२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सामाजिक विकृतिविरुद्ध नाट्ययात्रा

(जाजरकोट) र (दैलेख) — कुशे गाउँपालिका–८ की धनिका सिंहको मंगलबार मन चसक्क भयो । सदरमुकाम खलंगाबाट घर फर्कंदै गरेकी उनले भेरी नगरपालिका–४, गैरीखालीमा प्रदर्शन भइरहेको नाटक ‘कचहरी’ हेरिन् । त्यही नाटकले धनिकाको जीवनलाई सबक सिकायो । 

धनिका हाल २२ वर्षकी भइन् । १५ वर्षको उमेरमा विवाह गरेकी उनको ६ वर्षीय छोरा छन् । पतिले दोस्रो विवाह गर्दा घरेलु हिंसाको सिकार बनेकी धनिका विवाह भएको चार वर्ष नपुग्दै सम्बन्धविच्छेद गर्न बाध्य भइन् । नाटकले धनिकाजस्तै बालविवाह गरेर हिंसामा परेका यहाँका दर्जनौं महिलालाई सबक सिकाएको छ । बालविवाह न्यूनीकरण, घरेलु हिंसा र सामाजिक विकृति अन्त्यका लागि शिल्पी कला समूहले मंगलबार खलंगाको गैरीखालीमा कचहरी नाटक प्रदर्शन गरेको हो । समाजको विकास तथा समृद्धिका लागि बालविवाहलगायत कुसंस्कारलाई हटाउन र जनचेतना अभिवृद्धि गर्न नाटक प्रदर्शन गरेको निर्देशक घिमिरे युवराजले बताए ।


नाटककी पात्र कल्पनाले पति बिदेसिएपछिको हिंसा र उर्मिलाले बालविवाह गर्दा पाएका दु:खका विषयवस्तु समेटिएका थिए । कलाकार उर्मिलाले नाटकमार्फत् बालविवाहका कारण पढ्ने रहर हुँदाहुँदै पढ्न नपाएको, विवाहपछि पतिको सेवा गर्नुपर्ने, घरव्यवहार धान्नुपर्ने, उमेर नपुग्दै गर्भवती हुँदा दु:ख पाएकोलगायत समस्या नाटकमार्फत् देखाएकी थिइन् ।


‘रियल’ पात्र

सामाजिक विकृतिविरुद्ध प्रहरीको भूमिका प्रस्ट पार्न जिल्ला प्रहरी प्रमुख (डएिसपी) हरिबहादुर ओली आफैं नाटकमा अभिनय गर्दै गाउँगाउँ पुगेका छन् । शिल्पी कला समूह र प्रहरी आधुनिकीकरण तथा सुधार परियोजनाको सहकार्यमा गाउँगाउँमा सामाजिक विकृतिविरुद्ध नाटक प्रदर्शन भइरहेको हो । बालविवाह, घरेलुहिंसा, जुवातास, मदिरासेवन न्यूनीकरणका लागि नाटक प्रदर्शन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


डुंगेश्वर गाउँपालिका–१ चुप्रामा प्रदर्शन गरिएको नाटकमा वडाध्यक्ष लोकबहादुर डाँगी बालविवाह नगर्न अनुरोध गर्दै वडाध्यक्षकै भूमिकामा सहभागी भए । उनले अभिनयकै क्रममा वडा कार्यालयले बालविवाह न्यूनीकरणका लागि सुरु गरेका पहलबारे जानकारी दिए । शिल्पी नाट्य यात्राका क्रममा असोज २८ देखि कात्तिक २४ गतेसम्म मुलुकका विभिन्न स्थानमा नाटक प्रदर्शन हुने जनाइएको छ । नाटक निर्देशक घिमिरे युवराजले नाटकमार्फत् हिंसात्मक घटना अभिनयमा उतारिएको बताए । ‘समाजका घटना उही समाजलाई देखाउँदा प्रभाव बढी देखियो,’ उनले भने, ‘त्यसैले रियल पात्रलाई अभिनय गर्न लगाइएको हो ।’


सुर्खेत, जाजरकोट, रोल्पा, बर्दिया, कञ्चनपुर, सुनसरी, मोरङलगायत जिल्लामा नाटक देखाइने उनको भनाइ छ । कतिपय पीडितले हिंसा सहने र आत्महत्या रोज्ने गरेकाले प्रहरीमार्फत् नाटक घरदैलोमा देखाइएको उनले जनाए ।


प्रकाशित : कार्तिक ६, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?