'नेपाली फिल्मको लुक्स फेरिएको छ'

सुशील पौडेल

काठमाडौँ — बलिउड अभिनेता गोविन्दाका लागि नेपाल पानी–पधेंरोजस्तै हो । उनी पशुपतिनाथ दर्शककै लागि पनि आइरहेका हुन्छन् । मंगलबारदेखि उनी काठमाडौंमा छन् । बिहीबारदेखि वीरगन्जमा सुरु हुने तीनदिने नेपाली स्वर्णिम चलचित्र महोत्सवका लागि उनलाई बोलाइएको हो । गत वर्ष पनि उनी सिने सर्कल अवार्डका लागि काठमाडौं आएका थिए । 

‘विवाह गर्नुअघि पनि म पशुपतिनाथ दर्शनका लागि आइरहेको हुन्थें । अब त पत्नी सुनीताका कारण पनि नेपालसँग कनेक्सन बढेको छ । आफसेआफ खिच्छ,’ नेपाली चेली सुनीताका पति गोविन्दाले भने ।

सन् १९८६ मा ‘इल्जाम’ मार्फत् बलिउड छिरेका गोविन्दा पहिले डान्सर थिए । पछि एक्सन पनि गरे ।


कमेडी फिल्म गर्न थालेपछि भने उनी स्थापित नै भए । उनका वर्षमै १४/१५ वटा फिल्म रिलिज हुन्थे । सन् १९९९ मा बीबीसी न्युजले गरेको पोलमा गोविन्दा विश्वकै ‘ग्रेटेस्ट स्टार’ को उत्कृष्ट दसको सूचीमा समेत परे । ‘त्यो बेला जुन फिल्म मिल्छ, गर्दिन्थें । न विषयवस्तु हेर्थें, न कास्टिङ । तर तिनै फिल्म हिट भइदिन्थे,’ हँसिलो मुद्रामा प्रस्तुत भए ।


यी अभिनेताले पछिल्लो समय ‘भागम भाग’, ‘पार्टनर’ र ‘किल दिल’ जस्ता फिल्म गरेपछि भने जुन पायो त्यहीं फिल्म गर्न छोडिदिएको बताए । तर सँगसँगै उनले आफू बलिउडको ग्रुपिज्मको सिकार पनि भइरहेको तीतो पोखे । ‘बलिउडमा ग्रुपिज्म छ । म बलिउडका दुई समूहबाट बाहिरै छु । एउटा अमिताभ बच्चन ग्रुप र अर्को सलमान खान ग्रुप । अमिताभसँग त ‘बढे मियाँ छोटे मियाँ’ गरेपछि एकाध अन्तरवार्तामा बाहेक भेटेको पनि छैन । सलमानसँग पनि पछिल्लो फिल्म ‘पार्टनर’ गरेको ११ वर्ष भइसक्यो,’ गोविन्दाले फिल्म क्षेत्रमा बढी सोचेर काम गर्न थाल्यो भने काम नलाग्ने तर्क गर्दै थप्छन्, ‘तर सबैजना सोचेर नै ग्रुपिज्म गर्छन् ।’


त्यसो त उनले आफूलाई फिल्मको अफर आइरहेको जिकिर गर्दै अलि बढी विचार गरेर मात्रै गर्न थालेको र राम्रो नलागेका फिल्म नगरेको बताउँछन् । राजनीतिमा लागेर केही समय फिल्म क्षेत्रबाट ओझेल परेका गोविन्दाले ‘पार्टनर’ बाट जबरजस्त कमब्याक त गरे । तर पहिले जस्तो फेरि फिल्ममा देखिएनन् ।


‘यो सबै समयको खेल हो । फिल्म त मैले राम्रै छानेको थिएँ । मणिरत्नमको फिल्म खेल्न खोजेको थिएँ, तीन वर्ष ढिलो भइदियो । रवि चोपडाको फिल्म गरें, बन्द भयो । अष्टविनायकको गरें, रिलिज नै हुन सकेन । उद्योग यस्तो डरायो कि आखिर गोविन्दाका फिल्म किन बिक्दैनन् ?’ उनले बलिउडका केही ठूला कम्पनीले आफ्नो

काम बन्द गराइदिएको आरोप लगाउँछन् । ‘हुन पनि ती कम्पनीले सारा फिल्म किनें तर मेरा फिल्म किन्नै चाहेनन् । कतै ती कम्पनीका मालिकहरू मेरो काममा अवरोध त पुर्‍याइरहेका थिएनन् ?’


