कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

गायक हेमन्त शर्माको फ्लास ब्याक : ‘गायनको पहिलो खुड्किलो तिहार’

कान्तिपुर संवाददाता

काठमाडौँ — बाल्यकालमा सबै भन्दा प्रिय लाग्ने चाड तिहार हो । प्रिय लाग्नुमा देउसीभैलो एउटा हो । दसैं दक्षिणा पाइन्छ भनेर मन परे पनि केटा मान्छे भएकाले धेरै दक्षिणा पाइँदैन थियो । त्यसका लागि मामा घर नै जानुपर्थ्यो । 

गायक हेमन्त शर्माको फ्लास ब्याक : ‘गायनको पहिलो खुड्किलो तिहार’

दिदीबैनीको दक्षिणा गन्दैमा र ईर्ष्या गर्दैमा ठिक्क हुन्थ्यो । तिहार किन पनि बढी मन पर्ने भने छुट्टी तीन दिन हुन्थ्यो । देउसीभैलो खेल्दा हरेकबाट सुका, मोहर अलिपछि विद्यालय पढ्दा एक रुपैयाँ, पाँच रुपैयाँ हाराहारीसम्म पाइयो । त्यो बाँडफाँड गरिन्थ्यो । रातिसम्म सबैजना मिलेर देउसीभैलो खेलेर रमाइलो गरिन्थ्यो । रमाइलो के भने यसमा जाति धर्म भन्ने हुँदैन थियो । यो कारणले तिहार बाल्यकालमा अति मन पर्थ्यो ।


देउसीभैलोको महत्त्व धेरै हदसम्म कलाकारलाई कलाकार बनाउने एउटा खुड्किलो अवश्य हो । जो बाल्यकालमा देउसी खेल्दाखेल्दै गीत गाइरहेको छैन, नाचिरहेको छैन भने ऊ पछि आएर कलाकार बनेको न्यून भेटिन्छ । कलाकार बनेका जोसुकै पनि बाल्यकालमा देउसीभैलो खेल्दा नाचेको, गाएको पाइन्छ । म पनि देउसीभैलो खुबै खेल्थे । म भट्याउँथेँ ।


त्यतिबेला गीत गाउनेभन्दा पनि बढी भट्याइन्थ्यो । भट्याउनेको बेग्लै मनितो हुन्थ्यो । ११ वर्षको उमेर हुँदा जन्मघर नवलपरासीको त्रिवेणीमा देउसी खेल्ने गर्थे । १२ वर्षको उमेरमा भैरहवा सिफ्ट भइयो ।


त्यसपछि देउसीभैलो भैरहवामा खेल्न थालियो, जहाँ भट्याउने काम थोरै हुन्थ्यो । गीत गाउनेभन्दा नाच्ने बढी हुन्थ्यो । क्यासेट बजाएर नाचिन्थ्यो । १२ देखि १६ वर्षको उमेरसम्म यसरी नै देउसीभैलो खेलियो । गीत थोरै गाइयो । बाजा हुँदैन थिए ।


भैरहवामा कमै मादल प्रयोग गरिन्थ्यो । १६ देखि २०/२१ वर्ष उमेरको देउसी रमाइलो हुन्थ्यो । यो बेलाको देउसी सुन्ने हेर्नेलाई पनि मज्जा हुन्थ्यो । देउसीभैलो पनि आकर्षक र व्यावसायिक हुन थाल्यो । गितार, ड्रम सेट हुन्थ्यो । हाम्रो ‘अंकुरण’ समूह पनि थियो । यो ब्यान्डजस्तै हो । यसमा सबै प्रमुखजस्तै थियौं । यो टिममा सुरेश पौडेल बेस्ट गितारिस्ट थिए । ‘चरी भरर...’ गीत गाउने मनोज श्रेष्ठ उतिबेला पनि गाउँथे ।


हेमन्त कार्कीले पनि राम्रो गाउनुहुन्थ्यो । तर अहिले उहाँ हामीमाझ हुनुहुन्न । सानो ट्रक हुन्थ्यो । त्यसमा ड्रम सेट, गितार, ढोलक हुन्थ्यो । म गीत गाउँथेँ । भट्याउँथेँ । मलाई लोक गीतसंगीत अरू साथीहरूभन्दा अली बढी मन पर्थ्यो । भट्याएर एकछिनपछि हिन्दी गीत पनि गाउँथ्यौं ।


कुन–कुन घरमा देउसीभैलो खेल्ने भनेर पूर्वसूचना दिन्थ्यौं । त्यहीअनुसार देउसीभैलो खेल्थ्यौं । यो ०५०/०५१ सालतिरको सम्झना हो । यो बेला भैरहवामा नेपाली गीत गाउँछन् भन्दा सबै छक्क पर्थे ।


बढी नै हिन्दी गीत बज्थे यहाँ । हामीले नेपाली र हिन्दी गर्दा गर्दै पूरै नेपाली गीत बज्ने वातावरण बनायौं । अंकुरणको देउसीबारे तिहारमा चर्चा गर्नेहरू धेरै नै हुन्थे ।


तिहार आउनु झन्डै महिना दिनअघिबाट देउसी खेल्नेबारे अभ्यास गरिन्थ्यो । १५ जनाको टिममा ५ जनाजति गीत गाउने थियौं । दक्षिणा ५ सय पाउँदा दंग हुन्थ्यौं । त्यतिबेला त्यो ठूलै रकम जस्तो लाग्थ्यो । दिलदारहरूले चाहिँ १ हजारसम्म दक्षिणा दिन्थे ।


नाङ्लामा सजाएर दान दिँदा आकर्षक लाग्थ्यो । त्यसमा पनि नयाँ नोट सजाएर राखेको सारै मन पर्थ्यो । हामीले सबैभन्दा बढी एकपटक २७ हजार रुपैयाँसम्म जम्मा गरेका थियौं । यो म्युजिकल सामग्री किन्न खर्च गर्‍यौं ।


हामीले अंकुरण समूहबाट १० वटा गीत राखेर जीवन शैली भन्ने गीतिसंग्रह नै तयार पार्‍यौं । जसमा २ वटा गीत मैले पनि गाएको थिएँ ।त्यति बेलाको देउसी भैलोको ठूलो महत्त्व हुन्थ्यो । मेरो गायक बन्ने एक खुड्किलो भनेको तिहार पनि हो ।


अहिले पछिल्लो ३/४ वर्षयता देउसीभैलोमा त्यति गाँसिएको छैन । स्कुल कलेज पढ्दा देउसीभैलो खेलेको पैसाले पिकनिक गइन्थ्यो । पछि समूह बनाएर देउसी खेल्दा जम्मा गरेको पैसा समूहमै सामान जोड्न थाल्यौं ।


अहिले पहिलाको जस्तो देउसीभैलो छैन । संस्कृति हराउँदै गएको छ । अहिलेको पुस्ताले जे सुन्यो । उनीहरूका लागि यो कल्चर हो । कल्चर हराउनु विडम्बना हो ।

प्रस्तुति : विमल खतिवडा


प्रकाशित : कार्तिक ८, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?