३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

साम्राज्ञी नोस्टाल्जिक

शंकर आचार्य

(वीरगन्ज) — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बिहीबार सुरु नेपाली स्वर्णिम चलचित्र महोत्सवका लागि गृहनगर वीरगन्ज आएकी छन् । वीरगन्जमा लामो समयदेखि होटल तथा पर्यटन व्यवसाय एवं समाज सेवामा सक्रिय हजुरबुवा पशुपतिविक्रम शाह र हजुरआमा उषा शाहसँगै बसिरहेकी उनी अहिले पुर्ख्यौली घरमा बस्दा नोस्टाल्जिक पनि हुँदै छिन् ।

साम्राज्ञी नोस्टाल्जिक

कान्तिपुरसँगको कुराकानीमा साम्राज्ञीले दुई वर्षपछि गृहनगरमा आउँदा अनि हजुरबुबा–हजुरआमाको सान्निध्य पाउँदा अत्यन्त रमाइलो भइरहेको बताइन् ।


‘म वीरगन्ज आउँदा छुट्टै आनन्दको अनुभूति हुन्छ, नोस्टाल्जिक पनि हुन्छु,’ उनले भनिन्, ‘हाम्रो दरबार पछाडिको पुरानो घर, त्यहाँको पोखरी, खेत, खेतीपाती, डेरी फार्म, घरमा पालिएका अजंगका धेरै कुकुर सम्झिन्छु, अनि अन्डा चोरेर फुटाएको र त्यसो गर्दा आमाबाट गाली खाएको दृश्य झल्झली आँखामा आउँछ ।’


घर पछाडिको आफ्नो खेतमा बाल्यकालमा ३/४ घन्टासम्म पनि बरालिने अनि घर फर्कंदा गाली खाने र सजाय स्वरूप बाथरुममा थुनिँदा हजुरबुबा हजुरआमाले बचाउ गरेका पलहरू सम्झँदा उनलाई बाल्यकाल कत्ति चाँडो बितेछ भनेर थकथक पनि लाग्छ ।


‘हाम्रो परिवारको वर्तमान पुस्तामा म नै अन्तिम सदस्य हुँ, जसले बाल्यकालमा यी सबै पलहरू देख्न र भोग्न पाए,’ उनी भन्छिन्, ‘मेरो भाइले यी पलहरू अनुभव नै गर्न पाएन । हाम्रो समयमा मनोरञ्जका लागि सिनेमा र टीभी मात्र माध्यम थिए । मेरो भाइले अहिले मोबाइलमा फेसबुक चलाएर मनोरञ्जन गर्छ र फेसबुकबाटै साथी बनाउँछ । मोबाइल नै उसका लागि सानो संसार हो ।’


वीरगन्जमा पहिलो पटक नेपाली स्वर्णिम चलचित्र महोत्सव आयोजना हुनुले नेपाली चलचित्रले तराई र भोजपुरा क्षेत्रलाई पनि मूलधारमा बिस्तारै समेट्दै जाने आधार स्तम्भ निर्माण हुनेमा आफू अत्यन्त आशावादी रहेको साम्राज्ञी बताउँछिन् ।


८ वटा चलचित्रमा अभिनय गरिसकेकी साम्राज्ञी अब हेमराज बीसीको चलचित्रको छायांकनमा व्यस्त हुनेछिन् । नाम तय नभइसकेको यो चलचित्रको छायांकन फेब्रुअरीबाट हुनेछ, त्यसअघि चलचित्रकै एकमहिने वर्कसप पनि चल्नेछ । उनी भन्छिन्, ‘प्रदीप खड्का चलचित्रमा मेरो अपोजिट हुनेछन् ।’


थप २ वटा चलचित्रको स्क्रिप्ट आफूले पढिरहेको र राम्रो लागे मात्र ती चलचित्र साइन गर्ने उनले योजना सुनाइन् । नेपाली फिल्म क्षेत्रमा राम्रो पारिश्रमिक लिने कलाकारको सूचीमा आफ्नो नाम आउनुलाई उनी अस्वाभाविक मान्दिनन् । पुरुष कलाकारको तुलनामा महिला कलाकारलाई कम पारिश्रमिक दिने यहाँको प्रवृत्तिलाई चिर्न आफू धेरै हदसम्म सफल भएकोमा उनी गर्व महसुससमेत गर्छिन् ।


‘पुरुषको तुलनामा महिला कलाकारलाई कम पारिश्रमिक दिनु अन्याय हो,’ उनले भनिन्, ‘जब कि कतिपय अवस्थामा पुरुषभन्दा महिला कलाकारले बढी मिहिनेत गर्नुपर्छ । मैले गर्दा अन्य महिला कलाकारले पनि पारिश्रमिकको विषयमा खुलेर बोल्न थाल्नुभएको छ । धेरैले राम्रो पारिश्रमिक पनि पाइरहनुभएको छ ।’


पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा हास्यप्रधान चलचित्रको बाहुल्य बढ्दै गर्दा सक्षम निर्देशकहरू पनि अन्य विषयवस्तु छाडेर हास्यप्रधान चलचित्रप्रति नै आकर्षित हुनु रहर नभई बाध्यता भएको साम्राज्ञी बताउँछिन् । आफूले चलचित्रमा चाहेजस्तो क्यारेक्टर अझै पनि पाई नसकेको उनी बताउँछिन् । ‘मलाई गम्भीर कथावस्तु भएको फिल्म खेल्ने रहर छ,’ उनी भन्छिन्, ‘जसमा म रुँदा र हाँस्दा दर्शक पनि मसँगै रोऊन् र हाँसून् ।’


नेपाली फिल्म क्षेत्रमा अझै पनि स्तरीय र दर्शक तान्ने चलचित्र निर्माण नहुनुमा कमजोर कथावस्तु र अत्यन्त कम बजेटमा चलचित्र निर्माण हुनुलाई मुख्य कारण ठान्छिन् उनी । ‘चलचित्र पनि एउटा व्यवसाय हो र यसमा आवश्यक परे जत्ति लगानी गर्नै पर्छ भन्ने मानसिकता निर्मातामा विकास हुनै पर्छ,’ उनले भनिन्, ‘अनि मात्र हामी बलिउड र हलिउडका चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्षम हुन्छौं ।’


नम्रता श्रेष्ठ, प्रियंका कार्की, सौगात मल्ल, दयाहाङ राई आफ्ना प्रिय कलाकार रहेको बताउने साम्राज्ञी बलिउडमा कंगना रणावत, रणवीर कपुर र आलिया भट्टको अभिनय मन पर्ने बताउँछिन् ।नातिनी २ वर्षपछि घर आउँदा आफूहरू अत्यन्त खुसी भएको साम्राज्ञीका हजुरबुबा–हजुरआमाले बताए ।


प्रकाशित : कार्तिक २२, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?