२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

अनमोल, प्रदीप र विपिन भिड्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — गतवर्षदेखि सुरु सूर्य इन्टरनेसनल अवार्डको दोस्रो संस्करणका लागि मंगलबार विधागत उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । यसपटक पनि जापानकै टोकियोमा हुन लागेको उक्त अवार्डको राजधानीस्थित एपीएफको मुख्यालय हलचोकको हलमा सार्वजनिक गरिएको मनोनयनमा १२ विधाका उत्कृष्ट तीनको घोषणा गरिएको हो ।

उत्कृष्ट फिल्मको मनोनयनमा ‘प्रसाद’, ‘छक्का पन्जा ३’ र ‘ए मेरो हजुर ३’ परेका छन् भने उत्कृष्ट अभिनेतातर्फ ‘प्रसाद’ बाटै विपिन कार्की, ‘क्याप्टेन’ बाट अनमोल केसी र ‘लभ स्टेशन’ बाट प्रदीप खड्का पर्दा अभिनेत्रीतर्फ भने ‘प्रसाद’ बाटै नम्रता श्रेष्ठ, ‘कायरा’ की साम्राज्ञी राज्यलक्ष्मी शाह र ‘रामकहानी’ की पूजा शर्मा परेका छन् । फिल्मतर्फ ६ र गीत/संगीततर्फ ६ विधासँगै तीन क्रिटिक्स अवार्ड प्रदान गरिने आयोजक सूर्य कर्पोरेसनका प्रमुख वासुदेव लामिछानेले बताए । उक्त अवार्डमा गीत/संगीत र फिल्म क्षेत्रमा क्रियाशील नीर शाहलाई लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मान गरिने पनि मंगलबार घोषणा गरिएको छ ।


समारोहमा एपीएफ प्रमुख शैलेन्द्र खनाल, चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईसहित कलाकारहरूको उपस्थिति रहेको थियो । नोभेम्बर २४ मा टोकियोमा हुने उक्त अवार्डसँगै स्थानीय सरोकारवालासँग नेपाली फिल्मकर्मीको साथमा अन्तरक्रियासमेत गरिने सूर्य कर्पोरेसनका लामिछानेले जानकारी गराए । उक्त अवार्ड भ्रमण वर्ष २०२० लाई समेत लक्षित गरी कार्यक्रम गर्न लागिएको अवार्डको नेपाल संयोजन गरिरहेका नरेश भट्टराईले बताए ।


प्रकाशित : कार्तिक ६, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?