धर्मराउँदै किङको सत्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउडमा उनलाई ‘किङ’ को उपाधि दिइएको छ । तीन दशक लामो फिल्मी करिअरमा ८० भन्दा बढी फिल्म खेलिसकेका उनै शाहरूख खानको गति यतिबेला केही धीमा भएको छ । १४ फिल्मफेयर अवार्ड पाइसकेका शाहरूखको फ्यान फलोइङ अझै पनि लोभलाग्दो छ । उनलाई ट्वीटरमा पछ्याउनेको संख्या नेपालको जनसंख्या भन्दा धेरै छ ।

उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीपछिका सर्वाधिक फलोअर्स पाएका भारतीयसमेत हुन् । तीन करोड ९१ लाखभन्दा धेरैले फलो गरेका उनी विश्वभरमा सर्वाधिक फलोअर्स हुनेमा ३१ औं स्थानमा छन् । आधिकारिक फेसबुक पेजमा पनि शाहरूखलाई २ करोड ९३ लाख र इन्स्टाग्राममा १ करोड ९१ लाखले फलो गरेका छन् ।

विश्वमै सफल स्टारमा गनिने शाहरूखको पछिल्लो फिल्म ‘जिरो’ रिलिजको एक वर्ष बितिसक्दा नयाँ फिल्म आएको छैन । तत्काल आउनेवाला पनि छैन । सन् २०१३ मा ‘चेन्नई एक्सप्रेस’ हिट भएपछि उनले खासै सफलता चाख्न पनि पाएका छैनन् । २०१४ को ‘ह्याप्पी न्यु इयर’ ले भरथेग गरे पनि त्यसपछिका उनका फिल्मले न त बक्सअफिसमा पैसा कमाउन सके, न त गतिलो समीक्षा नै बटुले । यही कारण पनि बलिउडका किङको सत्ता धर्मराएको छ । यो कुरा स्वयं शाहरूखले पनि अनुभूत नगरेका हैनन् । बेलाबखत उनले व्यक्त गरेका धारणामा पनि नयाँ फिल्म छान्न र खेल्न आँट्न नसकेको बताउँदै आएका छन् ।

हालैको एक अन्तरवार्तामा समेत शाहरूखले छोरालाई देखाउनका लागि भए पनि गतिलो फिल्मको खोजीमा रहेको बताएका छन् । गत शनिबार मात्रै आफ्नो ५४ औं जन्मदिन मनाएका शाहरूखलाई आफ्नो स्टारडम भ्यालुबारे पनि छोरालाई देखाउनुरहेछ । हालैको जन्मदिनमा आफ्नो निवास मन्नत अगाडि भेला भएका हजारौं फ्यान, समर्थकको भीड देखेर चकित परेका छोरा अब्रामले कलाकारका नाताले आफूलाई दिइएको मायाका कारण बुझाउनका लागि पनि गतिलो चरित्रमा काम गर्न चाहेको बताएका छन् । ‘आर्यन र सुहाना ‘बाजिगर’ र ‘कुछकुछ होता है’ हेरेर हुर्किए । तर अब्रामकै लागि पनि मैले गतिलो चरित्रमा एउटा राम्रो व्यावसायिक फिल्म खेल्न जरुरी भएको छ । ताकि उसले पनि थाहा पाओस्, उसको बुबा पनि ठूलो स्टार हो ।’ शाहरूखका जेठा छोरा आर्यन २२ वर्ष र छोरी सुहाना १९ वर्षकी भए पनि अब्राम बल्ल छ वर्षमा छन् । अब्राम अर्का अभिनेता आमिर खानका भने फ्यान हुन् ।

‘आर्यनले मलाई अबको तीन, चार वर्षभित्रमा गतिलो फिल्म खेलेर यतिका मान्छेले किन तपाईंलाई माया गरिरहेका छन् भन्ने कुरा अब्रामलाई थाहा दिन जरुरी छ भनिरहेको छ । त्यसका लागि पनि मैले नयाँ चरित्रका लागि कडा मिहिनेत गरेर यस कुराको प्रमाणित गर्नु पर्ने बाध्यता आइलागेको छ,’ शाहरूखले यसका लागि आफू ‘ग्रे क्यारेक्टर’ प्रति लालायित रहेको बताएका छन् । ‘बाजिगर’, ‘अन्जाम’, ‘डर’ जस्ता फिल्ममा शाहरूखले निर्वाह गरेको ग्रे क्यारेक्टरकै कारण आजसम्म पनि उनको अभिनयको तारिफ हुने गर्छ । उनले हिजोआज आफूलाई ‘हिरो टाइप’ का चरित्रदेखि वाक्क लागिसकेको समेत बताए ।

