कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

कलाकारसँग दर्शकको सेल्फी

दीपक परियार

(पोखरा) — ओठमा हाँसो, आँखामा चमक, अनुहारमा सन्तुष्टि भाव बोकेर ‘छ माया छपक्कै’ टिम यतिखेर देश दौडाहामा छ । अघिल्ला फिल्म प्रदर्शन हुनुपूर्व प्रचारप्रसारमा मोफसल दौडने चलन यसपल्ट यो टिमले अपनाएन । बरु फिल्म हिट भएपछि दर्शकलाई धन्यवाद दिँदै हल चहार्‍यो । 

कलाकारसँग दर्शकको सेल्फी

पोखराको मिड टाउन सिनेमामा शनिबार ‘छ माया छपक्कै’ टिमलाई भ्याइनभ्याइ भयो । फिल्म सकिएर हलको बत्ती बल्नेबित्तिकै दीपकराज गिरी, दीपाश्री निरौला र केकी अधिकारी पर्दाको सामुन्ने झुल्किए । भर्खर पर्दामा हेरेका कलाकार आफ्नै अघि पाउँदा दर्शक खुसीले चिच्याए । ‘हाउसफुल’ हलभित्र कलाकारसँग दर्शकको सेल्फी सुरु भइहाल्यो । धेरै दर्शक दीपकसँग झुम्मिए । दर्शकले आफनो मोबाइलतिर फर्किएर मुस्कुराउन कलाकारलाई आग्रह गरे । दर्शकले जसोजसो भने कलाकारले त्यसैत्यसै गरे ।


फिल्म युनिटले चलचित्र सफल भएको जस ‘टिम वर्क’ लाई दिन्छ । दीपक–दीपा र केकीको एकै स्वर छ– टिम बलियो भएर फिल्म चल्यो । ‘हाम्रोमा डाइरेक्टर पूर्ण स्वतन्त्र हुँदैनन,’ दीपकले भने, ‘सबै कुरा टिमकै सल्लाहमा हुन्छ ।’ टिमकै निर्णयले यसपल्ट आफू निर्देशनमा नउत्रिएको दीपाश्रीले बताइन् । उनले थपिन्, ‘टिमको कुरा नमाने डाइरेक्टर, डाइरेक्टर हुँदैन ।’ उनले ‘छ एकान छ’ मा दिनेश डीसीलाई पनि दायाँबायाँ गर्न नदिएको उनले सुनाइन् । दीपाकै तर्कमा समर्थन जनाए दीपकले । आफ्नो टिमले फिल्ममा निर्देशक हाबी हुन नदिने उनको संकेत थियो । भने, ‘हामी निर्देशक खोज्छौं, हिटलर होइन ।’


आफू ‘स्क्रिप्ट’ र ‘कन्सेप्ट’ को भोको भएको उनी बताउँछन् । ‘छ माया छपक्कै’ दीपक–दीपा ब्रान्डले भन्दा पनि ‘कन्टेन्ट’ ले चलेको उनी ठान्छन् । ‘नेपालको फिल्म प्राविधिक र प्रस्तुतिका हिसाबले लाज नलाग्ने बनाउन जरुरी छ,’ उनले भने, ‘कन्टेन्ट राम्रो भए दर्शकले आफैं फिल्मको प्रचार गर्छन् ।’ टेलिसिरियलबाट फिल्ममा आउँदा नेपाली सिनेमाको स्थिति कमजोर भएको उनी सम्झन्छन् । हास्य कलाकारलाई एक ठाउँमा ल्याएर फिल्म बनाउँदा दर्शकले रुचाएको उनको तर्क छ । आफ्नो टिमले कमेडी फिल्म र कलाकारलाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याएको उनी बताउँछन् । ‘पहिले कमेडी कलाकारलाई हाफपाइन्ट लगाएर हिरोको पछिपछि दौडाइन्थ्यो,’ उनले भने, ‘अहिले हामी हिरो भएका छौं ।’


‘मन्त्री बिगार्ने कर्मचारी हुन्’

पानी, प्रेम र राजनीतिलाई विषयवस्तु बनाइएको फिल्ममा मुख्य पात्र बीपी (दीपकराज) समाजमै भेटिने पात्रजस्तै लाग्छन् । झोला बोकेर हिँड्ने, खल्तीमा सुक्को नहुने, गम्भीर भइरहने राजनीतिक पार्टीको कार्यकर्ता उनी समाजमा जताततै देख्छन् । आफू स्वयं कुनै बेला त्यहीं पात्रजस्तै भएको उनी सम्झन्छन् । फिल्ममा राजनीतिक दल र नेतालाई मात्रै घोचपेच गरिएको छैन, कर्मचारीतन्त्रलाई पनि उत्तिकै दोषी देखाइएको छ । ‘मुलुक बिगार्नमा राजनीतिभन्दा एक कदमअघि ब्युरोक्रेसी छ,’ दीपक भन्छन्, ‘मन्त्रीलाई बिगार्न पनि उनीहरूकै हात छ ।’ फिल्म तन्काउने ठाउँ नभएकोले कर्मचारीतन्त्रका अवगुण अझै धेरै देखाउन नपाएकोमा उनलाई थकथकी छ ।

प्रकाशित : कार्तिक ३, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?