जापानी शैलीमा शिशिर–वसन्त

सुशीला तामा‌ङ

काठमाडौँ — मञ्चमा दुईवटा पुतली बल खेलिरहेका थिए । ती पुतली एउटा शिशिर र अर्को वसन्तका रूपमा थिए । खेल्दाखेल्दै दाजुभाइको बल नजिकै सिंगारपटारमा व्यस्त नयाँ रानी अर्थात् शिशिर–वसन्तकी सौतेनी आमातिर पुगेर ठोकिन्छ र उनका सबै सामान छताछुल्ल हुन्छ । रिसले चुर रानीले सुरुमा वसन्तको आग्रहमा बल दिन मान्दिनन् । शिशिरले खोसेरै लिन्छ । रानी झन् रिसाएर दुवैलाई मार्न राजालाई बाध्य पार्छिन् । मार्नुको सट्टा मन्त्रीहरूले दुवैलाई जंगलमा छोडिदिन्छ, दरबारमा शिशिर–वसन्तको त्यो नै अन्तिम खेल बन्छ ।

राजधानीको कीर्तिपुरस्थित थिएटर मलमा बिहीबार जापानी पपेट शैलीमा नेपाली लोककथा ‘शिशिर–वसन्त’ मञ्चन गरिँदै । तस्बिर : बिजु महर्जन/कान्तिपुर

लोककथामा आधारित रहेर करिब आठ दशक पहिले बोधविक्रम अधिकारीद्वारा लिखित ‘शिशिर–वसन्त’ को कथा निकै प्रचलित छ । आमाको देहान्तपछि सुरु भएको शिशिर–वसन्तको संघर्ष, कारुणिक विछोड र अन्त्यमा दाजुभाइको सुखद मिलनमा टुंग्याइएको कथालाई बिहीबार कीर्तिपुरस्थित थिएटर मलमा पुतलीको माध्यमबाट रंगमञ्चमा प्रस्तुत गरिएको हो । जापानमा प्रचलित पपेट थिएटरको शैलीमा देखाइएको नाटक भिन्न स्वादको थियो । शिशिर र वसन्तका रूपमा प्रस्तुत गरिएका दुई पुतलीलाई नै प्रयोग गरेर दुवै दाजुभाइका खुसी, जीवनका दु:ख अप्ठ्यारालाई निकै रोचक ढंगबाट देखाइएको थियो । शिशिर–वसन्तको आवाजअनुसारको लय, चाल र ताललाई निकै सन्तुलित रूपमा पुतलीहरूमाथि प्रयोग गरिएको थियो । जंगलमा अलपत्र पर्दा जाडोले कामेका दाजुभाइको शरीरको चाल, आगो लिन गएका दाजुको पर्खाइमा बसेको वसन्तलाई दुरुस्तै पुतलीका रूपमा मञ्चमा प्रस्तुत गरिएको थियो ।

शिशिरको खोजीमा हिँड्दाहिँड्दै एक व्यापारीकहाँ पुगेको वसन्त पुतलीकै रूपमा भए पनि दर्शक उत्तिकै भावुक देखिन्थे । व्यापारी र उनकी पत्नीकी भूमिकामा देखिएका पुतलीहरू भने नेवारी भेषमा सजिएका थिए । यसले नेपाली समाजको सांस्कृतिक र सामुदायिक विविधतालाई मात्रै हैन, व्यापारमा परम्परागत रूपमै सामेल नेवार समुदायको रंग प्रस्तुत गरेको थियो । व्यापारीकहाँ रहँदा वसन्त दिनरात काममा खटिएको, आफ्नो सन्तान भएपछि व्यापारी वसन्त व्यापारीको घरबाट लखेटिएको जस्ता दृश्यलाई नाटकमा पुतलीकै माध्यमबाट उत्कृष्ट रूपमा प्रस्तुत गरिएको थियो । व्यापारीको घरबाट निष्काशन भएपछि दु:खी भएर रुखमा चढी गीत गाइरहेको पुतली (वसन्त) को दृश्यमा गरिएको चरित्र प्रशंसायोग्य देखिन्थ्यो । सुन्दरी राजकुमारीसँग विवाह गरी पुन: व्यापारीकहाँ नै आएका वसन्तलाई व्यापारीले नदीमा बगाउँदा देखिएको वसन्तको कारुणिक अवस्था, राजा भएर रानीसँग वार्तालाप गरिरहेको, नागलाई शिशिरले तरबारले काटेको जस्ता हाउभाउ पुतलीद्वारा नै मञ्चन गरिएको थियो ।

कथाको अन्त्यमा शिशिर–वसन्तको मिलनको क्षणलाई दुई पुतलीहरूको चालमार्फत् देखाउँदा दर्शकहरूमा भिन्नै प्रकारको खुसी छाएको थियो । नाटकमा पुतलीको चाललाई एक दर्जनभन्दा बढी रंगकर्मीहरूले परिचालन गरेका थिए भने तिनीहरूले नै संवाद बोलेका थिए । नाटकमा प्रयुक्त पार्श्वसंगीत र धुन उत्तिकै सबल लाग्थ्यो । यद्यपि राजा, रानी, मन्त्री पनि वास्तविक रूपमा नदेखाई पुतलीकै माध्यममा देखाइएको भए अझै अब्बल ठहरिन्थ्यो । थिएटर मलले जापानी रंगकर्मीहरूसँगको १० दिनको अभ्यासबाट पहिलोपटक पपेट नाटक तयार पारेको रंगकर्मी केदार श्रेष्ठले बताए ।

