कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

तीन फिल्म उत्कृष्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — तीन नेपाली लघु फिल्मलाई पुरस्कृत गर्दै ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ को आठौं संस्करण सकिएको छ । राजधानीको जमलस्थित नाचघरमा सोमबार सम्पन्न समापन समारोहमा लघु फिल्म विधाबाट सुनील पाण्डेको ‘अनन्त यात्रा’, आशिष भण्डारीको ‘पेन्सिल’ र भीमलाल श्रेष्ठको डकुमेन्ट्री ‘मकै विवाह’ लाई उत्कृष्ट घोषणा गरिएको हो । 

तीन फिल्म उत्कृष्ट

पुरस्कृत फिल्मलाई जनही पाँच हजार रुपैयाँसहितको ‘आदिप प्रतिभा चलचित्र पुरस्कार–२०१९’ दिइयो । लघु फिल्म ‘पेन्सिल’ मा बालबालिकालाई जति धेरै दु:ख दियो उनीहरू त्यत्तिकै झगडालु र हिंस्रक हुँदै जान्छन् भन्ने विषय समेटिएको थियो । त्यस्तै ‘अनन्त यात्रा’ मा नेपाली हिन्दु समाजमा प्रचलित गौदान संस्कृतिलाई समेटिएको थियो । डकुमेन्ट्री ‘मकै विवाह’ मा भने गोरखाको धर्चे गाउँपालिकाको लाप्राकमा बाली लघाउनुअघि पूजाआजासहित मकैको विवाह गर्ने प्रचलन समेटिएको थियो ।


महोत्सवमा अफ्रिकाको नाइजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी/नर्वे/जर्मनी, बेलायत र नेपालसहित १२ देशका २५ ओटा फिल्म थिए । महोत्सवमा बोल्दै फ्रान्सका फिल्म निर्देशक फरिद असदले महोत्सव निकै अर्थपूर्ण भएको बताए । रुवान्डाका फिल्म फेस्टिभल निर्देशक तथा फिल्मकर्मी हाकिजमाना पाइर्रीले पहिलोपटक नेपाल आएर फिल्म महोत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।


यस्तै चिनियाँ चलचित्र निर्देशक तथा अफ्रिका विज्ञ डा. योङले फिल्महरूमार्फत् समाजको गहिरो अध्ययन गर्न सकिने दाबी गरे । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन (सीजेएमसी) ले गर्दै आएको महोत्सवको यो आठौं संस्करण हो । नेपालीलाई अफ्रिकासँग र अफ्रिकालाई नेपालसँग फिल्मका माध्यमबाट जोड्न महोत्सवलाई निरन्तरता दिइएको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले बताइन् ।

प्रकाशित : कार्तिक २०, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?