पर्फमेन्स आर्टको लहर

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो समय सहरका ग्यालरीहरूमा चित्र र मूर्तिकला मात्रै हैन, प्रत्यक्ष कला पस्किरहेका कलाकार पनि भेटिन सक्छन् । कोही संगीतको तालमा अभिनय गरिरहेका पनि हुन सक्छन्, कोही अनुहार र शरीरमा अनेक रङ पोतेर कसैलाई पर्खिरहेका पनि हुन सक्छन् ।

पर्फमेन्स आर्टको लहर

कोही चाहिँ झुत्रेझाम्रे कपडा लगाएर सहरको प्रदूषणसँगै राजनीतिक–सामाजिक बेथितिमाथि व्यंग्य कसिरहेका हुन सक्छन् । चित्र र मूर्तिबाट मात्र नभई विभिन्न वस्तु, हाउभाउ, अभिनय र संगीतको सहारामा आफ्नो विचार र भाव प्रस्तुत गर्ने ‘पर्फमेन्स आर्ट’ को यतिबेला सहरका विभिन्न थलोमा अन्तर्राष्ट्रिय महोत्सव नै चलिरहेको छ ।


अन्तर्राष्ट्रिय कला जगत्मा सन् १९५० को दशकबाटै देखा परेको यो धार नेपाल भित्रिएको धेरै भएको छैन । झन्डै दुई दशकअघि मात्रै काठमाडौंका ग्यालरी र कला प्रदर्शनीमा देखिन थालेको यो शैलीलाई अस्मिना रञ्जित, मनिषलाल श्रेष्ठ, सौरगंगा दर्शनधारी, पृथ्वी श्रेष्ठलगायतले अघि बढाइरहेका छन् । न्यु मिडियाकै भिन्न, स्वतन्त्र र सिर्जनशील यो फर्ममाथि केन्द्रित हुँदै आइतबार पाटनढोकास्थित तारा आर्ट ग्यालरीमा नेपाली तथा विदेशी गरी झन्डै एक दर्जनभन्दा बढी कलाकारले आआफ्नो अनुभव साझा गरे ।


‘बिन्दु स्पेस फर आर्टिस’ ले गरेको एकहप्ते ‘काठमान्डु इन्टरनेसनल पर्फमेन्स आर्ट फेस्टिभल’ अन्तर्गत जापान, चीन, बंगालादेश, भारत र नेपालका कलाकारले एकआपसमा आआफ्नो पर्फमेन्स आर्टबारे खुलाउँदै विचार साटासाट गरेका हुन् । बालबालिकासम्बन्धी विषयमा पर्फमेन्स आर्ट गर्दै आएका जापानी कलाकार डायुस्के ताकेवाले आफ्नो कलामा जीवन र अनुभूतिलाई मिसाउँदै आएको बताए । उनले अरू विधामा भन्दा फर्ममेन्स आर्टमा स्वतन्त्रता र भिन्नै अनुभव हुने पनि बताए । त्यस्तै चिनियाँ कलाकार बिङयाङ यिनले आफूले प्रकृति, जीवन र अध्यात्मसम्बन्धी पर्फमेन्स आर्ट गर्दै आएको बताए । चीनमै बसेर प्रिन्ट मेकिङ कलालाई अगाडि बढाइरहेकी बंगालादेशकी इफात राजोआना रेयाले चिनियाँ जनजीवन र प्रकृतिलाई आफ्नो कलामा समेट्दै आएको बताइन् । भारतबाट सतादरु सोभान बान्दुरी, नेपालबाट मनिषलाल श्रेष्ठ, सौरगंगा दर्शनधारी, सरीता डंगोल, मुना भँडेललगायतले आआफ्ना अनुभव सुनाए ।


फेस्टिभलको तेस्रो दिन सोमबारदेखि पर्फमेन्स आर्ट प्रस्तुति हुँदै छ । बौद्धस्थित तारागाउँ म्युजियममा चीन, नेपाल, भारतलगायता मुलुकका ८ कलाकारले कला प्रस्तुति दिने बिन्दु स्पेशका अध्यक्षसमेत रहेका कलाकार पृथ्वी श्रेष्ठले जनाए । उनका अनुसार सोही स्थानमा मंगलबार अन्य मुलुकका ७ जना कलाकारले प्रस्तुति दिनेछन् । बुधबार भने कलाकारहरूले पनौतीको सांस्कृतिक सम्पदालाई चिनाउने कला प्रदर्शनी गर्नेछन् ।


के हो पर्फमेन्स आर्ट ?

यो विधा सन् १९६० को दशकदेखि स्थापना भएको मान्छि । जापानी मूलका अमेरिकी कलाकार योको उनोदेखि अमेरिकी प्रयोगवादी भिजुअल आर्टिस्ट क्यारोलीसम्मले फर्ममेन्स आर्टमा


योगदान गरेका थिए । योको चर्चित अंग्रेजी ब्यान्ड बिटल्सका संस्थापकमध्ये एक जोन लेननका पत्नी थिइन् भने क्यारोलीले आफ्नै शरीरको प्रयोगमार्फत फर्ममेसन्स आर्ट प्रस्तुत गर्थिन् । लैगिंकता, यौनिकताजस्ता विषयमा कला अभिव्यक्ति दिने उनी पर्फमेन्स आर्टका क्रममा थुप्रै पटक नांगिएकी थिइन् ।


नेपालमा भने भर्खरै यसको बहस हुन थालेको श्रेष्ठले बताउँछन् । उनको विचारमा विभिन्न विषयवस्तु, घटना र अवस्थाप्रतिको धारणालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न यो विधा रोचक र प्रभावकारी बन्न सक्छ । कलाको नयाँ फर्ममार्फत विश्वबजारमा नेपाली विचार प्रस्तुत गर्न यो माध्यम उपयोगी हुने उनको विश्वास छ । ‘यसमा लागेर पैसा नै नकमाए पनि हाम्रो प्रस्तुतिले अन्तर्राष्ट्रिय स्पेस पाउन सक्छ,’ उनले भने, ‘बिस्तारै यो नेपालमा कला फराकिलो बन्दै गएको छ ।’ कला प्रदर्शनकै क्रममा विभिन्न वस्तुलाई प्रतीकात्मक रूपमा प्रयोगमा ल्याउने भएकाले पर्फमेन्स आर्टलाई बहुआयमिक रूपमा बुझ्नुपर्ने उनको तर्क छ ।


कला प्रदर्शनीमा एकल, सामूहिक र आवश्यक परेका बेलामा दर्शकको समेत सहभागिता रहने भएकाले यसमा सबैजना सक्रिय रूपमा सहभागी हुन्छन् ।


प्रकाशित : कार्तिक १८, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?