कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

“हामी पग्लिरहेका छौं”

सुशीला तामा‌ङ

काठमाडौँ — सुरुमा उनले सेतो प्लास्टिकको झोलाबाट भुइँमा नुन खन्याइन् । त्यसपछि दुई हातमा आइसका डल्ला लिई वरिपरि घुम्न थालिन् । उनी घरी नुनलाई खुट्टाले यताउति छरिहेकी थिइन् घरी हातमा रहेको आइसका डल्लासँगै खेलिरहेकी थिइन् । खेल्दाखेल्दै कलाकार सौरगंगा दर्शनधारीका हातबाट ती सबै पग्लेर विलिन भए । छताछुल्ल नुन पनि पग्लिँदै गयो ।

“हामी पग्लिरहेका छौं”

प्लास्टिक भने यथावत् नै रह्यो । कृत्रिम वस्तुहरूको अत्यधिक प्रयोगका कारण मान्छे र प्रकृतिमा परेको असरमाथि कलाकार दर्शनधारी पर्फमेन्स आर्ट पस्किँदै थिइन् । शीर्षक थियो, ‘हामी पग्लिरहेका छौं ।’


सोमबार बौद्धस्थित तारागाउँ म्युजियममा दर्शनधारीले प्रकृतिका महत्त्वपूर्ण विशेषताहरू लोप हुँदै गएको प्रति यसरी चिन्ता जनाइन् । हिँउ पग्लेझैं हामी पनि पग्लिँदै गएका छौं भन्ने भावलाई चुपचाप उनले शरीरको हाउभाउमार्फत् देखाइन् । ‘नुन हाम्रा लागि महत्त्वपूर्ण भए पनि यसको महत्त्वलाई मानिसले बुझिरहेका छैन,’ उनले भनिन्, ‘कृत्रिम रूपमा बनेका प्लास्टिक मान्छे र प्रकृतिका लागि हानिकारक भएर पनि यसबाट भने टाढा रहन सकेका छैनौं ।’


बिन्दु स्पेस फर आर्टिसले गरेको ‘काठमाडौं इन्टरनेसनल पर्फमेन्स आर्ट फेस्टिभल’ को दोस्रो दिन दर्शनधारीलगायत चिनियाँ कलाकार बिङयाङ यिन, भारतीय कलाकार सतादरु सोभान बान्दुरी, नेपाली कलाकार प्रमिला लामा, पृथ्वी श्रेष्ठ, कुन्तीश्री थापालगायतका ८ जना कलाकारले मानव, प्रकृति, जीव र सांस्कृतिक पक्षलाई मुख्य विषयवस्तु बनाउँदै कला प्रदर्शन गरे ।


प्रमिलाले ‘जरा’ शीर्षकमा आफ्नै परिवार र आफूले भोगेको भोगाइलाई कलामा देखाइन् । उनको कलामा सुकेको रुख, रंगीन भुइँ र त्यसको वरिपरि कुखुराको फुल प्रयोग गरिएको थियो । रुखलाई प्रतीकात्मक रूपमा आफ्नो बाबु र फूलहरूलाई आफूजस्तै परिवारका सदस्यका रुपमा उनले कलामा प्रस्तुत गरेकी थिइन् । सुरुमा ठाडो भई उभिएको रुख कमजोर बन्दै ढलेपछि रंग र फूलहरू छताछुल्ल हुन्छन् । हालै बाबुलाई गुमाएकी उनले परिवारमा मूल जराजस्तै भएर बसेको मान्छे नै नभएपछि अन्य सदस्यहरू कलामा देखाइएका फूलजस्तै लथालिंग हुने अनुभव सुनाइन् ।


त्यस्तै, चिनियाँ कलाकार बिङयाङले सेतो र कालो रंगमा रहेको गोलो कपडाको टुक्रालाई पाँच भागमा काटी त्यसलाई आफ्नै शरीरमा बेरेर कला प्रदर्शन गरे । ‘नो द ब्लाक गार्ड ह्वाइट’ शीर्षकमा प्रदर्शन गरिएको कलाले मानिसको जीवनमा हुने सकारात्मक र नकारात्मक पक्षलाई सेतो र कालो रंगमार्फत् जनाइएको उनले बताए । प्रदर्शनीमा नै कलाकार पृथ्वीले पत्रिकालाई प्रयोग गर्दै मान्छेको मनोवैज्ञानिक प्रवृत्तिलाई उतारे । समयअनुसार वरिपरिका घटना र कथालाई बिर्संदै जाने र परिवर्तनशील समयसँगै नयाँ परिस्थिति अंगाल्ने मान्छेको मानवीय स्वभावमा उनका पर्फमेन्स आर्ट आधारित थियो ।


त्यस्तै, कलाकार कुन्तीश्रीले प्रकृतिमा रहेका वस्तुप्रति मानिसले गर्ने व्यवहारलाई प्रस्तुत गरिन् । ‘मिटिङ द पोइन्ट’ शीर्षकमा उनले प्रकृतिमाथि भइरहेको मानिसको अमानवीय हस्तक्षेप देखाइन् । मन परेको गमलालाई काखमा खेलाई–खेलाई अन्त्यमा त्यसको पातलाई समेत खाएर त्यसलाई फुटाई नष्ट गरेको दृश्य निकै रोचक थियो । मानिसले आफ्नो स्वार्थपूर्तिका लागि अरूको अस्तित्व कसरी समाप्त गर्छन् भन्ने भाव निकै शक्तिशाली थियो उनको प्रस्तुतिमा । ध्रुवराज शर्माले भने ‘बधशाला’ शीर्षकमा बेसार, मासु र रातो रंगलाई प्रयोग गर्दै पर्फमेन्स आर्ट देखाए । टाउकोमा जनावरको सिङ, शरीरभरि बेसार थियो भने उनको हातमा मासु र रातो रंग लतपतिएको थियो । ‘पशुलाई मारेर खाने मानिसलाई एकपटक पशुकै रूपमा प्रस्तुत गर्दा कस्तो भाव पैदा हुन्छ भन्ने पक्षलाई कलामा देखाएको हुँ,’ उनले भने ।


भारतीय कलाकार सतादरुले भने नेपालको सांस्कृतिक महत्त्व र प्रविधिको विकासलाई लिएर कला प्रदर्शन गरे । उनले चम्किलो काँचको बल, प्रकाश, स–साना कपहरूसँगै कपडालाई कलामा समावेश गरेका थिए । मीठो नेपाली चियालाई कपसँग र यहाँका कला, विभिन्न प्रविधिलाई प्रकाशसँग तुलना गरेर उनले कलामा देखाएका थिए । ‘नेपालका प्राचीन कलाकृतिहरूले मलाई निकै प्रभाव पारेको छ,’ उनले भने । तारागाउँ आर्ट म्युजियममा नै मंगलबार पनि जापान, नेपाल, बंगलादेशलगायत देशका कलाकारहरूको प्रदर्शनी गरे । नेपालबाट प्रदर्शनीमा मनीषलाल श्रेष्ठ, सरिता डंगोललगायतका ६ जनाले प्रस्तुति दिएका थिए ।


प्रकाशित : कार्तिक २०, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?