : कार्तिक २४, २०७६ ०८:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

धोती–कुर्तामा झुल्किए हमाल

शंकर आचार्य

(पर्सा) — नेपाली चलचित्र जगतका लोकप्रिय अभिनेता राजेश हमाललाई धोती–कुर्ता पहिरन कत्तिको सुहाउला ? चलचित्रमा पनि हालसम्म सम्भवत: उनी यस्तो पहिरनमा देखिएका छैनन् । वीरगन्जमा आयोजित एक कार्यक्रममा भने हमाल तराई मधेसको मौलिक पहिरन धोती–कुर्ता लगाएर झुल्किँदा दर्शक दंग परे । 

वीरगन्जबासीले प्रतीक्षा गरेको कार्यक्रम ‘सप्तरंगी–२’ मा हमाल आउने बताइएपछि उनलाई नजिकबाट नियाल्न पाउने आशमा दर्शक संख्या अनुमान गरिएभन्दा दोब्बर पुगेको थियो । वीरगन्जको घन्टाघर चोकमा आयोजित कार्यक्रममा दर्शकको चाप निकै बढेपछि अवागमन नै अवरुद्ध हुनपुग्यो । प्रहरी बाटो सुचारु गराउन हैरान देखिन्थे ।
कार्यक्रमको केन्द्रबिन्दु बनेका हमाल सेतो कुर्ता, धोती र गम्छामा सजिएर मञ्च पुगेका थिए । सुपरस्टारलाई आफ्नै परिवेशको पहिरनमा पाउँदा दर्शक हौसिए । उनले त्यही पोसाकमा नृत्य पनि गरेका थिए । गायक प्रकाश सपुतले आफ्नो चर्चित गीत ‘गलबन्दी च्यातियो....’ गाउँदा हमालले कम्मर मर्काए । ठेट पहाडी शैलीको गीतमा उनले मधेसी पहिरनमा नृत्य गरेर समावेशीताको सन्देश दिए ।

हमालले आफू पटकपटक चलचित्र छायांकनका लागि वीरगन्ज आएको तर यहाँका दर्शकबीच यसरी पहिलो पटक प्रस्तुति दिएको बताए । सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, जितु नेपाललगायतले गीत तथा प्रहसन प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले यस्तो सांगीतिक कार्यक्रमले मुलुकका विभिन्न प्रदेशमा बसोबास गर्ने जनतालाई एकताको सूत्रमा बाध्न सहयोग पुर्‍याउने बताए । समारोहमा एसिड प्रहारबाट घाइते भएकी वीरगन्जकी बालिका मुस्कान खातुनलाई स्कुटी प्रदान गरिएको थियो । मुस्कानका बुवा रसुल मियालाई महानायक हमालले स्कुटीको साँचो हस्तान्तरण गरेका हुन् । गृष्मा ब्रोडकास्टिङ प्रमुख गेहेन्द्र घिमिरे सातवटै प्रदेशमा कार्यक्रम गरिने बताए ।

प्रकाशित : कार्तिक २४, २०७६ ०७:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×