उनीहरूलाई अरू कसैसँग समस्या थिएन, केवल गोविन्दासँग समस्या थियो । ती व्यक्तिहरू एउटा गोविन्दाको पछाडि लाग्नुको कुनै कारण थिएन तैपनि गोविन्दाले आफू यस्तो फोहोरी राजनीतिमा पर्न नचाहेको जिकिर गर्दै भने, ‘मलाई एउटै सत्य थाहा छ, जहाँबाट तपाईं को समय सुरु हुन्छ, त्यहींबाट अच्छा समय सुरु हुन्छ । जब मेरो समय चल्छ, तिनको पनि केही लाग्नेवाला छैन । मसँग जुन समय छ, त्यही बेला असल काम गर्न सकूँ ।’


गोविन्दाले धेरै फिल्म खेलेका मात्रै छैनन्, एउटै फिल्ममा धेरै चरित्रसमेत निर्वाह गरेका छन् । आखिर यो सबै उनले कसरी व्यवस्थापन गर्न सक्छन् ? सवालको जवाफ दिँदै उनले भने, ‘एकपटक मैले दिमागमा यसरी काम गर्नेछु भनेर सोचेपछि कहिल्यै बिर्सदैनथें । पूरा दिन ४, ५ वटा फिल्मको सुटिङ पनि फटाफट सकिदिन्थें । हरेक चरित्र यसरी निर्वाह गर्थें कि सबै याद छ । सम्पादनमा कुनै सट देखिनँ भने पनि त्यो कहाँ गयो भनेर सोध्थें । मेरो सम्झने क्षमता देखेर अरू चकित पर्छन् ।’


कुनै बेलाका ‘स्टार’ को करिअरमा यतिबेला ग्रहण लागेजस्तो भएको छ । आरोह र अवरोह दुवै भोगेका उनलाई अहिले फ्रस्टेसन कत्तिको होला ? भन्छन्, ‘यदि ममीको आशीर्वाद र टाइम फ्याक्टरको आइडिया नहुँदो हो त सायद यो बेला ममा फ्रस्टेसन हुन्थ्यो होला । भाग्यमा जे लेखेको छ, त्यो भएरै छोड्छ । नकारात्मक पक्षतर्फ नहेरी हामी आफ्नो लागि अझै इमानदारी साथ के राम्रो गर्न सक्छौं, मिहिनेत गर्न सक्छौं भनेर लाग्नु जरुरी हुन्छ । चल्ने त मेरो मिहिनेत हो । हावादारी कुरालाई म नजरअन्दाज गरिदिन्छु ।’


८० को दशकमा गोविन्दा डान्स र एक्सनमा थिए । ९० को दशकमा कमेडियनको छविमा जमे । तर उनी बलिउड भने लेखक बन्ने उद्देश्यले छिरेका रहेछन् । ‘हुन त म कलाकार भएँ । तर म यहाँ लेखक बन्न आएको थिएँ । आफू हिरो वा डान्सर हुन्छु होला भन्ने सोच नै थिइनँ । मेरा जति पनि हिट फिल्म छन्, ती सबैको सेकेन्ड हाफ मैले नै लेखेको हो । सबै भन्थे, यो गोविन्दाको फिल्म कसले लेख्छ ? यति धेरै हिट कहाँबाट आउँछ ?’