१० दिने अभ्यासमा सहभागी बालबालिकाहरूले विलियम सेक्सपियरको ‘एज यु लाइक’ कथा र नेपाली लोककथा ‘सेलरोटी’ मा आधारित रहेर ५ देखि १० मिनेटका छोटा पुतली नाटक पनि प्रस्तुत गरेका थिए । छोटो समयमा नै पुतली शैलीको नाटकमा सिर्जनशील काम हुन सकेकोप्रति जापानी रंगकर्मी तथा निर्देशक इरिना सजी खुसी देखिन्थिन् ।

‘सजिलोजस्तो लागे पनि यो फर्म निकै कठिन मानिन्छ,’ उनले भनिन्, ‘जापानको यो पुरानो रंगमञ्चीय फर्मबाट नेपाली कथा भन्न पाउँदा खुसी छु ।’ नाटकमा अर्बिन खड्का, निपुर्ण पौडेल, सहर्ष क्षेत्री, शुभेच्छा ढुंगानालगायतका बाल रंगकर्मी र सुजिता महर्जन, शंकर भण्डारी, मदन श्रेष्ठ, प्रशान्त श्रेष्ठ, पूजा ढकाललगायत वयस्क रंगकर्मी गरी डेढ दर्जनभन्दा बढी कलाकारहरूले पुतलीको चाल मिलाउनुका साथै संवाद बोलेका थिए ।

प्रकाशित : कार्तिक ८, २०७६ १०:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

१०३ वर्षे उमेरमा मुरलीको धुन

रमेशचन्द्र अधिकारी

(धनकुटा) — सुत्दा सिरानीमा र उठ्दा कमिजको गोजीमा मुरली साथै रहन्छ । मुखमा खिइएका कृत्रिम दाँतको सहारामा १०३ वर्षमा उनी सहजै मीठो धुन निकाल्न खप्पिस छन् । बाल्यकालदेखि रसिक स्वभावका उनी गायन र मुरली बजाउने गर्छन् । यो उमेरमा पनि महालक्ष्मी नगरपालिका–७, मारेक टोलका ओमनारायण श्रेष्ठको दैनिकीले नियमितता पाइरहेकै छ ।

श्रेष्ठले पुराना लोकभाकालाई मुरलीमा उतार्छन् । बिहानको नित्यकर्मपछि भजन र गीत गुनगुनाउँदै मुरली बजाउने गरेको उनी बताउँछन् । पछिल्लो समय कान कम सुन्ने गरेकोले रेडियोबाट गीत सुन्न कठिन हुने बताए ।

विगतमा गोठालो जाँदा र मेलापातमा हाक्पारे र अन्य भाका गाउँने उनी किशोरावस्थामा वन नै गुन्जिने गरी मुरली बजाउने गरेको स्मरण गर्छन् ।

विसं. १९७४ मा जन्मिएका उनी गत साउनदेखि १०३ वर्षमा प्रवेश गरेका हुन् । १४ वर्षको उमेरदेखि मुरली तथा बाँसुरी बजाउन थालेका उनले यो क्रम ९ दशक पुगिसकेको छ । धेरैजसो एक्लै बसेको बेला र उनलाई भेट्न जाने पाहुनाका लागि उनी मुरलीको धुन सुनाउने बताए । ‘मुरली बजाउन पाइन भने सारै तलतल लाग्छ,’ उनले भने, ‘मुरली बजाउँदा म बूढो भएको भन्ने पनि बिर्सन्छु ।’

फालिएका प्लास्टिकका झोला बोरा सदुपयोग गर्दै त्यसैबाट दाम्लो बाट्ने सीप पनि छ उनमा । पछिल्लो समय उनकोबारे थाहा पाउनेहरू भेट्न जानेको भीडभाड हुने ६२ वर्षीय छोरा गणेशबहादुर श्रेष्ठले बताउँछन् । आफ्नो अगाडि पाहुनाको भीड देख्दा खुसी लाग्ने बताए ।

दैनिक ६ घन्टा बढी समय खर्चिएर आफ्नै हातको सीपबाट आम्दानीसमेत जुटाउँदै आएको ६५ वर्षीया छोरी टंकमाया श्रेष्ठले बताइन् । बाबुले बिरामी भएर हालसम्म खासै औषधिसमेत खानु नपरेको उनको
भनाइ छ । श्रेष्ठ आफ्नो काममा यत्ति व्यस्त हुन्छन् कि, अरूले गएर आराम गर्न दबाब नै दिनुपर्ने बुहारी मनमायाले बताइन् ।

‘बुवालाई यो उमेरमा पनि आराम गर्नु भन्न बाध्य हुनुपर्छ,’ बुहारी मनमायाले भनिन्, ‘बरु हामी काम गर्दा थाक्दौं, उहाँ थाक्नै हुन्न ।’

प्रकाशित : कार्तिक ८, २०७६ १०:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT