कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जुम्लामा थिएटर : खस भाषामा पम्फाफूल

एलपी देवकोटा

(जुम्ला) — दुई भाइ र एक बहिनीको जेठो दाजु वीरबहादुर । सानैदेखि ऊ परिवारको विभिन्न विभेदमा परिरहेको हुन्छ । बहिनी माइती आएको समयमा उनलाई छोड्न वीरबहादुर र उसको भाइ आधा बाटोसम्म जान्छन् । बहिनी पम्फाका गहनाको लोभमा परेको दाजु वीरबहादुरले उनलाई डुबाएर हत्या गर्छ । त्यही घटनामा असहमत भएको भाइ भने बाटोबाटै बिदेसिन्छ । वीरबहादुर बहिनीको गहना बोकेर घर फिर्छ । घरमा कलह बढ्दै गएपछि आमाबाबुले समेत गाउँ छोड्छन् । अन्तिममा एक्लो भएको वीरबहादुरले बहिनीलाई डुबाएर हत्या गरेको स्थानमै गएर डुबेर आत्महत्या गर्छ । 

जुम्लामा थिएटर : खस भाषामा पम्फाफूल

यही कथा समेटिएको खस भाषाको नाटक ‘पम्फाफूल’ जुम्ला सदरमुकाम खलंगामा मञ्चन भइरहेको छ । हीराबिजुली नेपालीको लेखन रहेको नाटक गोविन्द सुनारले निर्देशन गरेका हुन् । नाटकमा जुम्लाकै १३ कलाकारको अभिनय छ । नाटकमा धन पैसाको नाममा परिवारलाई दिइएको पीडाको चित्रण गरिएको लेखक नेपालीले बताए । आयोजक कला घर जुम्लाले निर्माण व्यवसायी संघको हललाई थिएटरमा रूपान्तरण गरी नाटक मञ्चन गरिरहेको हो । स्थानीय स्रोतसाधन प्रयोग गरी निर्माण गरिएको नाटकघरमा स्थानीय कलाकारको बेजोड प्रस्तुतिले दर्शक भावुक हुन्छन् ।

नाटकमा देखाइएको दर्दनाक दृश्यले अधिकांश दर्शकको भक्कानो छुटेको स्थानीय दुर्गा उपाध्याय बताउँछिन् । ‘मन थाम्नै सकिएन,’ उनले भनिन्, ‘कलाकारको अब्बल प्रस्तुतिले सबैलाई भावविह्वल बनायो ।’ तातोपानी–४ का जगत डाँगीले सुविधायुक्त थिएटरमा प्रदर्शन भएकोभन्दा अब्बल नाटक प्रस्तुत गरिएको प्रतिक्रिया दिए । मौलिकता झल्किने गरी निर्माण गरिएको नाटक घर र कलाकारको दमदार प्रस्तुतिले आफू दंगिएको उनी बताउँछन् ।


स्थानीय कलाकारकै अभिनय, निर्देशन कथा लेखन रहेको नाटकले जुम्लाले इतिहासलाई समेत उजागर गर्न खोजिएको लेखक नेपालीले बताए । ‘नाटकमा पैसाका लागि मान्छेले जस्तोसुकै अपराध गर्छ भन्ने मुख्य सन्देश छ, त्यसमा समाजका अन्य पक्षसमेत समायोजन गरेका छौं,’ उनले भने, ‘तर धनका लागि कसरी व्यक्तिको जीवन सकिन्छ भन्ने सन्देश पनि नाटकबाट दिन खोजिएको हो ।’ खस भाषाको संरक्षणका लागिसमेत नाटकले महत्त्वपूर्ण भूमिका खेलेको उनको दाबी छ ।


खस सभ्यताका जानकार रमानन्द आचार्यले नाटकले खस सभ्यता र कर्णालीको सामाजिक अवस्था चित्रण गरेको बताए । ‘स्थानीय कलाकारको मिहिनेतले नाटकलाई वास्तविक बनाएको छ,’ उनले भने, ‘खस भाषा संरक्षणका लागि यस्ता नाटक काठमाडौंका सुविधासम्पन्न थिएटरमा प्रदर्शन गर्न जरुरी छ ।’


निर्देशक सुनारले ‘जुम्लाको भाषा, साहित्य र संस्कृतिलाई जोगाउन’ आफूहरूले सक्दो प्रयास गरेको बताए । ‘त्यसैले खस भाषामै नाटक तयार गरेका हौं,’ उनले भने । नाटकले कर्णालीको खस भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन हुने अपेक्षा गरिएको कलाकार धनराज सुनारले बताए । ‘खलंगामा थिएटरको अभ्यास पहिलो हो,’ उनले भने, ‘सुइना कर्णालीका र कर्णाली दख्खिन बग्दो छ नाटकले कर्णालीको प्रचार गरेका थिए, यसले कर्णालीको नाट्य इतिहासलाई उचो बनाउने अपेक्षा छ ।’


प्रकाशित : कार्तिक ६, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?