पटकथाकारले लेखिसकेपछि त्यसमा दम देखिएन भने गोविन्दाले ‘टेक ओभर’ गरेर आफैं दोस्रो भाग लेखिदिने रहेछन्, बिना जस । पछि तिनै फिल्म हिट हुन्थे ।


नेपाली फिल्मको स्वर्णिम महोत्सवका लागि यहाँ आएका गोविन्दा यतिबेला नेपाली फिल्म क्षेत्रमा पनि नयाँ सोच, प्रविधिमा परिवर्तन आइरहेको ठान्छन् । भन्छन्, ‘नेपाली फिल्मको लुक्स यति धेरै बदलिएको छ कि लाग्छ, कुनै इंग्लिस पिक्चरजस्तो । हो, यही सही समयमा अब जति मिहिनेत गर्नुहुन्छ, त्यति राम्रो हुन्छ ।’


उनले आफू नेपाल र भारतको सहकार्यमा फिल्म बनाउन चाहेको पनि खुलासा गरे । ‘कुनै समय हामी (नेपाल–भारत) ले कला, संस्कृति, भाषा, संगीतमार्फत् पूरा विश्वलाई डोमिनेट गरेका थियौं । अब फेरि साथ चल्नु जरुरी भएको छ । त्यसलाई पुनः स्थापित गर्नु जरुरी छ । यसका लागि दुई देशको सहकार्य आवश्यक छ,’ उनले भने ।


प्रकाशित : कार्तिक २१, २०७६ ०८:५४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पछुताए मुरलीधर

सुशील पौडेल

मुरलीधर यतिबेला स्वदेशमा छन्  । एक फिल्म अवार्डका लागि काठमाडौं आएका उनी दसैं मनाउन सिरहाको औरही गाउँपालिकास्थित घर पुगे, ठुल्दाइको हातको टीका लगाउन  ।

मुरलीधर दुई छोरा र पत्नीसहित मुम्बई बस्दै आएका छन् । उनी धेरैपटक नेपाल फर्कन खोजे तर सकेनन् ।

‘दायित्वले मान्छेलाई बाध्य बनाउने रहेछ । जेठो छोरा जन्मेपछि फर्कौं भनेको थिएँ । तर श्रीमतीले मानिनन् । पहिलो बच्चा अप्रेसनबाट जन्मेको थियो । कान्छो छोरो पेटमा थियो । यस्तो अवस्थामा गाउँमा गएर बच्चा जन्माउनु झन् जोखिम हुन सक्छ भनिन् । ठिकैजस्तो लाग्यो । पछि पनि फेरि फर्कन खोजें । श्रीमतीले फेरि बच्चाहरूको पढाइ सकेपछि जाऊला भनिन् । ठिकै हो जस्तो लाग्यो ।’

यतिबेला कान्छो छोराले पनि स्नातक उत्तीर्ण गर्दै छन् । मुरली दायित्वबोधबाट मुक्त हुँदै छन् । भन्छन्, ‘स्वदेश फर्किने कतिचोटि योजना बनाएँ । तर फेल भयो । अब त दायित्वबाट मुक्त भएको छु । बच्चाहरूको पढाइ सकियो । अब यतै फर्किने हो ।’ मुरलीधर गायक, संगीतकार र गीतकार मात्र हैनन्, कलाकार, निर्देशक र निर्माता पनि हुन् । नागरिकतामा मुरली मिझार भए पनि मुरलीधरबाटै आफूलाई चिनाएका उनी स्वदेश फर्किएर नेपाली गीत, संगीत र फिल्म क्षेत्रमा काम गर्न चाहन्छन् । ‘मैले जानेको नै यही दुई चिज हुन्, गाउन र अभिनय । यता आएर शास्त्रीय संगीतको एकेडेमी खोल्न मन छ ।’

कान्छो छोरा जन्मेकै वर्ष मुरलीधरको फिल्मी करिअरले गति लियो । ‘जुन दिन कान्छो जन्मियो, त्यही दिन मैथिली फिल्म ‘सस्ता जिनगी महग सिनूर’ साइन गरें । आधा लगानी समेत गरें । पछि फिल्म सुपर डुपर हिट भईदियो ।’ त्यसपछि मुरलीधरको हिम्मत अलिक बढ्यो । नेपाल फर्किने सपना थाँती नै राखेर संघर्ष अझ बढाए ।

