कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेइजिङमा सुन्दर नेपाल

लक्ष्मी लम्साल

(बेइजिङ) — नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा चीनको राजधानी बेइजिङस्थित प्रमुख पर्यटकीय गन्तव्य समर प्यालेस (गृष्म प्रासाद) मा बिहीबारदेखि दुई साता लामो ‘सुन्दर नेपाल’ विषयक फोटो प्रदर्शनी सुरु भएको छ । नेपालका प्राकृतिक तथा सांस्कृतिक सौन्दर्य झल्किने करिब ६० तस्बिरहरू आसन्न भ्रमण वर्षलाई लक्षित गरेर प्रदर्शन गरिएको बेइजिङस्थित नेपाली दूतावासका मिसन उप–प्रमुख सुशीलकुमार लम्सालले बताए ।

बेइजिङमा सुन्दर नेपाल

सन् १६४४ देखि १९११ सम्म तत्कालीन छिङ राजवंशकालमा गृष्मऋतुमा राजपरिवारले विश्राम गर्ने उक्त दरबारमा प्रदर्शनी चलिरहेको हो । लम्सालले भने, ‘प्रत्येक दिन हजारौं चिनियाँ तथा अन्य देशका पर्यटकले भ्रमण गर्ने गृष्म दरबारको खुन्मिङ तालको किनारैकिनार राखिएको छ ।’


नेपालको परम्परा एवं कलासंस्कृति, जनजीवन, प्राकृतिक छटा र अनुपम धरोहर झल्काउने तस्बिरहरूले नेपाल भ्रमणअघि चिनियाँ पर्यटकमाझ नेपाललाई अझ राम्रोसँग चिनाउन सघाउने उनले बताए ।


नेपालको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाबारे उजागर गर्न प्रदर्शनीमा कुमारी, पोखरा, हिमाल, तरेली परेका पहाड, ताल, काठमाडौं उपत्यकाका दरबार परिसर, वन्यजन्तु, साहसिक खेल, चराचुरुंगी, नेपाली खाना लगायतका तस्बिरहरू राखिएका छन् ।


नेपाली दूतावाससँग प्रदर्शनीको लागि समन्वय गरेको वैदेशिक मित्रताका लागि बेइजिङ जनसंघका उपाध्यक्ष सु पनशङले तस्बिर प्रदर्शनीबाट चिनियाँ जनताले नेपालबारे धेरै कुरा थाहा पाउन सक्ने बताए । उनले भने, ‘प्रदर्शनीले नेपालबारेको चिनियाँ बुझाईलाई थप फराकिलो बनाउनेछ ।’ फोटो प्रदर्शनी आगामी नोभेम्बर ७ सम्म चल्नेछ ।


प्रकाशित : कार्तिक ८, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?