कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

देउडामा भैली

मधु शाही

(बाँके) — ‘देउसी खेल्दै रमाइलो भो जौ पात
हामी बसै मिली, लौ मैले के भने भन् बाज
सुख शान्ति समृद्धि होस् जौ पात...’

देउडामा भैली

सुदूरपश्चिमको देउडा भाकामा भैलीले यसरी आशिष दिँदै थिए । घरमूली पनि रमाइलो मान्दै देउडा तालमा नाच्न थाले । उनका लागि देउडा–भैलो नौलो थियो । नेपालगन्ज सहरमा सुदूरपश्चिम संस्कृति सुन्न र हेर्न पाउँदा धेरै घरमूली छक्क परे । धम्बोजीस्थित शान्तकुमार मिश्रले पनि देउडा भैलो पहिलोपटक सुनेका हुन् ।


अछाम सेवा समाजको देउसीभैलो हुँदै गर्दा उनी छिमेकीको घरमै आएर सुने । ‘छिमेकी अछामी हुन्,’ उनले भने, ‘यहाँ देउडा भैली सुनेपछि नौलो लागेर हेर्न आएँ ।’ तिहारमा खेलिने देउसी भैलो कतिपयका लागि रमाइलो, कसैका लागि आर्थिक सहयोग जुटाउने त कुनै समुदायका लागि सांस्कृतिक पक्ष संरक्षण गर्ने माध्यम बनेको छ । नेपालगन्जमा तिहारको भोलिपल्ट समेत भैलो खेलिएको थियो, संस्कृति संरक्षणको ध्येयसहित । अछाम सेवा समाजले देउडा शैलीमा पस्किएको देउसीभैलोले सांस्कृतिक महत्त्व झल्काएको थियो ।


देउडा नाचसँगै भट्याएको भाका अनौठो र रोचक थियो । ‘अरू त बुझेँ, जौ पात र बाज भनेको चाहिं बुझिनँ,’ दर्शक बनेकी प्रिया गौतमले भैली टोलीसँग जिज्ञासा राखिन् । समाजका अध्यक्ष टेक खड्काले शब्दको अर्थ बुझाए, ‘बाज भनेको अछामी भाषामा चरा हो, जौ पात भनेको जौको पात ।’ समाजको भैलो टोलीले तिहारको तीन दिन भैलो खेलेर रमाइलो मात्रै गरेन, सँगै सुदूरपश्चिममा प्रचलित आफ्नो परम्परा, वेशभूषा र भाषा संस्कृतिको महत्त्व पनि बुझायो । मादल, छिनछिन बाजासँगै उनीहरूले आधुनिक पुस्तालाई मन पर्ने म्युजिक सिस्टम पनि बोकेर हिँडेका थिए । रमाइलो के थियो भने जहाँ उनीहरू भैलो भट्याउन थाल्थे, देउडा नाच र भाका सुन्न वरिपरिरका पनि भेला हुन्थे । खड्काका अनुसार अछाममा पुर्ख्यौलीले भैलो कहिल्यै खेलेनन् । नेपालगन्जमा बस्दै आएका अछामीले मिलेर तिहारमा रित्तै बस्नुभन्दा आफ्नो थलोको कला र संस्कृति चिनाउन देउसीभैलो खेल्न उचित ठाने ।


‘मान्छे जहाँ पुग्छ, त्यहीँ कला र संस्कृति पनि पुग्छ,’ उनले भने, ‘त्यसैले देउडाको स्वाद चखाउन देउसीभैलो खेलेका हौं ।’ भैलो खेलेर संकलित रकमले समाजको भवन निर्माण गर्ने योजना रहेको पनि उनले सुनाए ।


कोहलपुरमा व्यवसाय गर्दै आएका इन्द्रराज केसीको पुर्ख्यौली घर सुर्खेत हो । चाडपर्व आउँदा उनलाई पुर्खाको याद आउँछ । नाचगान गर्न मन पर्छ । त्यसैले उनी तिहारमा दुई–चार जना सुर्खेतका आफन्त बटुलेर पुर्ख्यौली संस्कृति झल्किने देउसी खेल्छन् । पाइन्टमाथि सारी लगाएर हातमा रुमाल हल्लाउँदै पुरुषहरू एकैनासले नाच्छन् ।


छेउछाउ ‘देउसी रे’ भन्दै साथीहरूले ताली बजाउँछन् । सुर्खेतमा प्रचलित सिमताली नृत्यलाई उनले तिहारमा देउसी शैलीमा पस्किएको बताए । ‘गाउँमा छँदा रातभरि नाच्थ्यौं,’ उनले सम्झिए, ‘छोराछोरीले भुल्दै गए । उनीहरूलाई देखाउन भए पनि नाच्नुपर्छ ।’


दैलेखी समाजको देउसीभैलो रोचक थियो । नाचगानसँगै उनीहरूले दैलेखका प्रचलित धार्मिक स्थलका तस्बिरसमेत प्रदर्शन गरेका थिए । ब्यानरमा ठूला तस्बिर झल्किने, धार्मिकस्थल सात खम्बा, नागीस्थान, श्रीस्थान, कोटिला, ज्वालालगायत ऐतिहासिक महत्त्व बोकेका धार्मिक स्थलका तस्बिर बोकेका थिए । दैलेखमा जन्मेर नेपालगन्ज कर्म थलो बनाएको युवा जमातले आफ्नो संस्कृति जोगाउन भैली खेलेको समाजकी अध्यक्ष अमृताचन्द कार्कीले बताइन् । ‘एक किसिमले जन्मथलोको प्रचारप्रसार पनि गरेका हौं,’ उनले भनिन्, ‘धेरैले तस्बिर देखेर घुम्न जाने मुड बनाउन सक्छन् । अर्को साल दैलेखी लोपोन्मुख नाच देखाउने सोच छ ।’

प्रकाशित : कार्तिक १५, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?