निर्देशन पनि सुरु गरे । तर फेरि जस्ताको तस्तै । ‘कति प्रोजेक्टका निर्माता भागिदिए । कति अड्किए’ बल्खुस्थित आफ्नै बहिनी उर्मिलाको घरमा गफिँदै उनले भने, ‘यतिबेला फेरि एउटा मैथिली फिल्म पाइपलाइनमा छ । निर्माताहरू भेट्न नेपाल नै आएका छन् ।’ मुरलीधर भने अब फर्केर नेपाली फिल्म निर्देशन तथा अभिनय गर्न चाहन्छन् । ‘तर निर्माता पाइरहेको छैन । यो मेरा लागि ड्रिम प्रोजेक्ट पनि हो । यस्तो खालको फिल्म भारतमा समेत बनेको छैन,’ उनी नेपालकै घटनाक्रमलाई लिएर व्यंग्यात्मक हास्य प्रस्तुति र प्रेमकथालाई संयोजन गरी फिल्म बनाउन चाहन्छन् । यसका लागि उनले स्क्रिप्टसमेत तयार पारिसकेको बताए । ‘मेरा फिल्म वा रचना चार तत्त्व प्रेम, युद्ध, अपराध र शंकामा आधारित हुन्छ । संसारदेखि गीत, संगीत, साहित्य, फिल्म सबै सृजना यही चार खम्बामा अडिएको हुन्छ’, उनको मान्यता छ । धेरै विधामा हात हाले पनि मुरलीधरलाई गायन बढी प्रिय लाग्छ । उनी संगीतलाई आफ्नो विरासत भन्न रुचाउँछन् । उनका बुबा नथुनी संगीतज्ञ नै थिए ।


‘मेरा दुई छोराहरू पनि सुरिला छन् । बाबुआमाको संघर्ष देखेर हो वा किन हो, उनीहरूले यसलाई करिअर बनाउन चाहेनन् । सोखका लागि मात्रै गाउँछन्,’ मुरलीधरले थोरै गुनासो पोखिहाले ।

२०४२ साल फागुनमा रिलिज फिल्म ‘सम्झना’ बाट फिल्म क्षेत्रमा कलाकारका रूपमा होमिनुअघि नै मुरलीधर गाउँघरमा नौटंकी गर्दै हिँड्थे । फिल्ममा आएपछि भने उनी खलपात्रमा ख्याति कमाए । तर जति ख्याति कमाए पनि आखिर खलपात्र खलपात्र नै हुँदो रहेछ । मुरलीधरको अनुभव यस्तै छ । भन्छन्, ‘विडम्बना नै यही छ । मान्छेले सुन्दर, रमाइलो र हरियाली मात्र देख्न रुचाउँछ ।

सामन्त, खराब प्रवृत्ति भएको मान्छेलाई फिल्ममै पनि देख्न रुचाउँदैनन् ।’ खलपात्र निर्वाह गर्दाका उनीसँग थुप्रै रमाइला किस्सा छन् । ‘बिग बजेट फिल्म ‘मासुका’ मा मुख्य भिलेनमा थिएँ । त्यो फिल्म आमाले हेर्नुभएछ । हिरोले मलाई खोलामा झ्याँक्दै पिटेको देखेपछि आमा बेहोस हुनुभएछ । पछि फोन गरेर ‘बाबु यस्तो रोल नगर । रोल गर्दै नगर । त्यस्तो मीठो गाउँछस्, बरु गीत नै गा । किन यस्तो नाटक गर्नुपर्‍यो ? नगर’ भन्नुभयो । मैले हस् भनिदिएँ,’ मुरलीधरले हाँस्दै भने, ‘तर मैले मानिनँ । त्यसपछि उहाँले पनि कहिल्यै मेरा फिल्म हेर्नुभएन ।’

तैपनि उनी खलपात्रकै भूमिका किन गरिरहन्छन् त ? मुरलीधर भन्छन्, ‘म खोलाको पानीजस्तै हो । जसले जुन रोलमा बगाउन चाहन्छ, म त्यसैगरी बगिदिन्छु । तर अब भिलेन चरित्र धेरै भयो कि जस्तो लाग्न थालेको छ । सकारात्मक चरित्रमा पनि खेल्न चाहेको छु । तर के गर्ने ? प्रस्ताव भिलेनमै आउँछ । पर्दामा डरलाग्दो देखिने मुरलीधर वास्तविकतामा मिजासिला र रमाइला छन्, चरित्रभन्दा ठीक विपरीत । भिलेनको चरित्र निर्वाह गर्नु अत्यन्तै कठिन काम ठान्ने उनी त्यस्तो चरित्रलाई दिमागमा हालेर त्यसको हाउभाउ, बोल्ने, लगाउने, खाने शैली, उठबसको तरिका कसैबाट लिएर उतार्नु चुनौतीपूर्ण हुने बताउँछन् । मुरलीधर यतिबेला एउटा तनावमा देखिए ।

