२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

यस्तै त हो नि ब्रो...

सुशील पौडेल

काठमाडौँ — ‘हामी यस्तै त हो नि ब्रो
जहिले यस्तै त हो नि हो...’

यस्तै त हो नि ब्रो...

यो कुनै गीतको लाइन हो भन्ने धेरैलाई पत्तै नहुन सक्छ । एउटा खास तन्नेरी पुस्ताले भने यही ‘र्‍याप’ लाई पत्याइनसक्नु मन पराएको छ । यसका गायक भिटेन (समीर घिसिङ) उनीहरूमाझ औधी लोकप्रिय छन् । युट्युबमा करिब दुई करोड भ्युज पाएको उनको यो गीत टिकटकमा उत्तिकै भाइरल छ ।


सामाजिक सञ्जाल हुँदै युवाका मुखमुखमा झुन्डिन पुगेको यो गीत प्रहरी प्रशासनका लागि भने ‘अपाच्य’ भएको छ । गीतमा ‘अश्लील’ शब्दहरू परेको भन्दै भिटेनलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । त्यसपछि ‘हामी यस्तै त हो नि ब्रो’ गीत युट्युबबाट हटाइएको छ ।


भिटेनको पक्राउसँगै एकातिर सिर्जनात्मक अभिव्यक्तिमाथि अंकुश लगाउनु जायज नहुने धारणा आइरहेका छन् भने अर्कोतर्फ यस्ता सिर्जनाले हाम्रो संस्कृति र मूल्यमान्यतालाई नै विकृत तुल्याउने विचार पनि व्यक्त भइरहेका छन् । ‘अश्लील, अस्वाभाविक, असामाजिक शब्द प्रयोग गरिएको छ त्यसमा,’ महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले कान्तिपुरसँग भने, ‘सुसंस्कृत, सभ्य समाजमा परिवारका सदस्य बसेर ती गीत सुन्दा अपाच्य हुन्छ ।’


र्‍याप भन्दैमा जे पनि गर्न छुट नहुने र पाश्चात्य देशहरूमा छुट्टै किसिमको समाज भएकाले नेपाललाई त्यसरी दाँज्न नमिल्ने उनले तर्क गरे । ‘पश्चिमा देशले दिएका सबै छुट दिँदै जाने हो भने हाम्रो समाज कता जाला ?’ उनले प्रश्न गरे ।



भिटेनले फेसबुकमा असइको दर्ज्यानीसहितको पोसाक लगाएको फोटो दुरुपयोग गरेको भन्दै त्यो पनि पक्राउको अर्को कारण रहेको उनले खुलाए । उक्त र्‍यापमा प्रहरीलाई खिसी गरेको र गाँजा खाने कुरा गरिएको जस्ता सामाजिक मर्यादाविपरीतका शब्द रहेकाले भिटेनमाथि सार्वजनिक हितविरुद्धको अपराधमा मुद्दा चलाउने तयारी भएको उनले जनाए ।


एकथरी तन्नेरी पुस्ता भिटेनका ‘डाइहार्ड’ फ्यान भए पनि आलोचकसमेत छन् । गत वर्ष पोखरामा सडक महोत्सवका अवसरमा आयोजित कन्सर्टमा गीत गाइरहँदा दर्शकदीर्घाबाट उनीमाथि ढुंगा प्रहार गरिएको थियो । त्यही घटनालाई लिएर भिटेनले लगत्तै ‘साइफर’ गीत ल्याएका थिए जसको भ्युज युट्युबमा ८० लाखभन्दा बढी छ ।


त्यसो त सरकारले सिर्जनाकै आधारमा कलाकार पक्राउ परेको यो पहिलो घटना हैन । यसअघि ‘लुट्न सके लुट...’ गाएकै कारण गायक पशुपति शर्मा पक्राउ परेका थिए । उक्त गीतले गलत सन्देश दिएको भन्दै सरकारले गायक शर्मालाई त्यसलाई युट्युबबाट हटाउन लगाएको थियो । शर्माले केही शब्द र दृश्य सम्पादन गरी उक्त गीत पुनः अपलोड गर्नुपरेको थियो ।


त्यसैगरी, फिल्म ‘वीर विक्रम २’ को व्यंग्यात्मक शैलीको समीक्षा गरेका कारण युट्युबर प्रनेश गौतम पक्राउ परेका थिए । उनको पक्राउले अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै चर्को आवाज उठेको थियो ।


प्रहरीले केही दिनअघि मात्रै ‘ह्याप्पी तिहार, चिसो बियर...’ गीतका गायक दुर्गेश थापालाई पनि नियन्त्रणमा लिएको थियो । गीतबाट केही शब्द हटाई सच्याउने भएपछि उनलाई छोडिएको थियो ।


थापालाई अहिले त्यो गीतमा आफूबाट केही गल्ती भएकै हो भन्ने महसुस भएको छ । ‘हो, मैले त्यस्तै गीत चल्छ भनेर लहलहैमा लागेर गल्ती गरेकै हो,’ उनी भन्छन्, ‘बढी नै आलोचना हुन थालेपछि रफ वर्डमा बिप लगाउन सहमत भएँ ।’ उनले बिहीबारै उक्त गीत सम्पादन गरी पुनः युट्युबमा अपलोड गरेका छन् । गीत चर्चित भएपछि मात्रै कारबाही हुने गरेकाप्रति भने उनी असन्तुष्ट छन् । ‘कारबाही नै गर्ने भए सबैलाई हुनुपर्‍यो,’ थापा भन्छन्, ‘त्यो पनि चर्चित भएपछि मात्रै हैन ।’


सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्रताका नाममा समाजको मूल्यमान्यता र पद्धतिलाई नभत्काउन आग्रह गरेका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने कार्यक्रममा भिटेन पक्राउबारे बिहीबारै उनले भने, ‘कलाकार भनेका समाजका ऐना हुन् । त्यस्ता गीत परिवारसँग बसेर सुन्नुस् । अनुहार लाजले रातोपिरो हुन्छ ।’ बाँस्कोटाले कलाकारिता समाजको ऐना भएकाले त्यसैका माध्यमबाट समाजको जगै भत्काउने खालका काम नगर्न सुझाए । ‘अराजकता होइन, अनुशासन चाहिएको हो,’ उनले भने, ‘हामीले जे भन्छौं, त्यो गर भनेको नभई नागरिक भएको हिसाबले मूल्य पद्धति काम गर भनेको हो ।’ उनले कला, गला, साहित्य र आविष्कारमा जसले पनि योगदान दिन सक्ने भन्दै अराजकता गर्नेलाई छुट दिन नसक्ने बताए ।


प्रकाशित : कार्तिक ८, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?