बलिउडमा बायोपिकको बाढी

कान्तिपुर संवाददाता

काठमाडौँ — प्राय: फिल्मले दर्शकलाई काल्पनिक संसारमा लगेर यसका चरित्र र घटनासँग साक्षात्कार गराउँछन् । त्यसैले पनि फिल्मलाई सृजनात्मक माध्यम मानिन्छ । तर कहिलेकाहीं फिल्मले वास्तविक घटना वा चरित्रका कथा पनि भन्ने गर्छ । जसलाई बायोपिक भन्ने गरिन्छ । बलिउडमा यतिबेला बायोपिकमार्फत् खेलाडी, कलाकार, नेता वा कुनै सहासिक, अप्रत्याशित घटनाबारेमा कथा भन्ने चलन बढेर गएको छ । सन् २०१९ सकिँदासम्म बलिउडमा एक दर्जन बायोपिक रिलिज हुने भएका छन् ।

सन् २०११ को अन्त्यतिर सिल्क स्मिथाको जीवनीमा आधारित फिल्म द डर्टी पिक्चर हिट भएपछि बायोपिकको पछिल्लो लहर बढेको मानिन्छ । विद्या वालन स्टारर डर्टी पिक्चरले बक्सअफिसमा पैसा मात्रै कमाएन, तीनवटा नेसनल अवार्डसमेत जितेको थियो । त्यसपछि २०१२ मा आएको अर्को बायोपिक पानसिंह तोमरले पनि त्यस्तै सफलता चाख्यो । २०१६ मा आउँदासम्म दंगल, एम एस धोनी : द अनटोल्ड स्टोरी, सर्वजित, निरजा गरी आधा दर्जनभन्दा बढी बायोपिकले नाम र दाम कमाए । गतवर्ष पनि बायोपिकको दबदबालाई कायम राख्दै प्याडम्यान, सञ्जु, गोल्डजस्ता फिल्म आए ।

यस वर्ष बायोपिकको लहर बलिउडमा झन् बढेर गएको छ । तर नतिजा भने मिश्रित देखिएको छ । वर्षको सुरुवात नै भारतीय पूर्वप्रम मनमोहन सिंहमाथि बनेको बायोपिक द एक्सिडेन्टल प्राइमिनिस्टर र गुन्डा नाइके बाल ठाकरेमाथि आधारित फिल्म ठाकरे दुवैले आशातीत सफलता पाउन सकेनन् । त्यसैगरी पीएम नरेन्द्र मोदी र द स्काई इज पिंक पनि फ्लप बायोपिकको सूचीमा परे । धन्न, मणिकर्णिका : द क्विन अफ झाँसी, सुपर ३०, गल्ली ब्वाई, मिसन मंगल, बाटला हाउस, उरी : द सर्जिकल स्ट्राइक, केशरीले बायोपिकको इज्जतलाई धाने । साँडकी आँख, पानीपत अझै रिलिज क्रममा छन् ।

द डर्टी पिक्चरका निर्देशक मिलन लुथरिया अहिलेका दर्शकले फिल्ममा पनि वास्तविकता हेर्न चाहेको बताउँछन् । भन्छन्, ‘दर्शकहरू त्यस्ता वास्तविक घटना वा चरित्रलाई हेरेर आफैं महसुस गर्न थालेका छन् ।’ तर फिल्म समीक्षक अजय ब्रहात्मज अहिले खासगरी खेल र व्यक्तिमाथि बनिरहेका बायोपिकप्रति खासै खुसी छैनन् । उनी भन्छन्, ‘खास अर्थमा बायोपिक बनेकै छैनन् । भीडले जे खोज्छ, त्यसैको पछि लागेर बायोपिकको नाममा मसला फिल्म बनाइरहेका छन् ।’

पुराना पत्रकार जयप्रकाश चौकसी पनि बायोपिक बनाउँदा वास्तविक कथासँग थोरै सम्झौता गरेर मसला हाल्नुपर्ने बाध्यता रहने बताउँछन् । उनले राजकुमार हिरानीले पनि सञ्जय दत्तको जीवनी भन्दै बनाएको सञ्जु सही अर्थमा बायोपिक नभई परीकथा भएको टिप्पणी गरे । चौकसीले यसरी फिल्म बनाएर बायोपिकमाथि अन्याय गरेको जिकिर गरे ।

प्रकाशित : कार्तिक ३, २०७६ ०९:२०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ट्रेलरमा ‘लभ यु हमेशा’

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘लभ यु हमेशा’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । कात्तिक २२ देखि नेपालभर र त्यसको एक साताअघि नै भारतमा प्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई भाष्कर प्रधानले निर्देशन गरेका हुन् । 

फिल्ममा अभिनेता यशराज गराच, अभिनेत्री फिजा योञ्जन, ऋचा थापा तथा हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’ लगायतको अभिनय रहेको छ । निर्देशक प्रधानकै लेखन रहेको फिल्मलाई यवन गुरुङले निर्माण गरेका हुन् । रिलिजको संघारमा आक्रामक प्रचारप्रसारमा रहेको फिल्मले यतिबेला फेसबुक प्रोफाइलमा ‘लभ यु हमेशा’ को फ्रेम राख्नेमध्ये हरेक साता एकजना दर्शकलाई २५ सय रुपैयाँ उपहार प्रदान गर्ने घोषणा गरेको छ ।

प्रकाशित : कार्तिक ३, २०७६ ०९:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्