२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

दमकमा छ्याम लीला

कान्तिपुर संवाददाता

(दमक) — भित्ताभरि थाङ्का चित्र, लस्करै बौद्ध परम्परागत मूर्तिहरू । लामाको एउटा समूह ढ्याङ्ग्रो बजाउँदै नाच्न थाल्यो । कोही लाम्चो आकारको ग्यालिङ बाजा फुक्न व्यस्त । झापाको दमकस्थित साङ्गे छ्योइलिङ गुम्बामा बुधबार बौद्ध सम्प्रदायमा चर्चित छ्याम नृत्य प्रस्तुत भइरहेको बेला विभिन्न देशका ३ सय ७६ जना लामा गुरुहरू भने एउटै लयमा शान्ति मन्त्र जप्दै थिए । 

दमकमा छ्याम लीला

‘यो छ्याम लीलामा आधारित नृत्य हो,’ गुम्बाका अध्यक्ष खेम्पो कोन्छयोग नोर्बु तामाङ लामाले भने, ‘मानिसलाई रिस, राग, मोह र घमण्डबाट मुक्त गरी भित्री मनको आनन्द दिलाउन यो नृत्यले सघाउँछ ।’ उनका अनुसार महायानी बौद्ध सम्प्रदायमा प्रचलित यो नृत्य तान्त्रिक विधिमा आधारित हुन्छ । भारत, तिब्बत, भुटान, नेपाललगायतका बौद्ध सम्प्रदायमा प्रचलित यो नृत्यमा विभिन्न भाव र मुद्रा प्रयोग गरिन्छ । बौद्धमार्गीहरूको ‘बज्रगुरु मन्त्र जप साधना’ को बेला यो अनिवार्य नाचिन्छ । दमकमा सुरु तीनदिने यो साधनामा भने अमेरिका, क्यानडा, सिंगापुर, ताइवान, हङकङ र नेपालका विभिन्न स्थानका गरी सात हजारभन्दा बढी भक्तजन सहभागी भए ।


साधनाकै क्रममा गुरु पद्मसम्भवको १२ फुटको पूर्ण कदको मूर्तिको समेत प्राण प्रतिष्ठा गरिएको थियो । खेम्पो कोन्छ्योगका अनुसार बज्रगुरु मन्त्र जप साधनाले मानिसभित्रको नकारात्मक सोचलाई नष्ट गर्दै दया र करुणाको भाव जगाउन सघाउँछ । ‘यसलाई आयु बढाउने साधनाको रूपमा पनि लिइन्छ,’ उनले व्याख्या गरे, ‘मनमा सकारात्मक भाव निर्माण हुनेबित्तिकै शारीरिक र मानसिक दुवै हिसाबले मानिसमा स्फूर्ति बढ्छ । यसो भए पनि रोगव्याधि नष्ट हुनुका साथै आयु बढ्ने कुरा स्वाभाविक भइहाल्यो ।’


साधनाका मुख्य गुरु भने गुम्बाका प्रमुख लामा पल्युल ल्हाटुल रिन्पोछे थिए । यस्तो साधनाले ‘मानिसको बाहिरीभन्दा भित्री मनको आनन्दका लागि धर्म गर्नुपर्दछ भन्ने मान्यता राख्ने’ उनले बताए । ‘बौद्ध दर्शनमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको मन हो,’ उनले भने, ‘मनभित्रैबाट रिस, राग त्यागेर अरूप्रति सद्भाव र करुणा जगाउन यो साधना महत्त्वपूर्ण मानिन्छ ।’ विशेष गरी यो साधना दोस्रो बुद्धको रूपमा चिनिएका पद्मसम्भवसँग सम्बन्धित छ । आठौं शताब्दीमा उनै पद्मसम्भव नेपाल हुँदै तिब्बत पुगेर बौद्धधर्म स्थापित गरेका थिए ।


तिब्बतको राजा ठ्रिचुङ देउचनको निम्तोमा पुगेका उनले त्यतिबेला तिब्बतमै बनाएको साम्य गुम्बा अहिले संसारभरकै पर्यटनको केन्द्र बन्ने गरेको छ । नेपालमा पनि खोटाङको हलेसी, काभ्रेको तेमाल, गोर्खाको चुम भ्याली र काठमाडौंको फर्पिङको गुफामा उनले त्यतिबेला साधना गरेको बौद्धग्रन्थहरूमा उल्लेख छ । उनै पद्मसम्भवबारे आम जनमानसमा जानकारी नभएकाले पनि ‘वज्रगुरु जप साधना’ आयोजना गरेको अध्यक्ष खेन्पोले बताए ।


साधनाको पहिलो दिन सम्पूर्ण लामा गुरुहरूले दिनभरि पूजा र जप गरेका थिए । दोस्रो दिन ‘छ्याम’ लीलामा आधारित नृत्य र गुरु पद्मसम्भवको पूर्णकदको मूर्तिलाई बाजागाजासहित दमक नगर परिक्रममा गराइएको थियो ।


अन्तिम दिनमा विभिन्न लीला, पूजापाठ र वाङ अभिषेक वितरण गरिएको थियो ।

प्रकाशित : कार्तिक २१, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?