‘मलाई हिरो टाइपमा रुचि छैन । बलिउडमा आउनेबित्तिकै पनि भनेको थिएँ, यहाँ म क्यारेक्टर रोलका लागि आएको हुँ । त्यसो भन्दा मेरा निर्माता, निर्देशक मदेखि रिसाएका पनि थिए,’ अभिनेता खानले केही गम्भीर हुँदै थपे, ‘अब पनि यदि हामीले हिरोकै भूमिकामा पनि अलिकति केही नयाँ आयाम दिन सकेनौं भने अहिलेका सृजनशील युवा पिँढीले गन्ने छैनन् ।’

प्रकाशित : कार्तिक १९, २०७६ ०८:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

हालखबर : झन् हँसिला मदनकृष्ण

फूलमान वल

काठमाडौँ — अघिल्लो बिहीबार वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ ललितपुर सुनाकोठीस्थित भ्याली होम्सको फन्को मार्दै थिए, एक्कासि हिँड्न अल्छी लाग्यो । अरूबेला उनी दुई–तीन फन्को मारेर आराम लिन्थे । आफ्नै घर रहेको भ्याली होम्स परिसर एकपटक फन्को मार्दा नौ सय पाइला हुन्थ्यो । उनी प्राय: गनेरै इभिनिङ वाक गर्थे । केही दिनयता भने उनलाई नौ सय पाइलामै अल्छी लागेर आउँथ्यो ।

स्याँस्याँ गर्दै थकाइ मारिरहेको बेला उनले पत्नी यशोदा सम्झे । समयमै रोग पत्ता लगाउन नसक्दा दुई वर्षअघि क्यान्सरका कारण उनले पत्नी गुमाउनुपरेको थियो । ‘यसपछि अस्पताल दौडिएँ,’ सोमबार कुराकानी क्रममा उनले भने, ‘डाक्टर ओममूर्ति अनिलसँग ग्रान्डी अस्पतालमा नियमित चेकअप गरिरहेकै थिएँ । त्यहाँ पुगेपछि थाहा पाएँ, मुटुको दुइवटा रक्तनलीमा ९५ र ९९ प्रतिशत ब्लकेज भइसकेको रहेछ ।’

तत्काल अस्पताल भर्ना गरियो । एन्जियोप्लास्टी सर्जरीपछि त्यहीँ उनले दुई दिन आराम गरे । निस्किँदा डाक्टरले उनलाई ह्वीलचियर मगाउँदै थिए, उनी भने ठमठम हिँडेरै बाहिरिए । ‘डाक्टरले मलाई तपाईंको आत्मबल बलियो छ भन्नुभयो,’ आराम गरिरहेका उनले हास्यरस मिसाउँदै भने, ‘मैले चाहिँ आत्मबल होइन, हातमा बल दिनुस् भनेँ ।’

हँसाउने शैलीमै भए पनि हातमा बल उनले किन मागे ? उनी केही घोरिए । केही सम्झेजस्तो गरे । खासमा उनलाई धेरैले मेसिनबाट चलेको कलाकार भन्छन् । रंगमञ्च, टेलिफिल्म, गीतदेखि समाज सेवासम्म अब्बल छवि बनाएका यी ६९ वर्षीय कलाकार मुटुमा पेसमेकर र मस्तिष्कको दुवैतिर त्यसको चिप्स बोकेर बाँचिरहेका छन् । देब्रे मस्तिष्कको चिप्सले समस्या देखाएपछि गत वर्ष असोजमा माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा डिप ब्रेन स्टुमुलेसन (डीबीएस) शल्यक्रिया गर्नुपरेको थियो । बितेका ९ वर्षदेखि उनी पार्किन्सन्सबाट पीडित त छँदैछन् । ‘पार्किन्सन्सको विशेषता के हो भने एकै समय मस्तिष्कले दुइवटा काम गर्न सक्दैन,’ उनले सुनाए, ‘पहिले पहिले डायरीमा सजिलै गीत लेख्थें । अहिले सक्दिनँ । गीत कल्पना गर्दा हात चल्दैन, हात चलाउन खोज्दा गीत कल्पना गर्न सक्दिनँ । विशेषगरी धर्को दिने बेला हात चल्दैन ।’ त्यही भएर उनी अचेल नोटप्याडमा लेख्दा रहेछन्, धर्को दिन हातका औंलाहरू सारिरहनु नपर्ने भएकाले त्यसमा उनलाई सजिलो हुन्छ । ‘आत्मबल हैन, हातमा बल माग्नुको कारण यो हो,’ उनी फेरि ठट्यौली मुडमा प्रकट भए ।

