१०३ वर्षे उमेरमा मुरलीको धुन

रमेशचन्द्र अधिकारी

(धनकुटा) — सुत्दा सिरानीमा र उठ्दा कमिजको गोजीमा मुरली साथै रहन्छ । मुखमा खिइएका कृत्रिम दाँतको सहारामा १०३ वर्षमा उनी सहजै मीठो धुन निकाल्न खप्पिस छन् । बाल्यकालदेखि रसिक स्वभावका उनी गायन र मुरली बजाउने गर्छन् । यो उमेरमा पनि महालक्ष्मी नगरपालिका–७, मारेक टोलका ओमनारायण श्रेष्ठको दैनिकीले नियमितता पाइरहेकै छ ।

१०३ वर्षे उमेरमा मुरलीको धुन

श्रेष्ठले पुराना लोकभाकालाई मुरलीमा उतार्छन् । बिहानको नित्यकर्मपछि भजन र गीत गुनगुनाउँदै मुरली बजाउने गरेको उनी बताउँछन् । पछिल्लो समय कान कम सुन्ने गरेकोले रेडियोबाट गीत सुन्न कठिन हुने बताए ।


विगतमा गोठालो जाँदा र मेलापातमा हाक्पारे र अन्य भाका गाउँने उनी किशोरावस्थामा वन नै गुन्जिने गरी मुरली बजाउने गरेको स्मरण गर्छन् ।


विसं. १९७४ मा जन्मिएका उनी गत साउनदेखि १०३ वर्षमा प्रवेश गरेका हुन् । १४ वर्षको उमेरदेखि मुरली तथा बाँसुरी बजाउन थालेका उनले यो क्रम ९ दशक पुगिसकेको छ । धेरैजसो एक्लै बसेको बेला र उनलाई भेट्न जाने पाहुनाका लागि उनी मुरलीको धुन सुनाउने बताए । ‘मुरली बजाउन पाइन भने सारै तलतल लाग्छ,’ उनले भने, ‘मुरली बजाउँदा म बूढो भएको भन्ने पनि बिर्सन्छु ।’


फालिएका प्लास्टिकका झोला बोरा सदुपयोग गर्दै त्यसैबाट दाम्लो बाट्ने सीप पनि छ उनमा । पछिल्लो समय उनकोबारे थाहा पाउनेहरू भेट्न जानेको भीडभाड हुने ६२ वर्षीय छोरा गणेशबहादुर श्रेष्ठले बताउँछन् । आफ्नो अगाडि पाहुनाको भीड देख्दा खुसी लाग्ने बताए ।


दैनिक ६ घन्टा बढी समय खर्चिएर आफ्नै हातको सीपबाट आम्दानीसमेत जुटाउँदै आएको ६५ वर्षीया छोरी टंकमाया श्रेष्ठले बताइन् । बाबुले बिरामी भएर हालसम्म खासै औषधिसमेत खानु नपरेको उनको

भनाइ छ । श्रेष्ठ आफ्नो काममा यत्ति व्यस्त हुन्छन् कि, अरूले गएर आराम गर्न दबाब नै दिनुपर्ने बुहारी मनमायाले बताइन् ।


‘बुवालाई यो उमेरमा पनि आराम गर्नु भन्न बाध्य हुनुपर्छ,’ बुहारी मनमायाले भनिन्, ‘बरु हामी काम गर्दा थाक्दौं, उहाँ थाक्नै हुन्न ।’


प्रकाशित : कार्तिक ८, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?