१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

हालखबर : झन् हँसिला मदनकृष्ण

फूलमान वल

काठमाडौँ — अघिल्लो बिहीबार वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ ललितपुर सुनाकोठीस्थित भ्याली होम्सको फन्को मार्दै थिए, एक्कासि हिँड्न अल्छी लाग्यो । अरूबेला उनी दुई–तीन फन्को मारेर आराम लिन्थे । आफ्नै घर रहेको भ्याली होम्स परिसर एकपटक फन्को मार्दा नौ सय पाइला हुन्थ्यो । उनी प्राय: गनेरै इभिनिङ वाक गर्थे । केही दिनयता भने उनलाई नौ सय पाइलामै अल्छी लागेर आउँथ्यो ।

हालखबर : झन् हँसिला मदनकृष्ण

स्याँस्याँ गर्दै थकाइ मारिरहेको बेला उनले पत्नी यशोदा सम्झे । समयमै रोग पत्ता लगाउन नसक्दा दुई वर्षअघि क्यान्सरका कारण उनले पत्नी गुमाउनुपरेको थियो । ‘यसपछि अस्पताल दौडिएँ,’ सोमबार कुराकानी क्रममा उनले भने, ‘डाक्टर ओममूर्ति अनिलसँग ग्रान्डी अस्पतालमा नियमित चेकअप गरिरहेकै थिएँ । त्यहाँ पुगेपछि थाहा पाएँ, मुटुको दुइवटा रक्तनलीमा ९५ र ९९ प्रतिशत ब्लकेज भइसकेको रहेछ ।’


तत्काल अस्पताल भर्ना गरियो । एन्जियोप्लास्टी सर्जरीपछि त्यहीँ उनले दुई दिन आराम गरे । निस्किँदा डाक्टरले उनलाई ह्वीलचियर मगाउँदै थिए, उनी भने ठमठम हिँडेरै बाहिरिए । ‘डाक्टरले मलाई तपाईंको आत्मबल बलियो छ भन्नुभयो,’ आराम गरिरहेका उनले हास्यरस मिसाउँदै भने, ‘मैले चाहिँ आत्मबल होइन, हातमा बल दिनुस् भनेँ ।’


हँसाउने शैलीमै भए पनि हातमा बल उनले किन मागे ? उनी केही घोरिए । केही सम्झेजस्तो गरे । खासमा उनलाई धेरैले मेसिनबाट चलेको कलाकार भन्छन् । रंगमञ्च, टेलिफिल्म, गीतदेखि समाज सेवासम्म अब्बल छवि बनाएका यी ६९ वर्षीय कलाकार मुटुमा पेसमेकर र मस्तिष्कको दुवैतिर त्यसको चिप्स बोकेर बाँचिरहेका छन् । देब्रे मस्तिष्कको चिप्सले समस्या देखाएपछि गत वर्ष असोजमा माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा डिप ब्रेन स्टुमुलेसन (डीबीएस) शल्यक्रिया गर्नुपरेको थियो । बितेका ९ वर्षदेखि उनी पार्किन्सन्सबाट पीडित त छँदैछन् । ‘पार्किन्सन्सको विशेषता के हो भने एकै समय मस्तिष्कले दुइवटा काम गर्न सक्दैन,’ उनले सुनाए, ‘पहिले पहिले डायरीमा सजिलै गीत लेख्थें । अहिले सक्दिनँ । गीत कल्पना गर्दा हात चल्दैन, हात चलाउन खोज्दा गीत कल्पना गर्न सक्दिनँ । विशेषगरी धर्को दिने बेला हात चल्दैन ।’ त्यही भएर उनी अचेल नोटप्याडमा लेख्दा रहेछन्, धर्को दिन हातका औंलाहरू सारिरहनु नपर्ने भएकाले त्यसमा उनलाई सजिलो हुन्छ । ‘आत्मबल हैन, हातमा बल माग्नुको कारण यो हो,’ उनी फेरि ठट्यौली मुडमा प्रकट भए ।


झन् स्फूर्ति

सोमबार अपराह्न लगनखेलबाट चापागाउँ जाने बाटोका खाल्टाखुल्टी र धुलोको सकस खेप्दै भ्याली होम्सको शान्त परिसरमा पुग्दा मदनकृष्ण डायनिङ रुममा चुकन्दरको सुप र केराउको तरकारीसित फापरको रोटी खाँदै थिए । उनका छेवैमा थिए शुभचिन्तक स्वास्थ्यकर्मी तथा रंगकर्मी भरत महर्जन । झन् हँसिला र फ्रेस देखिएका मदनकृष्णले तरकारी खाँदै गर्दा चम्चाको कथा झिके । चम्चाको बिँड हँसियाको जस्तै देखिन्थ्यो, उभाउने भागतिर चाहिँ बंग्याएर कुप्रो पारिएको । ‘ज्वाइँले अमेरिकाबाट पठाइदिनुभएको,’ उनले सुनाए, ‘हात सोझ्याएर मुखसम्म लान नसकिने हुँदा सामान्य चम्चाले खाँदा भात पोखिन्छ । योचाहिँ पहिल्यै बंग्याएर बनाएको भएर सिधै मुखमा पुग्छ ।’ यसपछि उनले दुई चम्चा तरकारी खाए । अनि हास्यरस मिसाउँदै भने, ‘कुनै दिन भाँडा सफा गर्ने मान्छेले चम्चा त बांगिएछ भन्दै सोझ्याइदिन्छ भन्ने डर लाग्छ, हा..हा..हा..।’


भरत पनि हाँसे । मदनकृष्णको अनुहार झन् उज्यालो देखियो । उनले अर्को वास्तविक घटना सुनाउन चाहे । धेरै वर्षअघि एकपटक उनी चेकअपको क्रममा छाउनीस्थित आर्मी अस्पताल पुगेछन् । नर्सले रगत परीक्षणका लागि उनको पाखुराबाट रगत तान्दै थिइन्, यही बेला उनका चिनारु डाक्टर पुष्पदास श्रेष्ठ आइपुगे । ‘मलाई देखेपछि डाक्टरले नर्सलाई ‘लौ राम्रोसँग गर्नु है’ के भनेका थिए, नर्सले तन्किएर स्यालुट ठोक्दै ‘हस् सर’ भनिन्, यता मेरो पाखुरामा सियोले स्यालुट मार्‍यो,’ मदनकृष्ण हाँसे ।


छोरी, गीत र रचनागर्भ

काठमाडौंको जितपुर फेदीमा जन्मेका मदनकृष्ण सुरुमा नेवारी गीत गाउँथे, रंगकर्म गर्थे । २०२३ मै उनले रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्न भ्याए । तीसको मध्यदशकमा हरिवंश आचार्यसित सहकार्य हुन थालेपछि महजोडीको ‘म’ का रूपमा उनको चर्चा चुलियो । धेरैले अभिनय, प्रहसन र हास्यकलाकारका रूपमा चिने उनलाई । तर, उनको अर्को छवि गीतकार र गायकको हो । थुप्रै नेवारी गीत गाएका उनले नेपाली आधुनिक संगीतमा पनि अनेकौं कालजयी गीतहरू दिएका छन् । ‘खोलावारि खोलापारि पीपलु र वर...’, ‘एक्लै एक्लै बजारमा...’, ‘हे भगवान् मेरो...’ ‘अरबौं मान्छेहरूमा तिमी...’ जस्ता गीति सिर्जनाका यी सर्जकका डायरीमा वर्षौं पुराना गीतहरू छन् । हालै अमेरिकाबाट नेपाल आएकी छोरी सराना श्रेष्ठले यही डायरीबाट केही गीतहरू झिकेर स्वर दिएकी छन् । छिट्टै सोलो एल्बम आउँदै छ । छोरा यमन श्रेष्ठ पनि गाउँछन्, स्टेज पर्फमेन्समा उत्तिकै जमिरहेका छन् ।


कुराकानीको माहोल एकाएक सांगीतिक बन्यो । संगीतकार सुरेन्द्र श्रेष्ठले म्यासेन्जरमा पठाएको गीत मदनकृष्णले मोबाइलमै बजाए– ‘एकतर्फी माया न हो...।’ गीत सुनिसकेपछि उनी पुराना सम्झनामा फर्किए । ‘म दिमागमा दृश्य ल्याएपछि मात्रै गीत लेख्छु,’ उनले भने, ‘यो गीतसित दुईवटा दृश्य जोडिएका छन् ।’ एकपटक नियमित चेकअपका लागि मदनकृष्ण डा. सुन्दरमणि दीक्षितकहाँ पुगेछन् । छुट्टिने बेला मदनकृष्ण र पत्नी यशोदाले अलिक अघि बढेपछि मात्रै पछिल्तिर फर्केर हेरे । डाक्टर सुन्दरमणि हात हल्लाउँदै रहेछन् । ‘मैले फर्केर नहेरेको भए त एकतर्फी मायाजस्तै पो हुने रहेछ,’ मदनकृष्ण नोस्टाजिक बने, ‘त्यसको भोलिपल्टै बूढी अफिस जाँदै गर्दा ढोकामा उभिएँ ‘बाई’ भन्न । बूढी त पछिल्तिर नफर्कीकनै गइन् । म एक्लै हात हल्लाको हल्लाकै भएँ ।’ तर यो घटनाबाट गीत बन्यो । मदनकृष्णले त्यही दिन लेखे–


‘एकतर्फी माया न हो मेरो, दिल टुट्यो त टुट्यो

आफ्नै बेहोसीको घाउ हो यो, दुख्नु थियो त दुख्यो....।’


एकपटक मदनकृष्ण वीरगन्जमा पुगेका थिए नाटक गर्न । थुप्रै वर्षअघि । नाटकका लागि धूप चाहिने थियो, आफैं निस्के बजारमा । हजारौं मान्छेको भीडमा पसल चहारे, धूप मिलेन । एक जनालाई सोधेछन्, ‘भाइ यतातिर धूप कहाँ पाइन्छ ?’ तिनले भने, ‘अहो म पनि धूप नै खोज्न हिँडेको । यत्रो मान्छेहरूबिच कसरी हाम्रो उद्देश्य र मन मिल्न गयो ?’ मदनकृष्ण फेरि भावुक बने, अनि लेखे, ‘हजारौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे...।’ यसपछि उनले ‘खोलावारि खोलापारि...’ को रचनागर्भ पनि सुनाए । यो गीत लेख्नुअघि उनले वारि पीपल, पारि वर अनि बीचमा खोला भएको चित्र बनाएका थिए दिमागमा । ‘त्यसपछि गीत आफैं फुर्छ,’ उनले भने ।


अस्पताल भर्ना हुनुभन्दा केही दिनअघि मात्रै पनि उनी रेकर्डिङ स्टुडियोमा थिए । छोरीसँगै उनले राजेन्द्र थापाको शब्द रहेको ‘पानी छाया नलाम माया...’ गाएका थिए । छुट्ने बेला उनले त्यही गीत सुनाए । स्वर झन् तरोताजा । ‘छिट्टै बाउ, छोरी र छोराले प्रस्तुति दिँदै छौं,’ उनले भने, ‘छोरीको एल्बम त्यहीँ दिउँला ।’ यसपछि मदनकृष्ण भ्याली होम्सको परिसरतिर इभिनिङ वाकमा निस्के । डाक्टरको सल्लाहअनुसार हरेक दिन उनले हजार पाइला हिँड्नुपर्नेछ ।

प्रकाशित : कार्तिक १९, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?