१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सारंगीमा छैन युवाको चासो

सुशीला तामा‌ङ

काठमाडौँ — पर्यटकहरूको आवतजावत भइरहेको ठमेलको व्यस्त बजार जेपी मार्गको छेउमै सारंगीको र्‍याइँर्‍याइँ धुन बजाइरहेका भेटिन्छन्, गोरखा धारापानी ७ का सुरेश गान्धारी । त्यही उनको सारंगी, मादल र मुरलीको ‘सारंगी फोक म्युजिक सप’ पनि छ ।

सारंगीमा छैन युवाको चासो

गान्धारीले सारंगी रेटिरहँदा गन्धर्व जातिले मात्र गाउने मौलिक विशेषता बोकेको वीरगाथाको ‘कर्खा’ गीतका धुनले वरिपरिको वातावरणलाई संगीतमय बनाइरहेको थियो ।


बटुवाहरू उनको धुन केहीबेर अडिएरै सुन्थे । जाति, पुर्खाको मौलिक लोकबाजालाई बचाउँदै निरन्तर बिहानीको झुल्के घामसँगै ठमेलमा पर्यटकलाई सारंगीको धुनमा स्वागत गरेर नै गान्धारीले झन्डै दुई दशक बिताइसके । धुन मात्र होइन, त्यसमै लय हालेर उनी गीत गाउँछन् र कसैले मन पराएमा सारंगी पनि बेच्छन् ।


यस्तै दैनिकले उनको रोजीरोटी त चलेकै छ, ठमेल आउने देशी, विदेशी पाहुनाले सारंगीको धुन सुन्न र त्यसमा रमाउन पाएका छन् । गन्धर्व जाति र नेपालकै मौलिक लोकबाजा सारंगीलाई चिनाउन गान्धारी मात्र होइनन्, अहिले गोरखा ठाँटीपोखरी ५ का नरबहादुर गन्धर्व, तनहुँ भन्सारका शमशेर गन्धर्व, लमजुङ तार्कुवार ८ का अर्जुन गन्धर्व लगायतका करिब ३५/४० सारंगीवादकको दिनचर्या ठमेलवरिपरि सारंगीको धुन रेटेर नै बित्छ । ठमेलको चोक–चोकमा उनीहरू लोक, झ्याउरे लयका विरह, दुःख र ऐतिहासिक गाथाका गीतहरू गाउँदै धुन बजाएर घुमिरहन्छन् । उनीहरू विदेशी पाहुनालाई सारंगी र धुन चिनाउँछन् र नेपाली चिनोस्वरूप लैजान सुझाउँछन् ।


कुनै–कुनैले धुन मन पराएर सारंगी नै किनेर लैजाने सुरेश बताउँछन् । उनका अनुसार, कस्ता खालका गीत र धुनहरू बजाउने हो, पर्यटकको मागमा भर पर्छ । अरू सारंगीवादकले घुम्दै गाएर सारंगी बेच्ने भए पनि अन्य लोकबाजाहरूलाई पनि चिनाउने उद्देश्यले पसल नै राखेको सुरेश उल्लेख गर्छन् । एक हजार पाँच सयदेखि ८० हजार रुपैयाँ मूल्य पर्ने सारंगीहरू उनको पसलमा छन् । उनी भन्छन्, ‘हप्ता, महिनामा एउटा मात्रै बिक्री हुने पनि हुन्छ ।’ सारंगी बाजा र गन्धर्व जातिको हितका लागि करिब दुई दशकअघि नै ठमेलस्थित ‘गन्धर्व कला संगठन’ नै स्थापना भएको संगठनका पूर्वअध्यक्ष नरबहादुर सुनाउँछन् ।


उनका अनुसार ठमेल क्षेत्रमा गाउँदै हिँड्ने सारंगीवादकहरू नै संस्थामा आबद्ध छन् । तीन दशकअघि ठमेल छिरेका उनी त्यो बेलाको सारंगीप्रतिको मानिसको आकषर्णलाई एकैछिन मौन भएर सम्झन्छन् । ‘त्यतिखेर एक ठाउँमा सारंगी बजाउँदा मानिस झुम्मिएर सुन्थे र आनन्द मान्थे,’ उनी भन्छन् । सारंगीको धुन रेटेर नै दैनिकी राम्रै चलेको अनुभव उनी सुनाउँछन् । अहिले यसप्रति युवापुस्तामा चाख घटेको उनको अनुमान छ । उनी भन्छन्, ‘सुन्नै मन लागे युट्युब च्यानलहरूमा खोजेर सुन्छन्, हामीले बजाको के सुन्थे ।’


