धोती–कुर्तामा झुल्किए हमाल

शंकर आचार्य

(पर्सा) — नेपाली चलचित्र जगतका लोकप्रिय अभिनेता राजेश हमाललाई धोती–कुर्ता पहिरन कत्तिको सुहाउला ? चलचित्रमा पनि हालसम्म सम्भवत: उनी यस्तो पहिरनमा देखिएका छैनन् । वीरगन्जमा आयोजित एक कार्यक्रममा भने हमाल तराई मधेसको मौलिक पहिरन धोती–कुर्ता लगाएर झुल्किँदा दर्शक दंग परे । 

धोती–कुर्तामा झुल्किए हमाल

वीरगन्जबासीले प्रतीक्षा गरेको कार्यक्रम ‘सप्तरंगी–२’ मा हमाल आउने बताइएपछि उनलाई नजिकबाट नियाल्न पाउने आशमा दर्शक संख्या अनुमान गरिएभन्दा दोब्बर पुगेको थियो । वीरगन्जको घन्टाघर चोकमा आयोजित कार्यक्रममा दर्शकको चाप निकै बढेपछि अवागमन नै अवरुद्ध हुनपुग्यो । प्रहरी बाटो सुचारु गराउन हैरान देखिन्थे ।

कार्यक्रमको केन्द्रबिन्दु बनेका हमाल सेतो कुर्ता, धोती र गम्छामा सजिएर मञ्च पुगेका थिए । सुपरस्टारलाई आफ्नै परिवेशको पहिरनमा पाउँदा दर्शक हौसिए । उनले त्यही पोसाकमा नृत्य पनि गरेका थिए । गायक प्रकाश सपुतले आफ्नो चर्चित गीत ‘गलबन्दी च्यातियो....’ गाउँदा हमालले कम्मर मर्काए । ठेट पहाडी शैलीको गीतमा उनले मधेसी पहिरनमा नृत्य गरेर समावेशीताको सन्देश दिए ।


हमालले आफू पटकपटक चलचित्र छायांकनका लागि वीरगन्ज आएको तर यहाँका दर्शकबीच यसरी पहिलो पटक प्रस्तुति दिएको बताए । सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, जितु नेपाललगायतले गीत तथा प्रहसन प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले यस्तो सांगीतिक कार्यक्रमले मुलुकका विभिन्न प्रदेशमा बसोबास गर्ने जनतालाई एकताको सूत्रमा बाध्न सहयोग पुर्‍याउने बताए । समारोहमा एसिड प्रहारबाट घाइते भएकी वीरगन्जकी बालिका मुस्कान खातुनलाई स्कुटी प्रदान गरिएको थियो । मुस्कानका बुवा रसुल मियालाई महानायक हमालले स्कुटीको साँचो हस्तान्तरण गरेका हुन् । गृष्मा ब्रोडकास्टिङ प्रमुख गेहेन्द्र घिमिरे सातवटै प्रदेशमा कार्यक्रम गरिने बताए ।

प्रकाशित : कार्तिक २४, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?