बेइजिङमा नेपाली लोकनृत्य

कान्तिपुर संवाददाता

काठमाडौँ — फिल्मी गीतमा लोक सांस्कृतिक स्वाद भित्र्याउने जस जान्छ संगीतकार शम्भुजित बाँस्कोटालाई । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति बाँस्कोटा यतिबेला नीजिस्तरबाट पनि लोकसंस्कृति प्रबर्द्धनका लागि परेका छन् । हालै ‘शम्भुजित संगीत घर’ स्थापना गरेका यिनी केहीदिन अघि चीनको निकै पुरानो मानिने बेइजिङ डान्स एकेडेमी पुगेका थिए, सांस्कृतिक टोली सहित । त्यहाँ आयोजित अन्तराष्ट्रिय नृत्य महोत्सवमा नेपाली प्रस्तुति दिए यतिबेला उनी काठमाडौं फर्केका छन् ।

बेइजिङमा नेपाली लोकनृत्य

‘लोकसंगीत, नृत्य र संस्कृतिमार्फत संसारभर नेपाली पहिचान फैलाउन सकिन्छ भन्ने बोध महोत्सवले दिलायो’, आइतबार कुराकानी क्रममा बाँस्कोटाले भने, ‘चीनले आफूलाई प्रबर्द्धन गर्ने सफ्टपावरको रुपमा कला र संस्कृतिलाई ठुलो प्राथमिकतामा राखेको देखियो । हाम्रोमा त्यो बोध अझै हुन सकेको रहेनछ । भएका काम पनि योजनाबद्ध हुन सकेका छैनन् ।’ उनका अनुसार महोत्सवमा भारत, म्यान्मार, भियतनाम, कोरिया, जापान, श्रीलंका लगायत दुई दर्जन मुलुकको सहभागिता थियो । नेपालबाट कलाकार टोलीले बेइजिङ हाइदिन पार्क र बेइजिङ डान्स एकेडेमीको थिएटरमा तीनवटा प्रस्तुति दियो । ‘हामीले तामाङ सेलो, सालैजो र झ्याउरे नृत्य लिएर गएका थियौं’, उनले भने, ‘१० हजार दर्शक अट्ने हाइदिन पार्क र पाँच हजार दर्शक क्षमताको बेइजिङ डान्स एकेडेमीको थिएटरमा हाम्रो प्रस्तुति निकै लोभलाग्दो थियो ।’


झण्डै सात दशक पुरानो डान्स एकेडेमी चीनकै महत्वपुर्ण सांस्कृतिक केन्द्र मानिन्छ । केन्द्रले थुप्रै चिनियाँ कलाकार जन्माएको छ । अहिलेका चर्चित चिनियाँ अभिनेत्री गोङ ली पनि यही डान्स एकेडेमीको उत्पादन हुन् । फेष्टिभलमा बाँस्कोटाले ‘नेपाली लोक संगीत र नृत्य’बारे सेमिनार पत्र समेत प्रस्तुत गरेका थिए । सानो मुलुक भएपनि नेपाली लोकसंगीत र नृत्यको विविधता थाहा पाएर विभिन्न मुलुकका कलाकर्मी र संगीत प्राध्यापकहरुले चासो देखाएको बाँस्कोटाले सुनाए । ‘डान्स एकेडेमीकै प्राध्यापक गाओले त सेमिनारमा नेपाली लोकनृत्यको प्रसंशा गरेरै बोले’, पुर्व उपकुलपति बाँस्कोटाले भने, ‘कोरियन प्राध्यापक जाइले नेपाल घुम्न आउने बाचा समेत गरिन् ।’


बाँस्कोटाका अनुसार महोत्सवको पार्क–स्टेज शो, रोड शो र थिएटर शो गरेर तिनवटै प्रस्तुतिमा नेपाली कलाकारले सहभागिता जनाएका थिए । यसबाहेक कलाकारहरुले भिजिट नेपाल २०२० को प्रर्बद्धनात्मक कार्यक्रम समेत गरेका थिए । मुलुकको मौलिकता र पर्यटन प्रबर्द्धनका लागि पनि यस्ता महोत्सवहरु फलदायी हुने आफूलाई लागेको बाँस्कोटाले बताए ।

प्रकाशित : कार्तिक १३, २०७६ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?