हमालको नेतृत्वमा ‘सप्तरंग २’

कान्तिपुर संवाददाता

काठमाडौँ — देशका सातै प्रदेशलाई कलामार्फत् जोड्ने उद्देश्यले गतवर्षदेखि सञ्चालित सांगीतिक कार्यक्रम ‘सप्तरंग’ को दोस्रो संस्करण कात्तिक २० देखि सुरु हुने भएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ को बिर्तामोडबाट सुरु हुने उक्त सांगीतिक यात्राले गण्डकी प्रदेशको पोखराबाट बिट मार्ने बताइएको छ । 

हमालको नेतृत्वमा ‘सप्तरंग २’

कार्यक्रम आयोजक गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले यसपटक भिजिट नेपाल २०२० लाई समेत लक्षित गर्दै प्रस्तुति तय गरिएको बताए । राष्ट्रियतालाई प्राथमिकता दिँदै सबै कार्यक्रम नि:शुल्क हेर्ने व्यवस्था गरिएको घिमिरेले जनाए । पहिलो शृंखला पनि सद्भाव र ऐक्यबद्धतालाई केन्द्रमा राख्दै सम्पन्न गरिएको थियो ।


दोस्रो शृंखलाका लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, हिमाल सागर, प्रकाश सपुत, रवि ओड, हास्यकलाकार जितु नेपाल र गायिका मेलिना राईका प्रस्तुति हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । सातै जना कलाकारले देशका सातै प्रदेशमा गएर आफ्ना प्रस्तुति दिनेछन् । वीरगन्जमा कात्तिक २२, चितवनमा कात्तिक २४, नेपालगन्जमा कात्तिक २६, सुर्खेतमा कात्तिक २८, महेन्द्रनगरमा कात्तिक ३० र पोखरामा मंसिर ४ गते ‘सप्तरङ्ग २’ ले कार्यक्रम गर्ने भएको हो ।


‘हामी कलाकार भएका नाताले कार्यक्रममा प्रस्तुती दिनु नौलो विषय त हैन । तर यो खास छ’ पत्रकारसँग बोल्दै कलाकारको नेतृत्व लिएका अभिनेता हमालले भने, ‘किनकी यस्तो कार्यक्रमले हामी देशबासीलाई एकआपसमा जोडेर सूत्रबद्ध मात्र गर्ने नभई हामीमा भएको विविधतालाई पस्केर अझ मजबुत समेत पार्ने विश्वास लिएको छु । यो अभियानमा सम्पूर्ण जनता जोडिनु हुनेछ भन्ने आशा छ ।’ दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगीतिक यात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजी समेत गरिने आयोजकको दाबी छ । ‘कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानिय कला, संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको छ’ गृष्मा ब्रोडकास्टिङका घिमिरेले भने ।


प्रकाशित : कार्तिक १९, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?