कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लुम्लेको पर्यटन साइनो

नवीन पोखरेल

काठमाडौँ — भूतपूर्व बेलायती गोर्खालाई न्यायिक अभियानमार्फत् बेलायतको आवासीय अधिकार दिलाएपछि जोआना लुम्ले ‘गोर्खाली चेली’ का उपनामले चर्चित बनिन् । नेपालमा २०७२ मा गएको महाभूकम्पबाट पीडितका लागि राहत संकलनका लागि उनको रोदनयुक्त अनुनय बेलायतका लोकप्रिय टीभी च्यानलहरू बीबीसी, आईटीभी, च्यानल फोर, च्यानल ५ र स्काईमा बजेपछि बेलायतीले सक्दो सहयोग पनि गरे ।

लुम्लेको पर्यटन साइनो

उनको ‘नेपाल अर्थक्वेक अपिल’ बाट एकै दिन करिब ३ अर्ब रुपैयाँ संकलन भएको समाचार प्रकाशित भएको थियो । अभियानलाई बेलायती महारानी र युवराज चार्ल्सले समेत समर्थन गरेका थिए ।


बेलायतको नेपाली समुदायसँग निकट रहेकी बेलायती अभिनेत्री जोआना लुम्ले एकपटक फेरि नेपालसँग जोडिएकी छन् । यद्यपि उनको यो ‘कनेक्सन’ अभिनय वा गोर्खा आन्दोलनले भने जुराएको होइन् । नेपालको पर्यटन प्रवर्द्धनका लागि उनी सद्भावना दूत (गुडविल एम्बासेडर) छानिएसँगै उनको फेरि चर्चा सुरु भएको हो । बेलायतको माथिल्लो सदन ‘हाउस अफ लर्डस’ मा गत बिहीबार आयोजित विशेष कार्यक्रममा अभिनेत्री लुम्लेसहित बेलायतको सर्वाधिक धनाढ्य व्यापारिक घराना हिन्दुजा ब्रदर्सका गोपीचन्द हिन्दुजा र बेलायती उपल्लो सदनकी सदस्य ब्यारोनेस बर्मालाई ‘गुडविल एम्बासेडर’ घोषणा गरिएको हो । विश्वभरका पर्यटन व्यवसायीको कुम्भमेला मानिने ‘वर्ल्ड ट्राभल मार्केट’ (डब्ल्यूटीएम) मा भाग लिन लन्डन गएका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले उनलाई सद्भावना दूत नियुक्त गरेका हुन् ।


नियुक्तिपछि नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन र बेलायतबाट नेपाल जाने पर्यटक संख्या बढ्ने विश्वास मन्त्री भट्टराईको छ । यसबाट नेपाली समुदाय पनि आशावादी छन् । ‘त्यस्ता हाई प्रोफाइल व्यक्तिले बोलेका कुरा बेलायतमा सुनिन्छ । यसबाट हामी आशावादी छौं,’ ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष तथा ट्राभल टुर व्यवसायी विराज भट्ट भन्छन् । भट्टले ४ देखि ६ नोभेम्बरसम्म लन्डनमा भएको वर्ल्ड ट्राभल मार्केट प्रदर्शनी नेपाल पर्यटन प्रवर्द्धनका लागि कोसेढुंगा भएको दाबी गरे । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतबाट नेपाल जाने पर्यटकको संख्या बढिरहेको जनाउंदै यसवर्ष ७५ हजार र आउंदो वर्ष एक लाख पर्यटक नेपाल लैजाने उद्देश्यले प्रवर्धनात्मक कार्यक्रम गरिएको जनाए ।

प्रकाशित : कार्तिक २४, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?