उनको रचना, संगीत र गायन रहेको गीत ‘निष्ठुरीलाई माया गरी...’ अर्का गायक राजेशपायल राईले ‘बिनाअनुमति’ रेकर्ड गराइदिएपछि चिन्तित देखिए । कुनै बेला राजेशपायलले भेटका क्रममा गीत राम्रो लागेकाले आफूले पनि गाउन चाहेको बताएपछि मुरलीधरले हुन्छ नि त गाऊ भनेका रहेछन् । ‘त्यो बेला मलाई के थाहा, उनले रेकर्ड नै गर्छन् भनेर,’ मुरलीधरले त्यसपछि पनि राजेशपायललाई उक्त गीत हटाउन धेरैपटक अनुरोध गरेको र उनले पनि हटाउँछु भनेर लामो समयदेखि झुलाएको बताए ।

भने, ‘गीत हटाउनुको सट्टा राजेश भाइले कहिले सिंगापुर, कहिले हङकङ कन्सर्टका लागि लग्छु भनेर लोभ्याउन खोजे । मैले पहिलो सर्त नै गीत हटाउन भनिरहें । मानेनन् ।’ केहीअघि नेपाल आइडलमा समेत राजेशपायलले सोही गीत गाउँदा आफ्नो नामसमेत नलिएपछि मुरलीधरले दिक्क माने । ‘संगीतको त्यत्रो कार्यक्रममा उनले मेरो नाम त लिन्छन् होला भन्ने लागेको थियो । न उनले नाम लिए, न त स्क्रिनमा मेरो नाम नै दिइयो,’ अझ उदेक त मुरलीधरलाई त्यतिबेला लागेछ, जब सोही गीत उनले एक कन्सर्टमा गाउँदा कसैले सुनाएछ, ‘यो गीत त राजेशपायलको हो नि । तर दाइले कस्तो मीठोसँग गाइदिनुभयो ।’ उनले धन्यवाद मात्रै भन्न सके रे ।

‘तर त्यो कुराले मेरो मनमा कस्तो पीर पर्‍यो होला ? एउटी आमाले नौ महिनासम्म गर्भमा राखेर प्रसव गरेर जन्माइहुर्काई ठूलो बनाएको सन्तानलाई अरूले यो फलानोको सन्तान हो भनेर चिन्दै चिनेन भने, आमालाई कस्तो पीर पर्ला ? मलाई त्यस्तै भयो । अब म राजेशलाई के गरुँ ?’ यतिबेला उक्त प्रश्नको उपचार खोजीमा छन् मुरलीधर ।

‘निष्ठुरीलाई माया गरी...’, ‘उडायो सपना सबै हुरीले...’ जस्ता प्रायः गीतमार्फत् मुरलीधर ठूलो उदासी र वेदना पोख्छन् । यी सृजनालाई उनी कुनै बेलाका आफ्नै असफल प्रेमकै उपज मान्छन् । ‘जति पनि स्रष्टा छन्, जे लेख्छन्, आफैं वरिपरिका हुन्छन्, नत्र निस्कनै सक्दैन । मसँग पनि यस्तै भएको हो । त्यसैबाट म सृजनाको ऊर्जा पाउँछु ।’ गीत लेखेपछि पुराना गाँठा परेका सम्झना फुक्दै जाने उनी बताउँछन् । अन्त्यमा बिट मार्दै भने, ‘तर म भाग्यमानी छु, मैले यस्ती श्रीमती पाएँ । जसले हर कुरा थाहा हुँदाहुँदै पनि माफ गरेर सधैं साथ दिइरहेकी छन् । मेरा हरेक रचना उनले ओके भनेपछि मात्रै पारित हुन्छ । उनी मेरो जीवन र सृजना दुवैकी सहयात्री हुन् ।’

प्रकाशित : कार्तिक १०, २०७६ ०८:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×