झन् स्फूर्ति
सोमबार अपराह्न लगनखेलबाट चापागाउँ जाने बाटोका खाल्टाखुल्टी र धुलोको सकस खेप्दै भ्याली होम्सको शान्त परिसरमा पुग्दा मदनकृष्ण डायनिङ रुममा चुकन्दरको सुप र केराउको तरकारीसित फापरको रोटी खाँदै थिए । उनका छेवैमा थिए शुभचिन्तक स्वास्थ्यकर्मी तथा रंगकर्मी भरत महर्जन । झन् हँसिला र फ्रेस देखिएका मदनकृष्णले तरकारी खाँदै गर्दा चम्चाको कथा झिके । चम्चाको बिँड हँसियाको जस्तै देखिन्थ्यो, उभाउने भागतिर चाहिँ बंग्याएर कुप्रो पारिएको । ‘ज्वाइँले अमेरिकाबाट पठाइदिनुभएको,’ उनले सुनाए, ‘हात सोझ्याएर मुखसम्म लान नसकिने हुँदा सामान्य चम्चाले खाँदा भात पोखिन्छ । योचाहिँ पहिल्यै बंग्याएर बनाएको भएर सिधै मुखमा पुग्छ ।’ यसपछि उनले दुई चम्चा तरकारी खाए । अनि हास्यरस मिसाउँदै भने, ‘कुनै दिन भाँडा सफा गर्ने मान्छेले चम्चा त बांगिएछ भन्दै सोझ्याइदिन्छ भन्ने डर लाग्छ, हा..हा..हा..।’

भरत पनि हाँसे । मदनकृष्णको अनुहार झन् उज्यालो देखियो । उनले अर्को वास्तविक घटना सुनाउन चाहे । धेरै वर्षअघि एकपटक उनी चेकअपको क्रममा छाउनीस्थित आर्मी अस्पताल पुगेछन् । नर्सले रगत परीक्षणका लागि उनको पाखुराबाट रगत तान्दै थिइन्, यही बेला उनका चिनारु डाक्टर पुष्पदास श्रेष्ठ आइपुगे । ‘मलाई देखेपछि डाक्टरले नर्सलाई ‘लौ राम्रोसँग गर्नु है’ के भनेका थिए, नर्सले तन्किएर स्यालुट ठोक्दै ‘हस् सर’ भनिन्, यता मेरो पाखुरामा सियोले स्यालुट मार्‍यो,’ मदनकृष्ण हाँसे ।

छोरी, गीत र रचनागर्भ
काठमाडौंको जितपुर फेदीमा जन्मेका मदनकृष्ण सुरुमा नेवारी गीत गाउँथे, रंगकर्म गर्थे । २०२३ मै उनले रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्न भ्याए । तीसको मध्यदशकमा हरिवंश आचार्यसित सहकार्य हुन थालेपछि महजोडीको ‘म’ का रूपमा उनको चर्चा चुलियो । धेरैले अभिनय, प्रहसन र हास्यकलाकारका रूपमा चिने उनलाई । तर, उनको अर्को छवि गीतकार र गायकको हो । थुप्रै नेवारी गीत गाएका उनले नेपाली आधुनिक संगीतमा पनि अनेकौं कालजयी गीतहरू दिएका छन् । ‘खोलावारि खोलापारि पीपलु र वर...’, ‘एक्लै एक्लै बजारमा...’, ‘हे भगवान् मेरो...’ ‘अरबौं मान्छेहरूमा तिमी...’ जस्ता गीति सिर्जनाका यी सर्जकका डायरीमा वर्षौं पुराना गीतहरू छन् । हालै अमेरिकाबाट नेपाल आएकी छोरी सराना श्रेष्ठले यही डायरीबाट केही गीतहरू झिकेर स्वर दिएकी छन् । छिट्टै सोलो एल्बम आउँदै छ । छोरा यमन श्रेष्ठ पनि गाउँछन्, स्टेज पर्फमेन्समा उत्तिकै जमिरहेका छन् ।