सारंगीलाई गन्धर्व जातिको वाद्यवादनको रूपमा लिइन्छ । सारंगीको धुन बजाउँदै हिँड्ने व्यक्तिलाई ‘गाइने’ नामले चिनिन्थो । जसले जन्मजात नै सारंगीलाई रेट्न सिक्थे र गाउँ, समाज, देशमा भएका खबर, घटना, दुःख, खुसी, पर्वका कुराहरूलाई सारंगी बजाउँदै डुल्दै सुनाउँथे । अबको गन्धर्व पुस्तामा यो कुरा लागू नहुने सारंगीवादक शमशेर बताउँछन् । ‘हामीले जेनतेन बजाएर पुर्खा र देशको बाजालाई बचाइराखेका छौं, हाम्रा सन्तानको राम्रो भविष्य र गुजाराका लागि सारंगी बोकेर काम छैन,’ उनी भन्छन् । यसलाई गन्धर्व जातिको जन्मजात मौलिक विशेषता बोकेको बाजाका रूपमा राज्यले बेवास्ता गरेकोमा उनी आक्रोश पोख्छन् ।


‘सारंगी हाम्रो लागि सन्तानजस्तै हो । माया भएर नै यसैलाई रेटेर आधा उमेर गयो,’ ठमेल सातघुम्ती चोकैमा सारंगी रेटिरहेका अर्जुन भावुक हुँदै भन्छन् । सकसपूर्ण दैनिकीका साथ सारंगी बोकेर हिँडेका उनलाई सारंगी छोड्ने त मन छैन तर यसबाट जीविकोपार्जन गर्नै धौधौ छ ।


अब कसले बजाउने सारंगी ?

राज्यको बेवास्ताले सारंगीमै दिनरात खटिरहेका गन्धर्व जातिलाई परिवार चलाउन मुस्किल छ । शिक्षाको अभावमा परापूर्वकालदेखि नै बाबुबाजेको सारंगीलाई आयआर्जनको बाटो बनाइराखेका अहिलेका पुस्तालाई आफ्नो सन्तानले पनि सारंगी नै बोकेर गुजारा चलाओस् भन्ने इच्छा पटक्कै छैन । कक्षा १२ र १० मा अध्ययन गरिहेका नरबहादुरका दुई छोरालाई उनले सारंगी सिकाएका छैनन् । छोराहरूले पढेर राम्रो जागिर गरी अरूले जस्तै राम्रो जीवनयापन गरून् भन्ने उनको सपना छ । ‘मैले जीवनभरि सारंगी बजाएर हिँडेँ, उही दोबाटे गाइनेको परिचय त पाएँ नि,’ उनी भन्छन् । उनीजस्तै सुरेश, शमशेर, अर्जुनका छोराछोरीले पनि सारंगी बजाउँदैनन् ।


संस्कृति र परम्परा जोगाउने उद्देश्यले गन्धर्व जाति आर्थिक हैसियतमा सधैं थिचिरहेको हेर्न नचाहने सबैको एउटै चाहना छ । अर्जुन भन्छन्, ‘हामीलाई सरकार र राज्यले भरथेग गरेमा हामी यसलाई अर्को पुस्तामा पनि निरन्तरता दिन तयार छौं तर हाम्रो कुरा सुन्ने कोही, कहीँ छैनन् ।’ उनको कुरामा सही थप्दै नरबहादुरले सारंगीलाई राज्यले कला, संस्कृतिभन्दा गन्धर्व जातिको पेसाका रूपमा मात्र लिएको आरोप लगाए । उनी प्रश्न गर्छन्, ‘अनि हामीले हाम्रा छोराछोरीलाई किन सिकाउने ?’


विदेशी पर्यटकलाई लोभ्याउन ठमेलका नगन्य होटल तथा रेस्टुरेन्टमा सारंगी बजाउने गरे पनि गाइनेकै रूपमा थोरै पारिश्रममा चित्त बुझाउनुपर्ने बाध्यता सुरेश सुनाउँछन् । आफूपछिका आफ्ना सन्तानले अर्कै पेशस अंगालून् भन्ने उनको पनि उस्तै इच्छा छ ।


प्रकाशित : कार्तिक २२, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?