कुराकानीको माहोल एकाएक सांगीतिक बन्यो । संगीतकार सुरेन्द्र श्रेष्ठले म्यासेन्जरमा पठाएको गीत मदनकृष्णले मोबाइलमै बजाए– ‘एकतर्फी माया न हो...।’ गीत सुनिसकेपछि उनी पुराना सम्झनामा फर्किए । ‘म दिमागमा दृश्य ल्याएपछि मात्रै गीत लेख्छु,’ उनले भने, ‘यो गीतसित दुईवटा दृश्य जोडिएका छन् ।’ एकपटक नियमित चेकअपका लागि मदनकृष्ण डा. सुन्दरमणि दीक्षितकहाँ पुगेछन् । छुट्टिने बेला मदनकृष्ण र पत्नी यशोदाले अलिक अघि बढेपछि मात्रै पछिल्तिर फर्केर हेरे । डाक्टर सुन्दरमणि हात हल्लाउँदै रहेछन् । ‘मैले फर्केर नहेरेको भए त एकतर्फी मायाजस्तै पो हुने रहेछ,’ मदनकृष्ण नोस्टाजिक बने, ‘त्यसको भोलिपल्टै बूढी अफिस जाँदै गर्दा ढोकामा उभिएँ ‘बाई’ भन्न । बूढी त पछिल्तिर नफर्कीकनै गइन् । म एक्लै हात हल्लाको हल्लाकै भएँ ।’ तर यो घटनाबाट गीत बन्यो । मदनकृष्णले त्यही दिन लेखे–

‘एकतर्फी माया न हो मेरो, दिल टुट्यो त टुट्यो
आफ्नै बेहोसीको घाउ हो यो, दुख्नु थियो त दुख्यो....।’

एकपटक मदनकृष्ण वीरगन्जमा पुगेका थिए नाटक गर्न । थुप्रै वर्षअघि । नाटकका लागि धूप चाहिने थियो, आफैं निस्के बजारमा । हजारौं मान्छेको भीडमा पसल चहारे, धूप मिलेन । एक जनालाई सोधेछन्, ‘भाइ यतातिर धूप कहाँ पाइन्छ ?’ तिनले भने, ‘अहो म पनि धूप नै खोज्न हिँडेको । यत्रो मान्छेहरूबिच कसरी हाम्रो उद्देश्य र मन मिल्न गयो ?’ मदनकृष्ण फेरि भावुक बने, अनि लेखे, ‘हजारौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे...।’ यसपछि उनले ‘खोलावारि खोलापारि...’ को रचनागर्भ पनि सुनाए । यो गीत लेख्नुअघि उनले वारि पीपल, पारि वर अनि बीचमा खोला भएको चित्र बनाएका थिए दिमागमा । ‘त्यसपछि गीत आफैं फुर्छ,’ उनले भने ।

अस्पताल भर्ना हुनुभन्दा केही दिनअघि मात्रै पनि उनी रेकर्डिङ स्टुडियोमा थिए । छोरीसँगै उनले राजेन्द्र थापाको शब्द रहेको ‘पानी छाया नलाम माया...’ गाएका थिए । छुट्ने बेला उनले त्यही गीत सुनाए । स्वर झन् तरोताजा । ‘छिट्टै बाउ, छोरी र छोराले प्रस्तुति दिँदै छौं,’ उनले भने, ‘छोरीको एल्बम त्यहीँ दिउँला ।’ यसपछि मदनकृष्ण भ्याली होम्सको परिसरतिर इभिनिङ वाकमा निस्के । डाक्टरको सल्लाहअनुसार हरेक दिन उनले हजार पाइला हिँड्नुपर्नेछ ।

प्रकाशित : कार्तिक १९, २०७६ ०८:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT